प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दुई दिने प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ।
नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुका लागि गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा सुरु भएको हो।
प्रशिक्षणको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नुभयो । देशभरीमै प्रशिक्षण सञ्चालन गर्ने कांग्रेसको योजना छ। पहिलो कार्यक्रम नै गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिनुभयो।
उद्घाटनपछि बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकमा संकट उत्पन्न भएको बताउनुभयो । लोकतन्त्र बिना समाजवाद खोज्ने सपना नदेख्न प्रधानमन्त्री ओलीले उहाको सुझाव छ। प्रधानमन्त्री ओलीले मानवअधिकार आयोग, प्रेसमाथि नियन्त्रण गर्न खोजिरहेको देउवाको आरोप छ। स्वतन्त्र अंगहरुलाई विधेयकमार्फत नियन्त्रण गर्न खोजिरहेकाले त्यसको विरुद्धमा कांग्रेस उत्रिने उहाको भनाइ छ । आगामी मंसिर १४ गते कास्की–२ मा हुने उपनिर्वाचनमा उम्मेद्वार एउटै हुने हुँदा सबै मिलेर सघाउन आग्रह गर्नुभयो।
पार्टीप्रति विश्वास बढाउन आफूभित्र रहेका कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिनुभयो।
प्रतिक्रिया