काठमाडौं । नेपाल भारतको कोलकातामा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा बिहीबार भुटानलाई ६–० को फराकिलो अन्तरले हराएर फाइनल नजिक पुगेको हो । नेपालले लगातार तेस्रो खेलमा जित निकालेर फाइनलको यात्रा नजिक ल्याएको हो ।
कल्याणी रंगशालामा नेपालको जितमा कप्तान प्रदीप लम्सालले २, निराजन खत्री, अशिम राई, क्रिस सापकोटा र सुगम जिम्मीले समान १ गोल गरे । प्रदीपको पेनाल्टी गोलबाट नेपालले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो ।
निराजनले १४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले २–० को अग्रता लियो । ४८ औं मिनेटमा कप्तान प्रदीपले अर्को गोल गरे । अशिमले ७५ औं र क्रिसले ७५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए । सुगमले इन्जुरी समयको गोल गरेपनि नेपाललले ६–० ले खेल जितेको थियो ।
राउन्ड रोविनको अन्तिम खेल भारत र बंगलादेशबीच हुनेछ । त्यो खेलमा कम्तीमा ४ गोलको अन्तरमा विजयी भएको खण्डमा बंगलादेश फाइनल पुग्नेछ । त्यो भन्दा कम अन्तरको जित, बराबरी वा बंगलादेशको हारमा नेपाल फाइनल पुग्नेछ । भारत भने तीन खेल जितेर यसअघि नै फाइनल पुगिसकेको छ ।
पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै अन्तिम दुईको नजिक पुगेको हो । दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बंगलादेशलाई ४–१ ले पराजित गरको थियो ।
यू १५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिले सम्म उपाधि जित्न सकेको छैन । सन् २०१३ र २०१७ मा फाइनल पुग्नु नेपालको अहिले सम्मको सफल नतिजा हो । भारत र बंगलादेशले अहिले सम्म समान दुई पटक उपाधि जितेका छन् ।
प्रतिक्रिया