काठमाडौं । आन्तरिक मतभेद सुल्झाउन नसकेको कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने तयारी छ । केही महिनापछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक परिवेशका बारेमा छलफल हुने जनाइएको छ ।
बैठकमा लथालिङ्ग अवस्थामा रहेका भातृसंस्थाहरुबारे कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुने कांग्रेस नेताले बताएका छन् । नेपाल विद्यार्थी संघ, महिला संघसहित भातृसंस्था अहिले अस्तव्यस्त अवस्थामा छन् ।
यस्तै पार्टीलाई संघीय संरचनामा लैजाने विषयमा पनि छलफल हुने जनाइएको छ । संस्थापन पक्षले यसका लागि सबै तहमा पार्टीको तदर्थ समिति बनाउने तयारी थालेको छ ।
तर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले त्यसको विरोध गर्दै आएका छन् ।
पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसेको पार्टी केन्द्रीय प्रतिनिधिहरूको बैठकमा पार्टीलाई गतिशील बनाउने गरी एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्वलाई दबाब दिएपछि कांग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बोलाएको हो । प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया