देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्द्रयान–२ को सफल प्रक्षेपण

देशान्तर

भारतले प्राविधिक समस्या देखिएको भन्दै गतसाता स्थगन गरेको अन्तरिक्षयान ‘चन्द्रयान–२’ को सोमबार सफल प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) का अनुसार यानलाई स्थानीय समयानुसार दिउँसो २ बजेर ४३ मिनेटमा प्रक्षेपण गरिएको हो । चन्द्रयान–२ आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिस धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो ।

इस्रोले चन्द्रयान–२ ले ‘एक अर्ब सपनालाई चन्द्रमातर्फ लिएर गएको’ प्रतिक्रिया दिएको छ । गतसाता उक्त यानको प्रक्षेपण निर्धारित समयभन्दा ५६ मिनेट अघि स्थगन गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार तापक्रमसँग सम्बन्धित इन्जिनमा रहेको हिलियम ग्यासको बोतलमा चुहावट देखिएका कारण इस्रोले प्रक्षेपण स्थगन गरेका थिए । इस्रोले पूर्वनिर्धारित समयभन्दा एक सातापछि भए पनि चन्द्रको अध्ययनका लागि प्रक्षेपण गरिएको यानको मिसनलाई साथ दिएको भन्दै सबैलाई धन्यवाद दिएको छ ।

चन्द्रयान–२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण हुने छ । भारतीय अधिकारीका अनुसार यान पृथ्वीको कक्षमा प्रवेश गरिसकेको जनाएका छन् । यानलाई चन्द्रमाको कक्षमा प्रवेश गर्नका २३ दिन लाग्ने छ भने सेप्टेम्बर पहिलो साता चन्द्रमामा अवतरण गर्ने जनाइएको छ ।

यानको प्रक्षेपणलगत्तै इस्रो प्रमुख के शिभनले भनेका छन्, ‘यो चन्द्रमातर्फको ऐतिहासिक यात्राको केवल सुरुवात मात्र हो ।’ उनले यस मिसनमा संलग्न करिब एक हजार वैज्ञानिक, इन्जिनियर र अन्य कर्मचारीलाई धन्यावाद दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान–२ को मिसन ‘विल्कुलै फरक प्रकृतिको’ भएको जनाउँदै प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष कार्यक्रमलाई निकै महत्त्व दिँदै आएका छन् । तर अन्तरिक्ष योजनाभन्दा देशको भोकमरी अन्त्य गर्न प्रधानमन्त्री केन्द्रित हुनुपर्ने आलोचकको भनाइ छ ।

करिब १५ करोड अमेरिकी डलर लागतको परियोजनाअन्तर्गत चन्द्रयान–२ ले चन्द्रमाको चन्द्रमाको कम्पन, सतहको पानी तथा खनिज पदार्थको खोजी गर्न सहयोग पुर्‍याउने जनाइएको छ ।

भारतले सन् २००८ मा चन्द्रमानको अध्ययनका लागि चन्द्रयान–१ प्रक्षेपण गरेको थियो । चन्द्रमाको सतहमा अवतरण गर्न नसके पनि उक्त यानको सहयोगले भारतले राडारको सहयोगले पानीको गहन अध्ययन गरेको थियो ।