काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सेथु फुटलब क्लबले इन्डियन वुमन्स लिगको उपाधि हात पारेको छ।
बुधबार भारतमा सम्पन्न प्रतियोगितामा सावित्रा आवद्ध सेथुले मणिपुरविरुद्ध ३–१ को जित निकालेको हो। जहाँ सावित्राले सेथुका लागि २ गोल गरिन्।
खेलको ४३ औं मिनेटमा राधारानी देवीको गोलबाट मणिपुरले सेथुविरुद्ध सुरुवाती गोलको अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि रहेको सेथुले दोस्रो हाफमा ३ गोल लगातार हानेको हो।
खेलको ५६ औं मिनेटमा सेथुका लागि सावित्राले मिलाएको पासमा इन्दुमथीले गोलका लागि प्रहार गरेकी थिइन्। सो बल मणिपुरकी उपमति देवीलाई लाग्दै आत्मघाती गोल भएको थियो।
खेल १–१ को बराबरीमा पुगेको थियो। खेल बराबरीमा फर्किएको ५ मिनेटपछि सावित्राले सेथुका लागि दोस्रो गोल गरिन्। पेनाल्टी एरियाबाट प्रहार भएको बल गोलमा परिणत भएको थियो। खेल २–१ को अग्रतामा पुग्यो।
त्यसपछि खेलको ७० औं मिनेटमा सावित्राले नै आकर्षक गोल गर्न सफल भइन्।
अन्ततः दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल सेथुले ३–१ कै अग्रतामा जित्यो। इन्डियन वुमन्स लिगको उपाधि हात पार्यो।
प्रतिक्रिया