देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किन हुन्छन ? प्रधानमन्त्री ओलीका भविष्यवाणी सधैं फेल

देशान्तर

काठमाडौँ । हालै नेपाल प्रहरीले एकजना ज्योतिषीलाई पक्राउ ग¥यो । नेपालमा ठूलो भूकम्प जाने भविष्यवाणी गरेर त्रास फैलाएको आरोप ती ज्योतिषीलाई लगाइएको थियो । जनतामा भय बढाउने ज्योतिषी पक्राउ पर्नुलाई धेरैले सकारात्मक रूपमा लिएका छन् । कतिपयले भने वर्षौंदेखि राजनीतिक भविष्यवाणी र झूटको खेती गरेकाहरूलाई कहिले कारबाही हुन्छ ? भनी प्रश्न गरेका छन् ।

नेपाली राजनीतिमा अहिले सबैभन्दा ठूलो ज्योतिषी कोही छ भने केपी शर्मा ओली नै छन् । प्रधानमन्त्री पदमा भए पनि मञ्च पाउनासाथ उनी अनेकथरी भविष्यवाणी गर्छन् ।

उनका अधिकांश भविष्यवाणी गलत सावित भएका छन् र त्यसबाट जनता ठगिएका छन् । तर ओलीलाई हालसम्म कारबाही भएको छैन । जनता झुक्याउने सबै ज्योतिषी पक्राउ पर्नुपर्छ भन्ने आवाज सामाजिक सञ्जालमा व्यापक छ ।

अघिल्लो नै प्रधानमन्त्री ओलीले भविष्यवाणी गरेका थिए, २०७५ साल पुस १७ गते पानीजहाज चढ्न पाइन्छ । त्यसका लागि टिकट लिइराख्न पनि ओलीले आग्रह गरे । तर ओलीले भनेजस्तो पानीजहाज आउन सकेन ।

प्रधानमन्त्री भएलगत्तै दसैंमा मेलम्चीको पानी घरघरमा पुग्छ भनी प्रधानमन्त्री ओलीले भविष्यवाणी गरे । उनको भविष्यवाणी यत्ति झुर भयो कि मेलम्ची आउनु त परको कुरा काम गरिरहेको ठेकेदार नै कुलेलम ठोक्यो । अहिले मेलम्ची अलपत्र परेको छ ।

पहिलोपटक प्रधानमन्त्री बन्नासाथ ओलीले भाविष्यवाणी गरे ‘दुई वर्षभित्रमा कतै तुइन देखिँदैन’ तर चार वर्षपछि पनि अधिकांश स्थान तुइनमुक्त भइसकेका छैनन् । त्यसो त पहिलो पटक प्रधानमन्त्री भएर देशवासीको नाममा सम्बोधन गर्दा नै ओलीले ज्योतिषशास्त्रप्रति आफ्नो अगाध आस्था प्रकट गरेका थिए ।

सो क्रममा उनले ज्योतिषीहरूले वर्ष २०७३ मा सबै राम्रो हुन्छ भनेको कुरालाई आफ्नो सम्बोधनमा उल्लेख गरे । तर राजनीतिक रूपमा ओलीका लागि नै वर्ष २०७३ अफाप सावित भयो । यही वर्ष उनीमाथि अविश्वासको प्रस्ताव प¥यो र तत्कालीन एमाले र माओवादी गठबन्धन फुट्यो ।

माथि उल्लेखित केही उदाहरण मात्रै हुन् । जनताका हरेक चाहनालाई ठट्टा झैं गरेर भविष्यवाणी गर्दै आएका छन् प्रधानमन्त्री ओलीले । कहिले घरघरमा ग्यास त कहिले ‘सुलुलु कुद्ने रेल’ ओलीका गफ नै भविष्यवाणी बनिरहेका छन् ।

ती भविष्यवाणी हरेक पटक फेल भएका छन् । प्रधानमन्त्री ओली नै भविष्यवाणी गर्दै हिँड्ने अनि कुनै पनि भविष्यवाणी सफल नहुने ज्योतिषी झैं बनेका छन् ।

दुई तिहाइको बहुमतसहितका प्रधानमन्त्री भएका कारण प्रधानमन्त्री ओलीले चाहेका कुरा पूरा नहोलान् भन्ने छैन । इच्छाशक्ति हुने र प्रयास गर्ने हो भने ओली योजना सफल पनि हुन सक्थे ।

तर जनतालाई फगत केहीबेर अल्मल्याउने उद्देश्य राखेर बोल्ने गरेका कारण ओलीका घोषणाहरू कार्यान्वयन नभएका हुन् । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारे पनि ओलीको कार्यशैलीले लक्ष्य हासिल हुने अवस्था छैन ।

जहाँ गयो त्यही आश्वासन र घोषणा गर्ने, यथार्थभन्दा कल्पनामा रमाउने तथा कार्यान्वयन गर्ने क्षमता बढाउन नसकेका कारण ओली दिनप्रतिदिन आलोचित बन्दै गइरहेका छन् । तर शास्त्र नजानेको ज्योतिषी झैं जनतालाई अनेक भविष्यवाणी सुनाएका ओलीलाई कसले कारबाही गर्ने ?