काठमाडौं। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल राजपा नेपाल०बीच एकीकरणका लागि छलफल सुरु भएको छ । दुवै दल एकीकरणका लागि सहमत भएको र छलफल सकारात्मक रहेको जनाएका छन् ।
२३ वैशाखमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको थियो । वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी पार्टी र राजपा नेपालले एकीकरण गर्ने विषयमा सहमत भएका छन् । एकीकरण अघि सिद्धान्त, विचारलगायतका विषयमा छलफल गर्न दुवै पार्टीका शीर्ष नेता जुटेका छन् ।
समाजवादी पार्टीका महासचिव एवं वार्ता टोलीका सदस्य रामसहाय यादवले नयाँ शक्ति र फोरम नेपालबीच एकीकरणसँगै राजपासँग पनि एकीकरण गरी वैकल्पिक शक्ति निर्माण गर्ने बताए । समाजवादी पार्टीले सिद्धान्त र विचार मिल्ने पार्टीसँग एकीकरण गर्दै मुलुकमा वैकल्पिक शक्ति निर्माण गर्दै समृद्ध नेपाल निर्माण गर्ने उनले बताए ।
‘हामीले बार्ता टोली गठन गरिसकेका छौं, वैकल्पिक शक्ति निर्माण र मुलुकको आर्थिक समृद्धिका लागि एकता आवश्यक छ’ महासचिव यादवले भने, ‘अनौपचारिक रूपमा छलफल भइरहेको छ, छिटै नै औपचारिक रूपमा पनि छलफल सुरु गर्दै टुंगोमा पुग्नेछौं ।’
दुवै पार्टीका शीर्ष नेताबीच भएको अहिलेसम्मको छलफल सकारात्मक रहेको उनले बताए । पछिल्लो समय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपाल अध्यक्ष मण्डलका पूर्वसंयोजक राजेन्द्र महतोबीच गोप्य छलफल सुरु भएको छ ।
प्रतिक्रिया