देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कति राम्रो दमाइको छोरो

देशान्तर

यमबहादुर दुरा
वनपाखामा चरो लखेट्दै हिँड्ने एउटा चुलबुले केटो । लोकगीत भनेपछि सानैदेखि कान ठाडो पार्नेे । आमाको फरिया समातेर हिँड्दैदेखि लोकगीत भनेपछि हुरुक्कै हुने । कहिले चिलाउनेको पात (पिपिरी) बजाउने, कहिले वनपाखामा नै घन्कने गरी मनको बह पोख्ने । यस्तै थियो, उनको शैशवकालीन दिनचर्या ।

त्यो चुलबुले केटोले अरूभन्दा बेग्लै छाँटकाँट देखाउँछन् । उनी किशोरवयमा प्रवेश गर्नुअघि नै रोदीघर, सत्यनारायण पूजाजस्ता स्थानीय सामाजिक जमघटमा मुखको सरस्वती पोख्न तम्सन्छन् । रत्यौलीमा केटीको भेषमा केटीकै स्वर निकालेर गीत गाउँछन् । छरछिमेक र अग्रजले उनको स्वरमा जादु भेट्छन् ।

समयले काँचुली फेर्दै जान्छ । स्थानीय जमघटमा गीत गाउन अग्रसर रहने त्यही चुलबुले केटो आफ्नो स्वरले दुनियाँलाई मोहनी लगाउन सफल हुन्छन् । उनको ख्याति विस्तारै फक्रिँदै जान्छ । अन्त्यमा उनी ख्यातिप्राप्त दोहोरी गायकका रूपमा दरिन पुग्छन् । यही हो, अहिले गुलावी रौनक बटुलिरहेका चर्चित दोहोरी गायक राजु परियारको अभ्युदयसँग गाँसिएको छोटो किस्सा ।

‘लालुपाते नुङ्यो भुईंतिर…’, ‘गर्नु गर्यौ बलराम भैंसी पालेर…’, ‘मिर्मिरेको घाम…’, ‘मौरी फूललमाथि…’, ‘फूलमा भमरा…’, ‘झिमझिम सानु नझिम्कयाऊ परेली…’, ‘धोका दिनेलाई के भनौं र खै…’, ‘लमजुङ जाने दाइ…’ जस्ता गीतमा गुञ्जिएको जादुमय स्वरले उनको प्रसिद्धि चुलियो । उनका ‘फ्यान’ हरू एकपछि अर्को गरी ज्यामितीय दरमा बढ्न थाले ।

कुनै समय यस्तो पनि थियो, उनको फोटो नटाँसिएको दोहोरीगीतको कुनै एल्बम हुँदैनथ्यो, उनको नाम प्रचार नगरिएको महोत्सव नै हुँदैनथ्यो, सहरमा गुड्ने छोटो दूरीमा माइक्रोबसदेखि राजमार्गमा हुइिक्किने बसमा उनका गीत नघन्किएको कुनै क्षण नै हुँदैनथ्यो ।

लोकप्रियता शिखर आरोहण गर्दा उनी दन्त्यकथाका पात्रजस्तै भएका थिए । उनबारे अपत्यारिला कुरा सुनिन्थ्यो । उनले एकै दिनमा १३ वटासम्म गीते रेकर्ड गराएका र गीतै गाएर एक दिनमै डेढ लाखसम्म कमाएको चर्चा चल्थ्यो । उनको ख्याति देखेर कतिपयले उनलाई चर्चित क्यानाडेली गायक जस्टिन बिबरसँग तुलना गर्न थालिसकेका थिए ।

हुन पनि उनले छोटो समयमै असीमित ख्याति कमाएका थिए । प्रबल जनसेवा श्री चौंथो विभूषण, डा. नातिकाजी युवा प्रतिभा पुरस्कार, डा. अम्बेडकर पुरस्कार (भारत) जस्ता सयौं सम्मान र विभूषण हात पारिसकेका थिए । अस्ट्रेलिया, एसिया र युरोपका धेरैजसो मुलुकमा पुगेर आफ्नो प्रतिभा पस्किसकेका थिए । लोकगीतका अनुरागीहरूबाट वाहवाही लुटिरहेका थिए । सर्वसाधारणदेखि शक्तिशाली व्यक्तिसम्मका मन जितिरहेका थिए ।

