देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्काल महाधिवेशनले पार्टीमा तिक्तता बढाउँछः गुरुराज घिमिरे

देशान्तर

अहिले नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा गर्दै आएको नेपाली कांग्रेस १४ महाधिवेशनको संघारमा छ । संविधान प्रदत्त संरचनामा पार्टीलाई लान नसकिरहेको र सरकारसँग जनता सन्तुष्ट नभइरहेको अवस्थामा प्रतिपक्षमा रहेको कांग्रेसमाथि धेरैले प्रश्न गरिरहेका छन् ।

कांग्रेस आफूमा कति सन्तुलित रहन्छ र राष्ट्रिय राजनीतिमा परिवर्तित कांग्रेसको उपस्थित कहिले हुन्छ ? । यो कांग्रेस बाहिरबाट आएको प्रश्न हो । अब आन्तरिक रूपमा कांग्रेस कति तयारीमा छ । उसभित्रका संरचनाहरू कसरी बन्दैछन् । महाधिवेशनको मुखमा पुगेको कांग्रेस नेतृत्वमा कस्तो परिवर्तन आउला ?। यी विषयमा अहिले कांग्रेस केन्द्रीय समितिमा बहस जारी छ ।

नेपाली कांग्रेसले अहिले उठाउनुपर्ने मूल एजेन्डा भनेको पार्टीको १४औं महाधिवेशन र रिक्त रहेको पार्टी संरचनाहरूलाई पूर्णता दिँदै गएको निर्वाचनमा गुमेको कांग्रेसको साखलाई फर्काउने कुरा नै मुख्य हुन् र केन्द्रीय समितिको बैठकमा पनि यिनै विषयमा छलफल केन्द्रित छ । लोकतान्त्रिक मूल्य र मान्यता भित्रबाट निर्वाचनमा दुई तिहाइ जनमत पाएको अहिलेको नेकपा सरकारका काम कारबाहीले सकारात्मक प्रभाव कम र नकारात्मक प्रभाव बढी पारिरहेको अवस्था छ ।

सरकार गठन भएपछिका समयमा सरकारले गरेको कुनै पनि कामको विरोध नभएको र जनताले असन्तुटि जाहेर नगरेका विषयहरू छैनन् । यो राष्ट्रिय राजनीतिको विषय हो । राष्ट्रिय राजनीतिमा अहिलेसम्म नेतृत्वदायी भूमिकामा रहँदै आएको कांग्रेसले के गर्ने र कस्तो भूमिका निर्वाह गर्ने भन्ने अर्को जटिल प्रश्न पनि कांग्रेसका अगाडि छ ।

किनभने जनतासँग अहिले विकल्प छैन । जनताको आशा सरकार पक्षसँग र विकल्पको आशा जहिले पनि प्रतिपक्षसँग हुन्छ । अहिले कांग्रेसले निर्वाचनमा हाम्रो पराजय कसरी भयो भनेर आन्तरिक कलह गर्ने समय होइन । कांग्रेसले आफूले गरेका गल्तीका कारण पराजयको सिकार हुनु परेको हो भन्ने कुरालाई मनन् गरेर अब अगाडि जानुपर्छ ।

दुई ठूला कम्युनिस्ट पार्टी मिल्नु र कांग्रेस सत्तामा रहेका समयमा भएका केही गल्तीहरूका कारण यो अवस्थामा आएको हो । नेतृत्वले यसलाई मनन् गरेर सच्चिन चाहेको खण्डमा कांग्रेसले सरकारले गल्ती गर्ला र हाम्रो अवसर आउन भनेर पर्खनु पर्दैन । सरकारले के गरिरहेको छ भन्दा पनि हामी आफू के गर्दैछौं र पार्टीलाई कसरी समयसापेक्ष बनाएर जनताका माझमा पु¥याउन सकिन्छ भन्ने चिन्ता अहिले कांग्रेसले लिनुपर्छ ।

त्यसकारण १४औं महाधिवेशन सम्पन्न गर्ने र पार्टी संगठनहरूलाई चलायमान बनाउने कांग्रेसको पहिलो कर्तव्य हो भने हामी निर्वाचनमा कसरी पराजित भयो ?। यसका कारण के के हुन् र आगामी निर्वाचनमा हामी एक्लै कसरी बहुमतमा पुग्न सक्छौ भन्ने मुख्य दुई विषयमा कांग्रेसको छलफल केन्द्रित हुनुपर्छ । छलफले मात्रै केही परिवर्तन हुन सक्दैन ।

