देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सम्भव छैनः प्रदीप पौडेल

देशान्तर

आगामी फागुन भित्रमा समय अभावका कारण कांग्रेसको १४औँ महाधिवेशन जति प्रयास गर्दा पनि भ्याउन सकिने अवस्था अब रहेन । फागुनमा नसके पनि हामी चार महिना थपेर महाधिवेशन गराउन सक्छांै । वैशाखदेखि जेठभित्रमा महाधिवेशन गराउन सकिएन भने पार्टीमा सुधार आउन सक्दैन । अहिलेको अवस्थामा आफ्नो राजनीति के हुन्छ भन्दा पनि पार्टी र देशको राजनीतिले के मागिरहेको छ भन्ने कुरा बुझ्नु कांग्रेस नेतृत्वको अहिलेको कर्तव्य हो ।

त्यसकारण कांग्रेस नेतृत्वले अब राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने खालको निर्णय गरेर कांग्रेसको पुरानो साखलाई बचाउन आवश्यक छ । कांग्रेसको केन्द्रीय कार्यसमिति आजबाट सुरु हँुदैछ र बैठकमा मूलतः पार्टीको १४औं महाधिवेशन र सांगठनिक संरचनाहरूलाई पूर्णता दिने विषयमा केन्द्रित हुनुपर्छ ।

यसको अलवा पहिलो चरणमा सम्पन्न भएको राष्ट्रिय जनजागरण अभियानका क्रममा ७७ वटै जिल्लामा पुग्नु भएको प्रतिनिधिहरूले कार्यकर्ताहरूको पार्टीप्रतिको भावना, स्थानीय स्तरमा कांग्रेसको अवस्था, राष्ट्रिय राजनीतिको अवस्था र पार्टीको संगठन विस्तारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफललाई केन्द्रमा राखेर निर्णयहरूमा पुग्नुपर्छ । एक महिनासम्म जिल्लाजिल्लामा पुगेर अनुभव बोकेर आउनुभएका साथीहरूले केन्द्रीय समितिलाई दिनुभएका सुझाव र त्यहाँको यथार्थलाई पनि समीक्षा नगरी अब पार्टी अगाडि जान सक्ने अवस्थामा छैन ।

पहिलो चरणको जागरण अभियानको अनुभवको आधारमा दोस्रो चरणको कार्यक्रम लिएर जाँदा हामीले केही न केही परिवर्तन दिनैपर्छ । तलका रिक्त संरचनाहरूलाई खाली नै राखेर दोस्रो चरणको अभियान लिएर जान सकिँदैन । यस विषयमा योभन्दा अगाडि पार्टीले चलाएका छलफलमा पनि कुराहरू आएका छन् । अझै समय बाँकी रहेकाले दोस्रो चरणको अभियान लिएर जाँदा हाम्रा तलका संरचनाहरू तयार भएका हुनुपर्छ । यो बैठकको मूल उद्देश्य भनेको महाधिवेशन र संगठनलाई पूर्णता दिने हो ।

माथिदेखि तलसम्म रहेका रिक्त संरचनाहरूलाई कसरी पूर्णता दिने हो ? यो विषयमा सबै केन्द्रीय तहमा रहनुभएका नेताहरूले बुझ्न आवश्यक छ । तरलका संरचनाहरूले पूर्णता पाइसकेपछि यस खालका कार्यक्रमहरू अरू प्रभावकारी भएर जानेछन् । पार्टीले चाहेअनुसार प्रभाव तलको बुथदेखि प्रदेश स्तरसम्म बनाउन सक्छ । यसका लागि पहिले खाली रहेको संरचनालाई कसरी पूर्णता दिने भन्ने मात्र हो किनभने तलको संरचना खाली रहिरहेको अवस्थामा अब अर्को चरणको जागरण अभियान जान सक्दैन ।

