डा. ध्रुवचन्द्र गौतम
साउन ६ गते बीपी स्मृति–दिवस मनाइन्छ । टीभी, रेडियो, प्रिन्ट सब ठाउँमा बीपीको समाचार प्रकाशित गरिन्छ । ‘बीपी ट्रस्ट’ छ हाम्रो । त्यसले पनि यो दिवस हर साल राम्ररी मनाउँछ । पोहोर साल चितवनमा मनाएको थियो । म पनि गएको थिएँ । बीपीबारे धेरै गहकिला विचारहरू जान्न पाएको थिएँ । मैले एउटा लेख पनि ‘कान्तिपुर’ मा लेखेको थिएँ । यस पटक ‘ट्रस्ट’का कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले भने, हेटौंडामा मनाउनु पर्ला । प्रायः ‘ट्रस्ट’ले स्थानीय सहयोगमा बाहिर पनि यस्ता कार्यक्रम गर्ने गरेको छ । म उत्साही थिएँ । तर केही अपरिहार्यताका कारण जान सकिनँ । पुरुषोत्तम बस्नेत पनि जाने कुरा थियो । मैले अस्ति, अब त आइसके होलान् भनेर फोन गरेको थिएँ, थाहा पाएँ, उनी पनि जान पाएनछन् । तैपनि हाम्रो कार्यक्रम हेटौंडामा राम्रोसँग, सफलतापूर्वक सम्पन्न भएछ, सुनेर राम्रो लाग्यो । अब भदौमा बीपी जन्मजयन्ती भव्य रूपमा मनाइन्छ, हाम्रो ट्रस्टबाट । त्यस दिन बीपीको नाउँका विभिन्न पुरस्कारहरू विभिन्न क्षेत्रका प्रतिभाहरूलाई प्रदान गरिन्छ । अहिले तिनको घोषणा हुन त बाँकी छ, तर निकट भविष्यमै होला भन्ने आशा छ ।
…………
एउटा अर्को संस्था छ, जसले बीपीको स्मृतिलाई राम्रो र सुरक्षित राखेर, यी दिवसहरू भव्यताले मनाउँदछ । बीपी संग्रहाहय, सुन्दरीजल । म सुन्दरीजल संग्रहालय दुई पटक जति गएको छु । दुवै पटक पुरुषोत्तम बस्नेतका साथ । त्यहाँ जाँदा मलाई एउटा भावुकताले पनि छुन्छ । बीपीको कोठा, ओछ्यान, उनले बन्दी जीवन विताउँदाका स्थलहरू । एउटा रूख छ, जसमुनि बसेर उनी लेख्ने पनि गर्थे । कुराकानी पनि गर्थे र उनीसँगै बन्दी भएका अन्य नेताहरूसँग छलफल पनि गर्दथे । ‘जेल जर्नल’ पुस्तकमा यसको बयान बीपीले गरेका छन् । संग्रहालय घुम्दा उनको ‘जेल जर्नल’ जीवन्त भएर आउँछ । भावुकता त्यसैमा आउँछ । त्यति ठूलो लेखक जस्ले तीन दिनमा एउटा उपन्यास लेख्दछ, यहाँ बन्द थियो । यहाँ बन्द भएर उसले नेपाली आख्यान विधालाई एउटा उचाइमा पु¥याएको थियो । केही जनाको विचार छ, बन्दी नभएको भए बीपीले ‘तीन घुम्ती’हरू लेख्न भ्याउँदैनथिए । त्यो उनै जानुन । तर उनले त्यसअगि नै नेपाली कथा लेखेर एउटा क्रान्ति ल्याइसकेका थिए । त्यसबखत पनि उनी बन्दी नै थिए र ? यो प्रश्न म अब भेट हुँदा पुरुषोत्तम बस्नेतसँग सोध्छु होला । बीपी सम्बन्धी मेरा निजी प्रश्नहरू मैले उनैसँग सोध्ने गरेको छु ।
…………..
