देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब देशले कुनै पनि आन्दोलन थेग्न सक्दैन : पूर्वराष्ट्रपति यादव

देशान्तर

पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देही शाखाद्वारा बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब देशले कुनै पनि आन्दोलन थेग्न नसक्ने भएकाले शान्तीपूर्ण बाटोबाट समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।

लामो सङ्घर्षबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरी समृद्धि हासिल गर्नतर्फ सबै लाग्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा राख्नुभयो । उहाँले सङ्घीयतामार्फत देशले तीन तहको सरकार प्राप्त गरेकाले जनताका आवश्यकता पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रकृयाबाट हल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मुलुकमा लोकतन्त्र स्थापना गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेकाले लोकतन्त्रको पहरेदार बनेर यसको रक्षा गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । “पत्रकारहरुलाई नै देशको विषयमा बढी जानकारी छ । के सही के गलत छुट्टयाएर खबरदारी गर्नुपर्छ”, उहाँले भन्नुभयो । अझैपनि मुलुकमा स्थायी शान्ती कायम नभएका कारण सबै सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो । सत्य निरुपण र वेपत्ता अयोगलाई सक्रिय बनाई राष्ट्रिय स्तरबाटै समस्याको हल खोजिनुपर्ने पूर्वराष्ट्रपति यादवले बताउनुभयो ।

“पहाड र मधेशलाई जोड्ने गरी काम गर्नुपर्छ । यहाँ कसैले शोषण गरेको छैन । राजनीतिक शोषण भएको हो”, उहाँले भन्नुभयो, “संविधान निर्माणसँगै अहिले मुलुकमा परिवर्तन आएको छ ।” पूर्वराष्ट्रपति यादवले पहाड र तराईमा ताल तलैया धेरै भएकाले यसको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पर्यावरणको उचित संरक्षण नभए भविष्यमा सङ्कट उत्पन्न हुने भएकाले समयमै सचेत हुनुपर्ने उहाँको भनाइ थियो । पाल्पामा आयोजना गरिएको दलित पत्रकारहरुको भेलामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पूर्वराष्ट्रपति यादव आज रुपन्देही आउनुभएको हो ।