नेताहरूले आफूभन्दा पार्टी सर्वोपरि हो भनेर निर्णय गर्नुपर्छ । आगामी महाधिवेशन र आगामी निर्वाचनलाई सँगसँगै अगाडि बढाउने तयारीमा हामी लागेको खण्डमा पार्टीले कसैको निगाह खोजिरहनु पर्दैन । कसैले गलत काम गर्ला र त्यसको फाइदा हामीले उठाउला भनेर कुरिरहनु पर्ने अवस्था आउँदैन । राज्यको पुनर्संरचनाअनुसार पार्टीलाई जुन रूपले व्यवस्थित बनाएर लानुपर्ने थियो त्यसमा हाम्रो केही ढिलाइ भएको छ ।

राज्यमा खडा भएका नयाँ संरचनाहरू अनुसार पार्टीका पनि हामीले नयाँ संरचनाहरू बनाउनुपर्ने थियो । समयमै यो काम सकिएको भए १४औं महाधिवेशनपछि हामी पूर्ण रूपले आउने निर्वाचन केन्द्रित कार्यक्रम लिएर जान सक्थ्यौं । तर, त्यो हुन सकेन र पहिले किन भएन भनेर अब विवाद गर्नुको अर्थ पनि छैन ।

पार्टीलाई नयाँ संरचनाअनुसार लानुपर्ने विषयलाई मध्यनजर राख्दै हामीले महासमितिको बैठकमार्फत विधानमा आवश्यक बन्दोवस्त गरेका हौ । त्यसलाई कार्यान्वयन गराउनका लागि अहिले हामीले अन्तरिम कार्यव्यवस्था मिलाउनु पर्ने आवश्यकता देखिएको छ । यो विधानमा भएको अन्तरिम कार्य व्यवस्थालाई कसरी सुरु गर्ने र कहिलेबाट सुरु गर्ने भन्ने अहिलेको मूल विषय हो ।

पहिलो चरणको जागरण अभियान सकिए लगत्तैै दोस्रो चरणको जागरण अभियान चलाउन पार्टीले निर्णय गरिसकेको छ र दोस्रो चरणको अभियानमा पार्टीका तल्लो तहका सबै संरचनाहरूलाई पूर्ण बनाइनेछ भनेर पनि घोषणा भइसकेको छ । अहिले बनाउने भनिएको संरचनाहरू पनि बाँकी अवधिका लागि हुन् । अहिले नै १४औं महाधिवेशनको मिति घोषणा हुने हो भने अब लगभग एक वर्षका लागि अन्तरिक संरचनाहरू बनाउने हो ।

किनभने केन्द्रीय पदाधिकारीको समय पनि अब लगभग आठ महिना मात्रै बाँकी र तलको संरचनाको समय अवधि पनि उही हो । त्यसकारण अहिले नै महाधिवेशनको मिति तोकेर समयभन्दा ४ देखि ६ महिना पछि गर्ने हो भने अन्तरिम व्यवस्थाअनुसार संगठनका संरचनाहरू बनाऊ । हैन समय एक वर्ष थप नै गर्ने हो भने संगठन संरचनाहरू अन्तरिम व्यवस्थाबाट भन्दा १५औं महाधिवेशनसम्मका लागि निर्वाचित नै गराएर जाउँ भन्ने विचारहरू पनि आएका छन् ।

मेरो विचारमा पनि अब बाँकी अवधिका लागि संरचना बनाउनुभन्दा पार्टीको १४आंै महाधिवेशनको प्रक्रिया प्रारम्भ गरौं र क्रियाशील सदस्यतादेखि माथिका सबै प्रक्रियाहरू १४औं महाधिवेशनका लागि गर्दै ती संरचनाहरूको कार्यकाल पूरै अवधिका लागि लिएर जानु नै उपयुक्त हुन्छ । अहिले प्रक्रिया सुरु गरौंं ।

संरचनाहरू १४औ महाधिवेशनलाई हुने गरी बनाऊ र त्यसको कार्यकाल चाहिँ १५औं महाधिवेशनका लागिसम्म वैधानिक हुने गरी बनाएर गयौं भने दोहोरो झन्झट पर्दैन र पार्टीले अब आउने स्थानीय निर्वाचनदेखि सबै निर्वाचनमा राम्रो तयारी गर्न सक्छ भन्ने मेरो विचार हो । १४औं महाधिवेशनमा तयारी नभए पनि हामी गइसकेका छौ ।

