देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले सल्लाह नमान्दा चिकित्सक हैरान, स्वास्थ्य परीक्षणको लागि आज सिंगापुर जाँदै

देशान्तर

नियमित औषाधि सेवनसँगै अनिदो बस्न नहुने, न्युनतम सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले दिएको सुझाव वेवास्ता गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी देखिएपछि उनी शनिबार साँझ स्वास्थ्य परीक्षणको लागि सिंगापुर प्रस्थान गर्दै छन्।

एकसाता अघिमात्र त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहोन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कोठा खाली नभएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराएका प्रधानमन्त्री ओली थप स्वास्थ्य जाँच गर्न सिंगापुर जाने भएका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको निगरानी गरिरहेका मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले ओलीको सुगरको मात्रा तलमाथि हुने गरेको बताए पनि १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा थप जटिलता देखा परेकोले उनी सिंगापुरतर्फ जान लागेको बुझिएको छ।

यसअघि बैंककमा भएको स्वास्थ्य परीक्षणमा उनको मिर्गौलाको अवस्था सामान्य रहेको बताइए पनि दाहिने हात सुन्निएपछि छालाको बायोस्पी गरिएको र त्यसमा देखा परेका समस्याहरुको उपचार गरिएको थियो।

कडा औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलाको ‘बलुन डाइलेसन’ पछि उपचार भएको पनि जानकारी चिकित्सकले बताएका छन्।

उनी निकट एक चिकित्सकले भने,’ प्रधानमन्त्री ओली सुन्नु हुन्न जति समय चिकित्सकले उहाँका लागि तोेकेका छन्। आराम पनि गर्नु हुन्न । बोलिरहने उहाँको कामले झनै स्वास्थ्यमा असर गरेको पाइन्छ।

उनले प्रधानमन्त्री ओलीले सेवन गरिरहेका कतिपय औषधिले थकान कम गर्ने, शक्ति दिने र वान्ता हुनबाट बचाउने गरेको दाबी गरेका छन्।