लोकगीतको महफिलमा यतिविधि सुनाम कमाएका राजु परियारको जीवनमा समयले ‘सकुनी खेल’ खेलिदियो । उनी दुनियाँलाई रनभुल्ल पार्दै एकएक अन्तरध्यान भए । २०६८ देखि २०७२ सालसम्मको अवधिमा सार्वजनिक जमघटहरूमा देखा परेनन् । उनी कहाँ बस्छन्, के गर्छन्, कसैलाई पत्तो हुँदैनथ्यो । उनको मोबाइल हरदम स्विच अफ हुन्थ्यो ।

उनको अनुपस्थितिले पैदा भएको खाली ठाउँ हल्लाले भरिन्थ्यो । भए—नभएका कुराले उनका शुभचिन्तक र ‘फ्यान’ का कान भरिन्थे : राजुले गीत गाउन छाडे, पारिवारिक झमेला परे, श्रीमतीसँग मनमुटाव बढ्यो, गीत गाएर जोडेको चल अचल सम्पत्तिमा खोलो लाग्यो, मदिराभोगी बने आदि ।

पृष्ठभूमिमा उनीबारे चाहिँदा नचाहिँदा चर्चा चलिरहेकै थियो । यस्तैमा साथीसंगीले उनी कहाँ छन् भन्नेबारे सोधपुछको सिलसिला चलाए । अखबारहरूमा उनीबारे खोजबखर आउन थाले । तर कसैको केही सीप चलेन । उनको हालखबर सधैँ बेखबरमा परिणत भइरह्यो । समय भुक्तान भएपछि मात्र उनी आफैं सार्वजनिक भए ।

उनी भूमिगत हुनुको पछाडि लुकेको लामो कथाको सार थियो, श्रीमतीसँग मनमुटाव बढ्नु र मनमुटाव पारो बढ्दै जाँदा उनीहरूका सम्बन्ध नदीको दुई किनारजस्तो हुन पुग्नु । यही मूलकथाको सेरोफेरोमा अरू थुपै्र उपकथाहरू जोडिएका थिए ।

अहिले उनको घरेलु मामला सप्रिएको छ । अघिल्लो श्रीमती एक छोरा र एक छोरी दिएर अर्कै बाटो लागेकी छिन् । राजुले पनि अर्कैसँग घरबार जोडेका छन् । अहिलेकी श्रीमतीसँग छोरो जन्मिएको छ, जसको उमेर भर्खर सात महिना पुग्दैछ । अहिलेकी श्रीमती सबै लालाबाला सम्हालेर बसेकी छिन् । राजु रेकर्डिङ र सांगीतिक जमघटहरूमा व्यस्त छन् । उनको जिन्दगीले फेरि लय समातेको छ ।

जिन्दगीमा नपत्याउँदा आँधीहुरीको सामना गर्नुअघि उनी दुई थान सपना बोकेर २०५४ सालतिर लमजुङको गाउँसहर (चिसापानी) बाट राजधानी भित्रिएका थिए । उनको सपना थियो, मौका पाएमा नेपाली सेनामा भर्ती हुने, त्यसो हुन नसके गीत गाउने । सेनामा भर्ती हुने सपना तुहियो, गीत गाउने सपना सप्रियो ।

उनी एक साँझ सुन्धाराको गल्लीतिर टहलिँदै थिए । उनले कतै मादलको तालमा लोकभाका गुञ्जिएको सुने । यसबाट उनीभित्रको लोकसंगीतको मोह फेरि एकपटक ब्युँतिएर आयो । आवाज पछ्याउँदै जाँदा उनी ‘पुकार दोहोरी साँझ’ पुगे, जुन नेपालकै पहिलो दोहोरी साँझ हो । उनी दर्शकदीर्घामा पुगेर गीत सुन्न थाले । त्यहाँको सांगीतिक माहोल देखेरमा उनमा गीत गाउने इच्छा जाग्यो । उनले अनुमति मागेर गीत गाए ।