यसको मिति तोकेर जाउ र संरचनाहरूलाई १५ महाधिवेशनसम्मका लागि निर्वाचित गराएर लिएर जाउ । अहिले त्यसै पनि समय कम हँुदै गएको छ किन अन्तरिक कार्यकालको मात्रै व्यवस्था गरेर जाने भोलि यो अन्तरिमलाई पूर्णता दिने विषयमा पनि समय लम्बिन सक्छ । कांग्रेसका लागि अहिले समय खेर फाल्नेभन्दा पनि कसरी उपयोग गर्ने भन्ने अवस्था पनि आइसकेको छ । यो प्रक्रिया चार वर्षभित्र नगए पनि पाँच वर्षभित्र त लानै पर्छ ।

त्यसकारण प्रक्रिया १४औं महाधिवेशनका लागि सुरु गरौं र प्रक्रियामा १५औं महाधिवेशनसम्म लिएर जाउँ भन्ने मेरो पार्टीलाई सुझाव हो । यसले राष्ट्रिय जागरणभन्दा पनि ठूलो माहोल बनाउँछ र अहिले देखिएको गुटबन्दीको पनि यसले अन्त्य गर्न सक्छ । तर, पार्टीका शीर्षस्थ नेताहरूले यो खालको सुझावलाई ग्रहण गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।

किनभने अहिलेसम्म पार्टीका कुनै पनि तहबाट आएका सुझावहरूलाई भन्दा आफ्नो स्वार्थलाई नेताहरूले प्राथमिकता दिँदै आएका छन् र अहिलेसम्म भएको पनि यही हो । अहिले पनि नेताहरूले सहमति नै खोजिरहनु भएको छ । नेताहरूको बीचमा सहमति नै भयो भने उहाँहरूले जुनसुकै निर्णय पनि गर्न सक्नुहुन्छ । योभन्दा अगाडि पनि गर्दै आउनु भएको छ । अहिलेसम्म नेताहरूले जसरी पार्टी चलाउनु भएको छ त्यसमा हामीले पार्टीमा प्रतिक्रिया जनाउनुबाहेक केही पनि गर्न सकेका छैनौं ।

गर्न मन लागेका कुरा उहाँहरूले गरिहाल्नु हुन्छ यो धु्रवसत्य कुरा हो । हाम्रो भनाइ सबैको सुझावलाई लिएर नेताहरू बसेर छलफल गरेर निर्णय गरिदिएहुन्थ्यो भन्ने हो । यो केन्द्रीय समितिको अन्तिम निर्णय पनि यस्तै नै आउने हो । तर, प्रतीक्षा गर्नुपर्छ । अर्को मैले देखेको कुरा के हो भने पार्टीको १४आंै महाधिवेशन अहिले सुरु हुँदा पार्टीमा नेताहरूका बीचमा तिक्तता बढ्छ । यो हामीले पहिल्यै सहमति गर्नुपर्ने थियो ।

अहिले नेताहरूका बीचमा सहमति हुने अवस्था छैन । पहिले नै गरिसक्नुपर्ने काम अहिलेसम्म नसकेकाले पार्टीभित्र फेरि गन्जागोल हुने अवस्था कायमै छ । त्यसो भएका हुँदा यदि नेपाली कांग्रेसलाई पुनः सक्रिय बनाउने हो भने १४ महाधिवेशनको समय थपेर मिति घोषणा गरेर अन्तरिम व्यवस्थाअनुसार संगठनको संरचना बनाऔं वा १५औं महाधिवेशनसम्मका लागि संगठन संरचनाहरूलाई निर्वाचित गराएर लैजाऊन् र महाधिवेशनको समय एक वर्ष थप गरांै ।

यो अहिले सबैभन्दा राम्रो विकल्प हो । अहिलेसम्मको अवस्थालाई हेर्दा १४औं महाधिवेशन एक वर्षका लागि सर्ने निश्चित जस्तै छ । महाधिवेशन सर्ने भएपछि दोहोरो निर्वाचन गराउनभन्दा अहिले अन्तरिक व्यवस्थालाई काम चलाउँदै पूर्णकालीन हुने गरी संरचनाहरूको निर्वाचन गराउन नै बुद्धिमानी हुनेछ ।