संवत २०३८ सालमा होला ‘राजधानी’ पत्रिकाले एउटा बीपी विशेषांक प्रकाशित गरेको थियो । त्यसमा मलाई पनि लेख्ने अनुरोध गरेको थियो । मैले एउटा लेख लेखेर पठाएको थिएँ । त्यसैमा बीपीसम्बन्धी मेरो पहिलो लेख छापिएको थियो । त्यसको विस्तारमा अहिले म जान्न । तर त्यो लेख जति सहज लेख बीपीसम्बन्धी मेरो अरू थियो जस्तो लाग्दैन । बीपीसँगको पहिलो साक्षात्कार । साक्षात्कार त थियो त्यो तर कुराकानी होइन चिनजान होइन । उही मैले चिन्ने, बीपीले को रहेछ यो भन्ने मात्र सोध्ने बेला थियो । म यति सानो थिएँ र बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री, उनैको सम्मानमा, त्यस बखतको एकमात्र स्तरीय रोयल होटलमा आयोजना गरिएको पार्टी । त्यहाँ म जानै नमिल्ने, जानै नहुने थियो, एक प्रकारको दुस्साहर थियो । म यति हास्यास्पद थिएँ र मेरा क्रियाकलाप यति ‘कमिकल’ रहे कि, त्यसमाथि एउटा कमेडी फिल्म बन्न सक्छ । त्यसैबारेको त्यो लेख थियो । जे भए पनि बीपी लाई साक्षात् देखेको अनुभव थियो । जे भए पनि बीपीलाई साक्षात देखेको अनुभव थियो त्यसमा । त्यो पत्रिका म अहिले खोजिरहेको छु । त्यो लेख पाए म आफ्नो संकलनमा राख्ने थिएँ । डा. तुलसी भट्टराईबाट आश्वासन त पाएको छु । उनले दिए भने, उनलाई धन्यवाद दिँदै, आफ्नो आगामी संकलनमा राख्ने विचार छ । मेरा लागि त त्यो महत्वपूर्ण छ नि त ?
…………
बीपीबारे मैले अरू लेख पनि लेखेको छु । पछि त उनीसित भेटेको पनि छु । पुरुषोत्तम बस्नेतले कति पटक सहयोग गरेका छन् । बनारस प्रवासका बेलामा एकदिन त लगभग लन्चसमेत गर्नेगरी दिनभरि बिताएको छु । पछि, २०३५ सालमा नेपाल फर्केका बीपीलाई चावहिलमा पुरुषोत्तम बस्नेतले डा. रमेश चापागाईं र मलाई लिएर गएर भेटाएका थिए । गुप्तचरहरू छ्यापछ्याप्ती थिए, हाउभाउले थाहा हुन्थ्यो । अझ पछि पनि भेटेको छु । यिनै विभिन्न भेटहरू र कुराकानी नै बीपीलाई स्मरण गर्ने आधार भएका छन् । परशुरामजीको आमन्त्रणमा कुनै बखत पुरुषोत्तम बस्नेत, बलदेव मजगैयाँसित म पनि सुन्दरीजल गएको थिएँ । त्यसबखत पनि यी सब पुराना कुराहरू सम्झिरहेको थिएँ । संग्रहालयमा बीपीको ‘अडियो भिजुअल’ जति उपलब्ध छ, तिनलाई प्रदर्शन बेलाबखत वा कमसेकम यस्ता अवसरहरूमा गरे पनि राम्रो हुन्थ्यो । त्यस्तै एउटा बृहत्, बीपी पुस्तकालय पनि त्यहाँ हुनु उपयुक्त हुन्छ । त्यस बखत हामी त्यहाँ जाँदा २०३० को अपहृत हवाईजहाज त्यहा थिएन, अब भएछ । अब कुनै बखत जाँदा, त्यो पनि हेर्छु भन्ने धारणा बनाएको छु ।
प्रतिक्रिया