उनले एउटा गीतमात्रै के निकालेका थिए, सबैजना मन्त्रमुग्ध भए । उनलाई ‘पुकार दोहोरी साँझ’ का मालिकले उनको प्रतिभा पहिचान गरिहाले । दोहोरी साँझका मालिकले उनलाई आफ्नो दोहोरी साँझमा गीत गाउन आग्रह गरे । उनले त्यही दोहोरी साँझमा गीत गाउन थाले । उनको गीतका प्रशंसकहरू थपिन थाले । त्यो घटना उनको जीवनमा कोशेढुंगा सावित भयो । उनको परिचय र सम्पर्कको दायरा फराकिलो हुँदै गयो । उनी दोहोरीको दुनियाँमा स्थापित हुँदै गए । समयक्रममा एक पछि अर्को गरी अडियो एल्बम निस्कन थाले । अनि त उनलाई नचिन्ने र नजान्ने मान्छे नै भएन ।

राजुको सांगीतिक यात्रामा दुई दशकतिर लम्किँदैछ । यस क्रममा उनको स्मृति पटलमा अनेकन् संस्मरणको खात लागेका छन् । एकपटकको दोहोरी प्रतियोगितामा उनले तनहुँकी गायिका उत्तम गुरुङसँग दोहोरी गाउनुपर्यो । गीत दिदी–भाइको लाइनमा अघि बढ्यो । उनले गीत निकाले, ‘रैछ जीवन हावा र हुरीको, सुन्नुुस् कथा टुहुरा र टुहुरीको’ । उत्तम गुरुङ तत्कालै द्रवीभूत भइन् । उनी गाउनै नसक्ने अवस्थामा पुगिन् । निर्णायक मण्डल र दर्शकदीर्घा रहेका सबै स्तब्ध भए । राजु पनि अक्क न बक्क भए । पछिमात्र थाहा भयो, केही महिनाअघि मात्र उत्तमकी आमा परलोक भएकी रहिछन् ।

उनले गायन यात्रामा सँगालेका थुप्रै संस्मरणमध्ये एउटा संस्मरण उनको ‘फ्यान’ सँग सम्बन्धित छ । लगभग ८ वर्ष अगाडि बुटवल महोत्सवमा उनी स्टेजमा गीत गाइरहेका थिए । विवाहित भए पनि स्टेजमा गीत गाउँदा उनले आफूलाई ‘कन्य–कुमार’ को रूपमा प्रस्तुत गरिरहेका थिए । यत्तिकैमा स्टेजमा एउटी केटी उक्लन खोजी । उनलाई कसैले रोके ।

पछि त्यही केटी एकजना महिलालाई लिएर उनी बसेको होटलमै आइन् । उनीसँग आएकी महिला उनको आमा रहिछन् । लामो समयदेखि त्यो केटी राजुको ‘डाइहार्ड फ्यान’ रहिछन् । मौका मिलेमा राजुसँग विवाह गर्ने मनस्थितिमा रहिछन्, तिनी । त्यस भेटघाटमा आमामार्फत विवाहको प्रस्ताव आयो । राजुले आफू विवाहित भएकोले प्रस्ताव स्वीकार्य नहुने तर दाजु–बहिनीको नाता भने कायम रहन सक्ने बताए ।

त्यो केटीको अपेक्षामा तुषारापात भयो । तर नाता अर्कै किसिमले अघि बढ्यो । उनीहरूबीच दाजु–बहिनीको नाता कायम भयो । ‘अहिले पनि दाजु–बहिनीको रूपमा फोनवार्ता भइरहन्छ ।’ उनी संयोगवश जोडिएको नाता–सम्बन्धको धागो फुकाउँछन् ।

