देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाका दुइ अध्यक्षको बिबाद सत्ता परिवर्तनमा केन्द्रित

देशान्तर

केदार भट्टराई । नेपालको राजनीति अहिले नेकपाभित्रको आन्तरिक विवादले तताएको छ । पार्टी एकीकरण भएको एक वर्ष २६ दिन बित्दा पार्टीका दुई अध्यक्षबीचको विवादले उग्ररूप लिएपछि सत्ता बचाउने र सत्ता परिवर्तन गर्ने खेलमा लागेको विषय राजनीतिक विश्लेषकहरूका लागि गतिलो मसला नै बनेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन गएका नेकपाका कार्यकारी अध्यक्ष एवं प्रधानमन्त्री भारतमै भएको समयमा पार्टीका अर्का अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममै सरकारको नेतृत्व आलोपालो गर्ने मौखिक सहमति भएको छ ओलीले यो विषयमा धोका दिए परिणाम राम्रो नआउने बताएका थिए ।

सत्ता समीकरणको विषय पार्टी एकता नहुँदै पनि दुवै अध्यक्षले सार्वजनिक कार्यक्रममै प्रतिबद्धता जनाएका थिए । तर, यही सहमति अहिले आएर नेकपाको गलपासो बनेको छ । सत्ता समीकरणको विषयले नै अहिले नेकपाको अरू कमिटीभन्दा बढी बस्ने सचिवालयको बैठक समेत प्रभावित हुँदै आएको छ ।

यो घटनापछि राजनीतिक विश्लेषकहरूले यो खेलले नेपालमा फेरि मध्यावधि निर्वाचनको संकेत गरेको बताएका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीका अनुसार अहिलेको सरकारले कम्युनिजमतर्फ देशलाई लान खोजेको तर, कम्युनिजमका विषयमा दुई अध्यक्षबीच सहमति नजुटेपछि पाए सहमतिमा र नपाए विद्रोह गरी अरूसँगको समीकरणमा पनि दाहालको प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेको बताए ।

माओवादीसँग नजिक भएर लामो समय द्वन्द्वलाई साथ दिएका वाम राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ भने केसीको भन्दा फरक छ । उनले गत वर्ष अध्यक्ष दाहालले गरेको भारत भ्रमणको प्रसँग उठाउँदै यो भनाइ दाहालको नभएर दक्षिण र पश्चिमबाट आएको बताए ।

दाहाल हक्की लामो समयसम्म द्वन्द्वरत पार्टीको अध्यक्ष भएको हिसाबले पनि पार्टी एकीकरणमा भाग खोज्नु उनको अधिकार हो भने उनी कसैसँग दबिएर नबस्ने नेता भएकाले पनि कम्युनिस्ट सरकार नरुचाउने विदेशी राष्ट्रहरूले ओलीलाई हटाएर दाहाललाई सरकारको नेतृत्वमा ल्याउन चाहेको बताए । दाहालले प्रधानमन्त्री वा पार्टीको एकल अध्यक्षमा दाबी गरेपछि अहिले नेकपामा अर्को आन्तरिक समीकरण सुरु भएको छ ।

प्रदेश र जिल्ला इन्चार्जदेखि केन्द्रीय कमिटीको कार्य विभाजनमा अहिले दाहाललाई पछि पार्ने खेल सुरु भएको छ । नेकपाका महत्वपूर्ण विभागहरूमा पनि ओली पक्षको पकड रहने कि दाहालको भन्ने विषय पछिल्लो समयमा परिवर्तन हँुदै वरिष्ठ नेता दाहालभन्दा अगाडि आएका छन् । अहिलेको सबै कार्य विभाजनको काम नेपाल पक्षबाट रोकिएको छ ।

