देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खण्डग्रास चन्द्रग्रहणः भोली विहान आधा चन्द्रमा ढाकिने गरी उत्तराषाढ ग्रहण

देशान्तर

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन बुधवार विहान खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहणले बुधवार विहान १ः४६ बजेदेखि आग्नेय कोणबाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने छ ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर र चन्द्रग्रहणमा तीन प्रहर अघिदेखि सुतक लाग्ने छ । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध गरिएको भनिएपनि भोली पल्ट विहानबाट सुरु हुने भएकाले ९ घण्टा अघिदेखि सुतक नलाग्ने भनाइ पनि आएका छन् ।

विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेका बेलामा गरेका थिए । खगोलविद् तथा वैज्ञानिकका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर भएको थियो ।

ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभइ पशुपन्छीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने बताइएको छ । एक्काइसौँ शताब्दीमा जम्मा पचासी चन्द्रग्रहण पर्ने जनाइएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छाया चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रोअनुसार ग्रहण जुलाई १७ तारिखको बिहान र नेपाली पात्रोअनुसार असार ३१ गते राति पर्छ ।

नेपाली पात्रोअनुसार सुर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ ।

बुधवार विहान पहिलो प्रहरबाट १ः४६ बजे शुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाक्नेछ । पूरै ढाक्ने भएको भए यसलाई खग्रास भनिन्थ्यो । अवलोकनकर्ताले १ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देख्न सक्नेछन् । यस अवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।