काठमाडौँ । गायिका आनी छोइङ डोल्माको सम्पती स्रोत नखुलेको भन्दै उनको रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएपछि यसलाई रोक्न प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको छ ।
फूलको आँखामा फूलै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् ।
विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छन् । अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले पछि आउन खोजेको १८ करोडभन्दा बढी रुपैयाँ भने राष्ट्र बैंकले रोकिदिएको जनाएका छन ।
आनीको बैंक खातामा तीनपटक आएको रकम मात्रै रोक्का भएको हो । रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी छन् । पहिल्यै भित्र्याइसकेको रकममाथि समेत अनुसन्धान हुने राष्ट्र बैंक तथा विभाग स्रोतले जनाएको छ ।
विदेशबाट नेपाल रकम भित्र्याउँदा अनुमति लिनुपर्ने निकायलाई जानकारी नदिई आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको देखिन्छ । २०७५ वैशाख २७ गतेपछि आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा आएको सबै रकम राष्ट्र बैंकले रोक्का गरी अनुसन्धान अघि बढाएको हो ।
हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८० रुपैयाँ) जम्मा गरेका थिए । त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८० रुपैयाँ) जम्मा गरे ।
फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० अर्थात् ५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ जम्मा भयो । अनुमति नलिई विदेशबाट भटाभट रकम आउन थालेपछि आनीको खाता रहेको मेगा बैंकले स्रोत खुलाउन भन्यो ।
आनीले स्रोत खुलाउन नसकेपछि मेगाले राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्ने निकाय वित्तीय जानकारी एकाइलाई खाता विवरण पठायो । ‘राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले केही अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।
ती अधिकारीले दिएको जानकारीका आधारमा उनीमाथि अनुसन्धान सुरु भएको हो । तर दबाबका कारण एक वर्षसम्म पनि विस्तृत अनुसन्धान प्रभावकारीरूपमा अघि बढ्न सकिरहेको छैन । विभागले एकपटक आनीसँग बयानसमेत लिइसकेको स्रोतको दाबी छ ।
करिब ६ महिना अघिबाट अनुसन्धान सुरु गरेपछि त्यसलाई थाती राखी बैंकमा रोक्का रहेको रकम खुला गरिदिन प्रधानमन्त्री सचिवालयले दबाब दिइरहेको छ ।
अनुसन्धान अधिकृतहरूले अनुसन्धान थाती राखे पनि रोक्का रकम खोल्न नमिल्ने जनाएकै कारण तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौलाको सरुवा भएको थियो । सिटौला हाल प्रदेश १ को अर्थ मन्त्रालयमा सचिव छन् ।
सिन्डिकेटको विपक्षमा यातायात व्यवस्था विभागमा काम गरेका रूपनारायण भट्टराई हाल विभागको महानिर्देशक छन । उनीमाथि पनि आनीबारे अनुसन्धान नगर्न र रोक्का रकम खुला गर्नुपर्ने व्यहोराको पत्राचार राष्ट्र बैंकलाई गरिदिन दबाब रहेको स्रोतको दाबी छ ।
सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान सुरु गरिसकेपछि ठोस निष्कर्ष नपुगेसम्म स्थगित गर्न र रोक्का रहेको रकम खुलाउन नमिल्ने जानकारी प्रधानमन्त्री कार्यालयलाई अनुसन्धान अधिकृतले गराइसकेका छन् ।
प्रधानमन्त्री ओलीले तुइन विस्थापनको कार्यक्रम घोषणा गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारित हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा उपस्थित भई आनीले एक करोड रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् ।
त्यसपछि प्रधानमन्त्री ओली र सचिवालयसँग आनी नजिक छिन् । बौद्ध भिक्षुणी आनीले सन् २००० देखि आनीहरूका लागि काठमाडौंको फर्पिङमा आर्यतारा विद्यालय सञ्चालन गर्दै आएकी छन् । उनले आफ्नो कमाइ र सहयोगबाट विद्यालय सञ्चालन गरेको जनाइएको छ ।
तिब्बती शरणार्थी परिवारकी सदस्य आनी १३ वर्षको उमेरदेखि काठमाडौंको शिवपुरीस्थित नागी गुम्बामा बस्दै आएकी थिइन् । गायिका र आध्यात्मिक ज्ञान प्रचारकका रूपमा चिनिन थालेपछि उनी हङकङ, भुटानलगायत विभिन्न देशमा धेरै समय बिताउन थालेकी छन् । हाल भुटानमा रहेकी उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहिनन् ।
प्रतिक्रिया