देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री परीक्षणको कुनैपनि बहानामा भाग्न मिल्दैनः नेता नेपाल

देशान्तर

काठमाडौँ । सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारी र प्रविधि अभाव देखाएर विषादी परीक्षणबाट सरकार भाग्न नमिल्ने बताएका छन् । पार्टीको संसदीय दल बैठकपछि शनिबार संसद् भवनबाहिर पत्रकारसँग कुरा गर्दै उनले जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड नगर्न सरकारलाई चेतावनी दिए ।

सरकार बहाना बनाएर भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षणबाट भागेको र जनतालाई विषादीयुक्त खाद्यान्न खान बाध्य पारेको उनले आरोप लगाए । तरकारी र फलफूलको विषादी परीक्षण गर्ने सवालमा कसैको दबाबमा नझुक्नसमेत नेपालले सरकारलाई आग्रह गरे ।

‘देशभित्र भित्रने सामान विषादीयुक्त छ कि छैन भन्नेमा हामी पहिला विश्वस्त हुनुपर्छ, कसैको दबाबसामु झुक्नु जरुरी छैन,’ उनले भने । नेता नेपालले विषादी परीक्षण नगर्ने निर्णयमा पुनर्विचार गर्नसमेत सरकारलाई आग्रह गरे । उनले सरकारले जनतालाई विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास दिलाउन सक्नुपर्ने बताए ।

अर्का नेता भीम रावलले विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आश्चर्य प्रकट गरे । विश्व व्यापार संगठनअन्तर्गत संसारभरिका देशले गरेको सम्झौतामा सार्वभौम र स्वतन्त्र देशले आफ्नोमा आयात हुने कुनै पनि वस्तुको आवश्यक जाँच तथा निश्चित मापदण्ड तोक्न सक्ने स्पष्ट प्रावधान रहेको उनले बताए ।

कसैको आग्रहमा जनताको हितप्रतिकूलका निर्णय गरेको कुरालाई स्वाभाविक मान्न नसकिने रावलको भनाइ छ । ‘सिमानामा तरकारी र फलफूल विषादी जाँच्न पनि नपाउने, जाँच्न खोज्दा कसैले पत्र पठायो भन्दैमा खुरुक्क निर्णय फिर्ता लिने ?,’ उनले भने, ‘यो एउटा स्वतन्त्र देश र जनताप्रति कटिबद्ध सरकारका लागि सुहाउने कुरा होइन ।’