अहिले हामीले बनाएको नयाँ विधानमा अप्ठ्यारो परेको अवस्थामा कसरी पार्टीका संगठनहरू चलाउने भन्ने विषयमा संकटकालीन व्यवस्था गरिएको छ । तसर्थ तदर्थ समिति बनाएर वा मनोनयन गरेर तलका संरचनाहरू बन्ने अवस्था छैन । त्यसकारण वैधानिक व्यवस्था जे छ त्यो अनुसार तलका संरचनाहरू बनाउनुपर्छ । यो विषयमा केन्द्रीय समितिभित्र गहन रूपमा छलफल हुनुपर्छ । अहिले तत्कालै अधिवेशनमा जान नसकिए त्यसमा केही कुराहरू गर्न सकिन्छ ।

पहिलो पुरानै समितिहरू बीचमा एकता गरेर तलका साथीहरूसँग छलफल र सहमति गरेर जान सकियो भने सहज हुन सक्छ । तर, सबै ठाउँमा यो ढंगले जान सकिन्छ भन्ने अवस्था छैन । दोस्रो कुरा आउन लागेको १४औं माहाधिवेशन तत्काल नै सुरु गर्ने हो भने तल पुरानो संरचना जस्तो थियो त्यस्तै संरचनालाई राखेर पनि महाधिवेशनमा जान सकिन्छ ।

तेस्रो १३औं महाधिवेशनका क्रियाशील सदस्यहरूले मतदान गर्न सक्ने गरी वडा समितिहरू निर्वाचित गर्ने र क्षेत्रीय समितिहरूलाई १३औं महाधिवेशनका महासमिति सदस्यहरूले निर्वाचित गरेर क्षेत्रीय समितिहरू पनि बनाउन सकिन्छ । यी विकल्पहरूमाथि केन्द्रीय समितिले गहन रूपमा छलफल गर्नुपर्छ । विधानमा संक्रमणकालीन व्यवस्थाभित्रै हामीले यी कुराहरू उल्लेख गरेको हुनाले अहिले सबै कुरा एकै पटक नभ्याइने अवस्था छ । विधानमा भएको व्यवस्थालाई टेकेर गर्दा विवादरहित र सहज पनि हुन्छ । यिनै विषयहरूलाई जोडेर मात्रै पनि ती प्रावधानहरू राखिएका छन् ।

त्यसकारण वैधानिक व्यवस्थालाई प्रयोग गरेर तलका संरचनालाई पूर्णता दिन त्यति अप्ठ्यारो छैन, गर्न सकिन्छ । जहाँसम्म तदर्थ समिति बनाएर जाने भन्ने कुरा बहसमा आएको छ । यो वैधानिक हैन । यो प्रस्ताव केन्द्रीय समितिमा आउनु पनि हुँदैन । १४औं महाधिवेशन नजिक आएका कारण हामीलाई संरचना निर्माण गर्न समस्या मात्र छैन समयको पनि अभाव भएको छ ।

तत्कालका लागि वैधानिक बाटाहरू हुँदाहुँदै तदर्थ समिति र मनोनयनमा जान सकिँदैन । थोरै अवधिका लागि निर्वाचनमा किन जाने र यसको अरू विकल्प हुन सक्छ कि भन्ने कुराका लागि संक्रमणकालीन व्यवस्था गरिएको हो । त्यसकारण पुरानो संरचनालाई आधार बनाएर एउटा समझदारी खोज्न सकिने एउटा विकल्प हुन सक्छ त्यो पनि १४औं महाधिवेशनसम्मका लागि । अब समय कम हुँदै गएको छ । १४औं महाधिवेशनको तयारी अहिलेसम्म सुरु भएको छैन ।

यदि महाधिवेशन एक वर्ष थपेर जाने हो भने विधानले जति तहको संगठन संरचना गरेको छ ती सबैमा निर्वाचन हुनुपर्छ । महाधिवेशन सारियो भने हामीलाई स्थानीय तहको निर्वाचनमा असर पार्न सक्छ । एक वर्ष थप्दा त्यसको केही महिनापछि स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने हुन्छ । तर, उता निर्वाचनले छोप्दै जाने र कांग्रेस पहिले जस्तो आफ्नै आन्तरिक विषयमा अल्झिएर बस्ने हो भने गत निर्वाचनभन्दा पनि घातक निर्वाचन हुन सक्छ कांग्रेसका लागि । पहिले हामी सत्तामा थियौं । अहिले नेकपाले निर्वाचन गराउँदै छ ।

