देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंहदरवारको पुतली बगैँचमा संघीय संसद् भवन निर्माण हुने

देशान्तर

काठमाडौं । संघीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगँचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो । हालसम्म १७ कम्पनीले आवेदन दिइसकेका छन् । तीमध्येबाट कम्पनी छनोट गरेर काम अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो योजना अघि बढाउन मन्त्रालयले ताकेता गरिरहेको छ ।

सार्वजनिक खरीद ऐनअनुसार नै ठूलो रकमको ठेक्का सम्झौता गर्दा बढी समय लाग्ने छ । प्रचलित ऐनअनुसार काम अघि बढाउँदै गर्दा ढिलाइ देखिएको हो मन्त्रालयको दावी छ । हाल सो स्थानमा नेपाली सेना बस्दै आएको छ ।

सेनाको आफ्नै भवन बन्दै गरेकाले हालका लागि अस्थायी संरचनामा सर्ने गरी सहमति भएको हो । सेनाका कारण ढिलाइ नहुने र निर्माण हुने भवनहरु परम्परागत शैलीमा हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

सो भवनलाई अन्तरराष्ट्रियस्तरमा समेत नेपालको इञ्जिनीयरिङ र आर्किटेक्चरल उपलब्धिका रुपमा परिचित गराउने लक्ष्य लिइएको छ । संघीय संसद् भवन परिसर निर्माण आयोजनाको कूल लागत ७ अर्ब रहनेछ । १७३ रोपनी क्षेत्रफलमा फैलने परिसरको निर्माण आव २०७८देखि०७९ सम्ममा सम्पन्न हुने विभागले जनाएको छ ।

४५ प्रतिशत क्षेत्रफलमा खुल्ला हरियाली चौर र २८ प्रतिशत क्षेत्रफलमा सडक पूर्वाधार र पानीका संरचना रहने छ । हरियाली चौर, पानीको फोहरा, सार्वजनिक खुल्ला चौरलगायतलाई प्रत्येक भवनको वरिपरि निर्माण गरिने छ । नयाँ बन्ने संसद् भवनमा अत्याधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्रै प्रवेश गर्न सकिने छ ।

यस परिसरको गुरुयोजनामा सुरक्षालाई विशेष ध्यान दिइएको छ । परीसरको मूल ढोका दक्षिणतर्फ रहनेछ भने सांसदको प्रवेशका लागि उत्तरतर्फ नयाँ द्वार रहने छ । दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि ढोका रहने गरी डिजाइन तयार गरिएको छ ।

संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने विभागले जनाएको छ । ती बाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने छ । भवनमा आवश्यकताअनुसार भूमिगत वा अर्धभूमिगत कक्ष पनि निर्माण हुनसक्ने छन् । भवनहरु भूकम्प, आगलागी लगायतका विशेष अवस्थालाई ध्यानमा राखी निर्माण गरिने भएको छ ।

मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रियसभाको बैठक बस्ने हल बन्ने छ । प्रतिनिधिसभा भवनमा ४०० अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहने छन् ।

राष्ट्रियसभा भवनमा झण्डै १०० जना अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभा अध्यक्षको कक्ष रहनेछ । साथै सो भवनमा २०० अट्ने बाल्कोनी र ३०० जना अट्ने अर्को हल रहने छ । राष्ट्रियसभा भवनको उत्तरतर्फ अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन निर्माणका लागि नमुना तयार गरिएको छ । सो भवनमा प्रधानमन्त्रीसहित राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष लगायतको कार्यकक्ष रहने छ ।

प्रतिनिधिसभा भवनको उत्तरतर्फ पुस्तक अध्ययन कक्ष, पुस्तकालय, संग्राहालय, प्रशासनिक कक्षसहितको चारतले पुस्तकालयको भवन निर्माण हुने छ । मुख्य संसद् भवनको उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन र त्यसको दायाँतर्फ सानो छापाखाना रहने छ । मुख्य भवनको उत्तरतर्फ पाँचतले पार्टी कार्यालय भवन हुनेछ । सो भवनमा बैठक कक्ष, शिशु स्याहार कक्ष लगायतका लागि छुट्टाछुट्टै कक्ष रहने गरि तयार गरिने भएको छ ।