नेपालले शनिबार कुवेतसँग खेल्दै छ । कतारमाथि शुक्रबार जित हात पार्नुअघि कुवेत पहिलो खेलमा मलेसियासँग ४१ रनले पराजित भएको थियो । मलेसियाले बनाएको १ सय ८६ रनको जवाफमा कुवेतले ९ विकेट गुमाई १ सय ५३ रनमात्र बनाउन सकेको थियो । सिंगापुरसँग कुवेतको दोस्रो खेल भने वर्षाले पूरै प्रभावित पारेपछि रद्द हुन पुगेको थियो ।
कुवेत र सिंगापुरले शुक्रबार जित हात पारेपछि विश्व ट्वान्टी–२० एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्ने समीकरण सबै नेपालको हातमा आएको छ । कमजोर मानिएको कतारसँग पहिलो खेलमा ४ विकेटले पराजित भएपछि सिंगापुरमा भइरहेको विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालको स्थिति अप्ठ्यारो बनेको थियो ।
अर्को खेलमा नेपालले मलेसियालाई पराजित गरे पनि रनरेटमा भर पर्नुपर्ने स्थिति आउन सक्थ्यो । तर इन्डियन एसोसिएसन मैदानमा कुवेतले कतारलाई १० रन र सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेपछि नेपालले बाँकी दुई खेलमा जित हात पारे प्रतियोगिता जित्ने निश्चित भएको हो । छनोट प्रतियोगिता विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा यूएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान छ ।
दुई खेलमा २ अंक जोडेर नेपाल तेस्रो स्थानमा छ । सिंगापुर ३ खेलमा ५ र कुवेत ३ खेलमा ३ अंकसहित सुरुका दुई स्थानमा छन् । मलेसिया र कतारले ३–३ खेलमा २–२ अंक जोडेका छन् । मलेसिया र कतार उपाधि दौडबाट बाहिरिइसकेका छन् । नेपालले कुवेत र सिंगापुरसँग खेल्न बाँकी छ, जुन एक हिसाबले नेपालका लागि सेमिफाइनल र फाइनलजस्तै हो ।
पहिला ब्याटिङ गरेको कुवेतले एडनान इद्रिजको ५६ रनमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९७ रन बनायो । इद्रिजले ३२ बल खेली ८ चौका र २ छक्का प्रहार गरे । कप्तान तमुर साजादले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरी अविजित ४६ रन बनाए पनि कतारले ५ विकेट गुमाई १ सय ८७ रनमात्र बनाउन सक्यो ।
सिंगापुरले छिमेकी मलेसियाको चुनौती सहजै पन्छायो । टस जितेर ब्याटिङ रोजेको मलेसिया १८.४ ओभरमा ९२ रनमै अलआउट भयो । अमजाद महबुब र अनन्थ कृष्णले ३–३ विकेट लिए । सुरेन्द्रन चन्द्रमोहनले ४२ बलमा ५० रन बनाएपछि सिंगापुरले १३.२ ओभरमै लक्ष्य पूरा गर्यो ।
कुवेतपछि नेपालले अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ ।
प्रतिक्रिया