देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली दाहिना भएपछि रातारात अर्बपति

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यस्ता पात्र हुन् जसलाई आफ्ना चाकरीबाज र समर्थक असाध्यै प्रिय छन् । पार्टीभित्र आफ्नो गुटका सदस्य र समर्थकहरूलाई सात खुन माफ दिने गरेको र आफ्ना आलोचकहरूलाई भने उठ्नै नसक्ने गरी पेल्ने गरेको भन्दै ओलीको आलोचना हुने गरेको छ । प्रधानमन्त्रीकै कुर्सीमा बसेर पनि अपराधी नै किन नहुन, आफ्ना समर्थकको संरक्षण र बचाउ गर्न पछि पर्दैनन्, ओली । ओलीका प्रिय एकजना उद्योगीले यतिबेला दिन दुईगुना रात चौगुना आर्थिक प्रगतिको गरेको देखेर पनि यो कुरालाई पुष्टि गर्न सकिन्छ ।

ओलीका प्रिय एकजना उद्योगीले यतिबेला दिन दुईगुना रात चौगुना आर्थिक प्रगतिको गरेको देखेर उनलाई चिन्नेहरू आश्चर्यचकित परेका छन् । १० वर्षअघिसम्म कयाल ग्रुप अफ इन्डस्ट्रिजका मालिक सत्यनारायण कयाल उद्योग नचलेर हायल कायल थिए । तर जब ओलीको सानिध्य पाए उद्योग नचलेपनि उनी मालामाल भए । कयालसँग यतिबेला देखाउने उद्योगहरु अनेकौ छन् तर कमाउने उद्योग भने एक मात्र छ, त्यो हो गोर्खा फिड इन्डस्ट्रिज प्रा.लि.।

कयाल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत कयालले गोर्खा फिड इन्डस्ट्रिज प्रालि, नारायणी रोलिङ मिल्स, नारायणी स्पार्क प्रालि, श्रीकृष्ण स्टिल, नारायणी स्ट्रिप, एनआरएन स्टिल एन्ड जी वायर, स्टार सिमेन्ट, एईसी ब्लक इन्डस्ट्रिज प्रालि आदि रहेका छन् । उनले स्टिलका उत्पादनहरू गुणस्तरहीन भएका कारण बजार पाउन सकेको छैन भने स्टार सिमेन्टको गुणस्तर अत्यन्तै निम्त नरहेको गुणस्तर विभागले प्रमाणित गरिसकेको छ ।

त्यति हुँदाहुँदै पनि एक दशकमै अर्बपति बन्न पुगेका कयालको सफलता रहस्यमय देखिन्छ । वीरगन्जलाई व्यावसायिक आधारभूमि बनाएका कयालले पशुपंक्षीको दाना उत्पादन गर्ने गोर्खा फिडका निम्ति तेस्रो मुलुकबाट कच्चा पदार्थको रूपमा ठूलो परिणाममा भिटामिनहरू आयात गर्दै आएका छन् । नेपाल सरकारले कृषि उद्योगको निम्ति चाहिने कच्चा पदार्थ आयातमा भारी अनुदान दिँदै आएको छ । सोही सुविधाको दुरुपयोग गर्दै भारी परिणाममा आयात गरिएका भिटामिनहरूको ठूलै परिणाम कयालले खुला सिमानाको फाइदा उठाई अवैध रूपमा भारत पठाउने गरेको स्रोतले बतायो । भारतमा दाना उत्पादनको निम्ति चाहिने कच्चा पदार्थ (भिटामिनहरू) आयातमा उच्चदरमा कर लगाइने गरिन्छ । सरकारी अनुदानका कारण नेपालमा तुलनात्मक रूपमा आयात गर्न निकै सस्तो पर्छ । यही अवस्थाको फाइदा कयालले उठाइरहेको स्रोतले बतायो ।

कयालले आयात गरेका पशु दानाका लागि चाहिने भिटामिनहरूको ५० प्रतिशतभन्दा बढी परिणाम भरियामार्फत भारत पुर्याउँदै आएका छन् । त्यसरी उनले भारतीय दाता उत्पादन कम्पनीहरूबाट वार्षिक रूपमा अरोडौं रुपैयाँ कमाइ गरिरहेको स्रोतले बतायो ।

उनको यो कालो धन्दाबारे वीरगन्ज भन्सारका अधिकारीहरू पनि बेखबर भने छैन । ‘तर सीधै बालुवाटारमा पहुँच भएका कयाललाई दुःख दिएर आफ्नै खुट्टामा बञ्चरो हान्न भन्सारका हाकिमसाबहरू किन तयार हुन्थे र’, वीरगन्ज भन्सारकै एक कर्मचारीले देशान्तरसँग भने । प्रधानमन्त्रीसँगको उठबस प्रदर्शन गरेर उनले सीमाका प्रहरी प्रशासनलाई पनि आफ्नो सेटिङभित्र राखेको स्रोतले बतायो ।