स्थानीय तहको पहिलो निर्वाचन सकिएर दोस्रो निर्वाचनमा पनि कांग्रेस आफूलाई चुस्त र दुरुस्त राखेन भने हाम्रो हविगत के हुन्छ भन्न सकिने अवस्था छैन । अहिले जसरी हुन्छ आफूलाई चुस्त बनाएर दुई तिहाइको सरकारसँग फाइट गर्ने अवस्थामा कांग्रेस पुग्नै पर्छ । मेरो विचारमा अबको ८ महिनामा पार्टीको महाधिवेशन कुनै पनि हालतमा गराउन सम्भव छैन । फागुनको महाधिवेशन हामीले वैशााख वा जेठमा लग्यौ भने सम्भव हुन्छ । आगामी वैशाख वा जेठभित्रमा पार्टीको महाधिवेशन गराउनै पर्छ ।

प्राविधिक कारणले पनि जेठभित्र गर्नुपर्छ । राजनीतिक कारणले पनि गर्नुपर्छ । यसका लागि अहिलेबाटै तयारी ताल्ने विषयमा पनि केन्द्रीय समितिले निर्णय लिनुपर्छ । अहिले महाधिवेशन गर्न नसकिने वातावरण पनि नभएकाले यही केन्द्रीय समितिको बैठकले महाधिवेशनको घोषणा गर्नुपर्छ । अहिलेको आवश्यकता भनेको पनि महाधिवेशन नै हो । यसलाई मूल नेतृत्वले मनन् गर्नुपर्छ । चार महिना पर सारेर भए पनि महाधिवेशन गर्ने अठोट नेतृत्वले गरेपछि तलका संगठनका संरचनाहरूलाई त्यहीअनुसार पूर्णता दिन सकिन्छ ।

यो सँगसँगै नेपाली कांग्रेसका जति पनि भ्रातृ संस्थाहरू छन् तिनीहरूको पनि अधिवेशन हुन सकेको छैन । भ्रातृ संगठनहरूको महाधिवेशन नगरिकन अरू कुरा गराउनु खोज्नु नेपाली कांग्रेसले मिल्दैन । नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन चुस्त, दुरुस्त सानो आकारको समिति बनाउन आवश्यक छ । तरुण दलमा अहिले चारजना मात्रै छन् । यसको पनि महाधिवेशन गराउनु छ । धेरै अगाडि कार्यकाल सकिएका थुप्रै भ्रातृ संगठनहरू छन् जसको महाधिवेशन गराएर क्रियाशील बनाउने कुरामा पनि नेतृत्व निर्णयमा पुग्न आवश्यक छ ।

कुनै पनि संगठनमा तदर्थ समितिले खास अर्थ राख्दैन र राम्रो सन्देश पनि जाँदैन त्यसैले चाँडोभन्दा चाँडो भ्रातृ संगठनहरूको महाधिवेशन तोकिनुपर्छ । केन्द्रीय विभागहरू बनाउने कुरामा पनि हाम्रो नेतृत्व चुकेको छ । पार्टीका सबै विभागहरू पहिले नै बनाउनुपर्ने थियो । अहिले कांग्रेस महाधिवेशनको मुखमा आइपुगेको छ र सबै संरचनाहरू चुस्त दुरुस्त बन्लान् र बनाउनुपर्छ भन्ने कुराले कति अर्थ राख्छ त्यो आफ्नो ठाउँमा होला ।

हामी देशको बदलिँदो परिस्थितिअनुसार पार्टीलाई परिमार्जन गर्ने भन्दै पुरानो विधानको ठाउँमा नयाँ विधान लिएर आएका छौं । नयाँ विधान आइसकेपछि पुरानो विधानअनुसारका केन्द्रीय संरचनाहरू बनाउने कुरा पनि सान्दर्भिक देखिँदैन । र, तत्कालै महाधिवेशनमा जाने हो भने अहिले खाली रहेका सबै संरचनाहरू नबन्न सक्छन् । यसमा विवाद आउन सक्छ त्यसकारण कांग्रेस अब महाधिवेशन केन्द्रित भएर अगाडि बढेको खण्डमा मात्रै सबै कुराहरू सहज रूपमा हुन सक्छन् । (वार्तामा आधारित)