देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा महाधिवेशनको माग चर्किदै

देशान्तर

काठमाडौँ ।  तेह्रौं महाधिवेशनपछि कांग्रेसभित्र वैचारिक समूहका रूपमा स्थापित नेता कृष्णप्रसाद सिटौला समूहले तत्काल पार्टीको १४औं महाधिवेशन माग गरेको छ । काठमान्डौमा सोमबार जीपी कोइराला अध्ययन केन्द्रले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तीका अवसरमा गरेको कार्यक्रममा सिटौला समूहका नेताहरूले तत्काल पार्टीको १४औं महाधिवेशनको माग गरेका हुन् ।

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले पार्टीको संगठन नै नभएका कारण पार्टीको साख गिर्दो अवस्थामा पुगेको बताउँदै तत्काल महाधिवेशन नभए पार्टीका लागि मात्रै होइन देशका लागि समेत खतरा रहेको बताए ।
उनले भने, ‘भर्खरै पार्टीको जागरण अभियान त भयो, बिनासंगठनको यात्रामा जागरण गरेर आइयो, अब पनि पार्टीको संगठन बनेन भने कांग्रेसका लागि मात्रै होइन, देशका लागि पनि घाटा छ ।’
नेता सिटौलाले सरकार गलत बाटोमा र कांग्रेस थाकेको बाटोमा हिँड्दा देशको राजनीति पुनः दुर्घटनातर्फ उन्मुख भइरहेको जनाए ।
‘सरकार गलत बाटोमा हिँड्छ, प्रतिपक्ष गलत भयो भनेर दह्रो बोल्न सक्दैन, कांग्रेस पनि थाकेको जस्तो भइरहेको छ, सरकार गलत ट्र्याकमा हिँड्दा र कांग्रेस थाक्दा देशको राजनीति दुर्घटनातर्फ उन्मुख भइरहेको छ,’ सिटौलाले थपे ।
उनले स्वर्गीय गिरिजाप्रसादको दूरदृष्टिकै कारण नेपालको शान्ति प्रक्रिया अघि बढेको र नेपालमा गणतन्त्रको झन्डा फहराएको समेत बताए ।