उनलाई गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाका निकै मन पर्छ । ‘मलाई ठाडो भाका सुनेपछि अरू गीत सुन्न मन लाग्दैन’ उनी ठाडो भाकाप्रतिको मोहभाव प्रकट गर्छन् । उनी ठाडो भाकामा जस्तो लालित्य र भावनाको ज्वारभाटा अरू गीतमा भेट्दैनन् । ठाडो भाका अलि अलि गाउँछन् पनि । उनी हाक्पारे, देउडा तथा हुड्क्यौली गीतमा पनि नेपाली समाज बोलेको पाउँछन् । यी गीतप्रति असीम श्रद्धाभाव देखाउँछन् ।

दोहोरी गाउँदा तत्क्षण शब्दजाल बुन्न बुन्नैपर्छ । त्यो शब्दजाल माकुरीको जालजस्तै कलात्मक हुनुपर्छ । उनको अनुभवमा शिवु गिरी र केशरबहादुर अधिकारी शब्दजाल बुन्नमा खप्पिस पारखीका हुन् । यसका अतिरिक्त उनका दृष्टिमा प्रजापति पराजुली, बद्री पराजुली, सिर्जना विरही गुरुङ, शिला आले, शकुन्तला थापा आदि यो मामलामा उत्तम प्रतिभाहरू हुन् । उनी झलकमान गन्धर्व र बिमाकुमारी दुराका स्वरमा बेजोड मार्धुय र विलक्षणपूर्ण झङ्कार पाउँछन् ।

आपूm लोकगीतप्रति अनुरक्त हुनुमा लमजुङको संगीतमय वातावरणलाई श्रेय दिन्छन्, उनी । यसमा उनका बुबा मंगलसिंह परियार र आमा सन्तमाया परियार उत्तिकै श्रेयभागी छन् । दुवैजना लोकगीतका अनुरागी । उनले अभिभावकबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रेरणा पाए । यिनै प्रेरणादायी तत्वहरूको गठजोडबाट उनी सांगीतिक दुनियाँमा छाएका हुन् ।

राजु गुरुङ मिश्रित समुदायमा हुर्किएका व्यक्ति हुन् । उनीको घर वरिपरि गुरुङ गाउँ छ । बहुसांस्कृतिक समाजमा हुर्कंदा उनले कमाएको अमूल्य सम्पत्ति हो, गुरुङ भाषा । उनी गुरुङ भाषा खररै बोल्छन् । गुरुङ गाउँमा हुने सांगीतिक जमघटमा गुरुङ भाषामा गीत गाउँछन् । त्यतिमात्र होइन, मौका पर्दा गुरुङ भाषामै मन्तव्य दिन्छन् । उनले गुरुङ भाषाको चलचित्रमा पनि गीत गाएका छन् । गुरुङ भाषामा गीत पनि लेखेका छन् । उनी गुरुङ समुदायमा प्रिय व्यक्ति हुन् ।

उनमा विद्रोही चेत छ । जातभातको सिंढीदार सामाजिक संरचनाप्रति उनी स्वाभाविक रूपमा आलोचक छन् । उनी जातभातले निम्त्याएको उचनीच व्यवहारप्रति विद्रोहको स्वर ओकल्छन् । ‘सुनपानीले छर्क मायालु’, ‘यो खोलीको पानी कोई नखानू मैले छोको छु’, ‘अछूउजागर गर्ने गीत गाएर ‘ठीक गरेँ’ भन्ने लागेको छ । तर, ‘कति राम्रो दमाइको छोरो’ भनेर गीत गाउने उनी दलित शब्दलाई शब्दकोशबाटै हटाउनुपर्छ भन्छन् । उनको दृष्टिमा शब्दकोशमा दलित शब्द रहँदासम्म भेदभावको बीउ रहिरहन्छ ।

उनको जीवन–घडीको सुईं चार दशक नजिक–नजिक सोझिन लाग्दैछ । उर्वर समय अझै बाँकी छ । उनीबाट धेरै आशा गर्ने ठाउँ छ । उनी आशा र भरोसाहरू उमार्दै सांगीतिक यात्रामा अग्रसर छन् । उनका शुभचिन्तक र ‘फ्यान’हरूको अपेक्षा र सुझाव एउटै छ, विगतका अलमल र बाँझो समयको क्षतिपूर्ति हुने गरी उनको सांगीतिक यात्रा अघि बढ्नुपर्छ ।