अध्यक्ष ओलीको मनशाय राम्रो नदेखिएपछि अहिले नेकपाका प्रभावशाली नेताहरू झलनाथ खनाल, वामदेव गौतमदेखि पूर्व महासचिव ईश्वर पोखरेलसमेत नेपालको पक्षमा गएका छन् । पूर्वमाओबादी पक्ष पनि ओली इतर देखिएको छ । पार्टीमा अध्यक्ष र प्रधानमन्त्रीको पदमा रहँदा रहँदै पनि ओलीपक्ष अल्पमतमा परेपछि अहिले पार्टीका संगठनलाई विस्तार गर्ने भन्दा पनि अहिलेको सत्ता नेकपाबाटै कसरी बचाउने भन्ने खेलमा ओली लागेका छन् ।

अल्पमतकै कारण कुनै पनि विषयमा निर्णय नगराई उनी शनिबार नै युरोप भ्रमणमा गएका छन् । पार्टीभित्रको माओवादी पक्ष भने अध्यक्ष दाहाललाई नमुनामात्र बनाएकाले अब चुप लागेर बस्ने सक्ने अवस्था नभएको निष्कर्षमा पुगेका छन् । नेकपा नेता हरिबोल गजुरेलका अनुसार पार्टीमा अध्यक्ष समान हैसियतको हुनुपर्ने तर, नभएको र अहिलेसम्म अध्यक्ष ओलीले दाहाललाई एकपटक पनि पार्टी अध्यक्षले गर्नुपर्ने जिम्मेवारी कुनै पनि दिएका छैनन् र दाहाल अध्यक्ष भएपछि एक पटक पनि पार्टीको बैठकको अध्यक्षता गरेका छैनन् ।

सत्ता समीकरणको खेल पनि यहीबाट सुरु भएको छ । अहिले नेकपाको माओवादी पक्ष एक पद एक व्यक्तिका पक्षमा छ । ओली प्रधानमन्त्री भए पार्टीको अध्यक्ष दाहाल हुनुपर्ने र ओली अध्यक्ष भए दाहाल प्रधानमन्त्री हुनुपर्ने माओवादी पक्षको अडान छ । यी दुई विषयमा सहमति नभए आफ्नो पक्षमा भएका सांसद र नेताहरूलाई निकालेर कांग्रेसलगायतका दलसँगको समीकरणमा जाने दाहाल पक्षको तयारी छ ।

तर, दाहालले यसो गरेमा पनि प्रधानमन्त्री ओलीले सहजै सत्ता हस्तान्तरण नगर्ने बरु मध्यावधिमा जाने भन्ने अर्काे पक्ष रहेको छ । तर, नेकपाको विवादपछि महत्वपूर्ण भूमिकामा रहेको नेपाली कांग्रेसले भने नेकपाको आन्तरिक विवादमा कुनै हस्तक्षेप नगर्ने सत्ता परिवर्तनको फोहोरी खेलमा पनि नलाग्ने जनाएको छ ।

कांग्रेस नेताहरूले यो विवादका कारण हुने सत्ता परिवर्तन वा मध्यावधिमा जानुभन्दा यही सरकारलाई पाँच वर्षसम्म लानुपर्ने बताएका छन् । यद्यपि यो खेलमा विदेशीहरूको समेत हात रहेको हुनाले भोलि नसोचेको घटना पनि नहोला भन्न नसकिने विश्लेषकहरू बताउँछन् । दाहाल र ओलीको विवादमा नेता नेपाल अगाडि आएकाले अहिले नेकपाभित्र उनकै रोल महत्वपर्ण देखिएको छ । अध्यक्ष ओली र दाहालका बीचमा देखिएको विवादको फाइदा अहिले वरिष्ठ नेता माधवकुमार नेपालतिर सरेको छ ।

विवाद सरेपछि अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यको कार्य विभाजन मिलाउन मध्यमार्गी प्रस्ताव बैठकमा राखेका छन् । उनको मध्यमार्गी प्रस्ताव कस्तो छ भन्ने विषयमा अहिलेसम्म जानकारी गराइएको छैन । कार्य विभाजनमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले आआफ्नो अडान नछाडेपछि दाहालले विकल्पका रूपमा मध्यमार्गी प्रस्ताव ल्याएका हुन् । तर, अहिले दाहाललाई नेकपामा साख जोगाउनै गाह्रो भएको छ ।