देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपाधिका लागि इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुदै

देशान्तर

आईसीसी एकदिवशीय विश्वकपको उपाधिका लागि आयोजक इंग्ल्याण्ड र पछिल्लो संस्करणको उपविजेता न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप फाइनल क्रिकेटको घर भनेर चिनिने लन्डनको लर्डस् मैदानमा नेपाली समयअनुसार दिउँसोको सवा ३ बजेदेखि सुरु हुनेछ ।

२७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ । फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन र खेलाडीको लय उत्कृष्ट देखिन्छ ।

अघिल्लो संस्करणमा पहिलो चरणबाटै लज्जास्पद पराजय ब्यहोरेर बाहिरिएको इंग्ल्यान्डले त्यसलगत्तै भएको ५ एकदिवशीय सिरिजमा न्युजिल्याण्डलाई ३–२ ले पराजित गरेको थियो ।

यसअघि तीन पटकसम्म फाइनलमा पुगेर जित्न नसकेको उपाधि सपना यसपल्ट इंग्लिस खेलाडीहरु साकार पार्न चाहन्छन् । इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ को विश्वकपको उपविजेता हो ।

इयोन मोर्गन नेतृत्वको इंग्ल्यान्डका लागि ज्यासन रोयको पुनरागमन निकै नै प्रभावकारी देखिएको छ । लिग चरणमा श्रीलंका र अष्ट्रेलियासँगको लगातार हारपछि समस्यामा परेको इंग्ल्यान्ड त्यसबाट माथि उठेर सेमिफाइनलमा पुगेको हो ।

जोनी बेरिस्टो, रोय र जोय रुट इंग्ल्याण्डका शीर्ष ३ ब्याट्सम्यान हुन् र उनीहरुले अहिलेसम्म यस विश्वकपमा १ हजार ४७१ रन जोडेका छन् ।

क्रिश वोक्सको नेतृत्वमा रहेको बलिङ आक्रमणमा अनुशासित बलिङ गरिरहेका जोफ्रा आर्चरले न्युजिल्याण्डको ब्याटिङपंक्तिमा पर्याप्त दबाब राख्नेछन् ।

विश्वकप उपाधिकै मुख्य दावेदार र लिग चरणमा शीर्ष स्थानमा रहेको भारतलाई धुलो चटाउँदै फाइनलमा पुगेको न्यूजिल्याण्डका लागि सबैभन्दा ठूलो प्रोत्साहन र आत्मविश्वास नै त्यही हुनेछ ।

त्यस खेलबाट अर्को के पनि प्रमाणित भएको छ भने क्रिकेटमा सबै कुरा सम्भव छ । मौसमको खराबीका एकदिवशीय विश्वकपको सेमिफाइनल २ दिन लगाएर खेलिएको थियो ।

शीर्ष क्रमले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न नसक्नु न्यूजिल्याण्डको प्रमुख समस्या हो । तर, अनुभवी रस टेलर र केन विलियमसनले अहिलेसम्म ब्याटिङस्तर खस्कन दिएका छैनन् ।

बलिङमा उनीहरु शशक्त छन् । लोकी फर्गुसन, म्याट हेनरी र ट्रेन्ट बोल्टको सानदार बलिङले जारी प्रतियोगितामा उनीहरुले धेरैपल्ट विपक्षीलाई हायलकायल पारेका छन् । भारतको पारी ध्वस्त हुँदा पनि यिनै तीनको प्रदर्शन निर्णायक थियो ।