देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युग पुरुषको जीवन सूत्र : न माग न गुनासो

देशान्तर

शताब्दी पुरुष आदरणीय सत्यमोहन जोशीले आफ्नो १००औं जन्मदिनमा दिनुभएको पहिलो सन्देश हो जीवनलाई कसरी दीर्घायु बनाउन सकिन्छ । वास्तवमा नै उहाँको जीवन लोभलाग्दो छ, सय वर्ष पुगेको सन्दर्भले मात्र होइन यो जीवन कति सक्रियतायुक्त रह्यो भन्नेबाट र भोलि पनि उहाँको यत्तिकै लोभलाग्दो क्रियाशीलता हुनेछ बाचुञ्जेल भन्ने आधारहरू खडा भएका छन् । त्यसकारण पनि दीर्घायुबाट आशीर्वाद भन्दा पनि उहाँले भोगेको जीवन सबैका लागि, सधैंका लागि अनुकरणीय नै हो प्रत्यक्ष रूपमा नै, सिक्नुपर्ने कुरा त्यही हो । उहाँ सय वर्ष पुग्नु भएको दिन वैशाख ३० गते ललितपुर महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले सबैलाई दिनुभएको पहिलो सन्देश नै जीवन कसरी जिउने भन्ने नै रह्यो । अर्थात् उहाँले पहिले जीवनलाई कसरी दीर्घायु बनाउन रोज्नुभयो र त्यसपछिमात्र त्यसका सुखद उपलब्धिहरूको उपभोग गर्न । त्यसकारण सत्यमोहनको सय वर्षको सन्देश नै जीवन बन्यो । यो सन्देश सबै उमेरका लागि थियो । त्यसकारण पनि उहाँका यी सूत्रलाई सबैले आत्मसात् गरेका हुनुपर्छ ।

त्यस दिन उहाँले सुनाउनु भएका दीर्घ जीवनका सत्यसूत्र यस्ता थिए– ‘सकारात्मक सोच, संस्कारी हुनु पनि दीर्घायुको कारण हो । यसले जीवनमा रस भरिदिन्छ । बूढो हुनु वरदान हो, कहिले यो भएन त्यो भएन भनेर गुनासो भएन । म को हुँ, म यहाँ किन आएँ, मरेपछि के हुन्छ भनेर चिन्तन गर्ने, मृत्युसँग नडराउने । मैले ढिलासम्म आमाको दूध खाएँ, आमाको दूधले पनि लामो आयु भएको हो । चिन्ता नलिने ।’

हाम्रो पुस्ताले थाहा पाएअनुसार यी शताव्दी पुरुषले कहिल्यै पनि र कोहीसँग पनि केही माग्नु भएन, त्यो आफ्नो परिवार, आफ्नो समाज र आफ्नो राज्य जोसँग होस् । ‘कहिले यो भएन त्यो भएन भनेर गुनासो भएन ।’ शताब्दी पुगेको दिन उहाँले कुनै माग र गुनासो नभएको बारे जस्तो सन्देश दिनुभयो त्यो आफैंमा एउटा मन्त्र हो आजको पुस्ताका हाम्रा लागि जो यत्तिकै दीर्घ र सफल जीवन भोग गर्न चाहन्छौं । भगवान् श्रीकृष्णले गीतामा अर्जुनतर्फ लक्ष्य गर्दै ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्नु भएको छ । यी एक युगका प्रत्यक्ष साक्षी पुरुषको जीवनमा भगवत गीताको यो बाणी हुबहु प्रयोग र उपभोग हुन पायो । कुनै पनि मागले गुनासो जन्माउँछ र गुनासोले अप्राप्तिको बोध गराउँछ । त्यो मनको अप्राप्तिको भारी यति गह्रौं हुन्छ जसले जवानीमा नै शरीरलाई वृद्ध बनाइदिन्छ । आदरणीय गुरुवर्गज्यूहरूबाट यो कुरालाई सधैं सम्झाई रहनु भएको पाइन्छ तर त्यसलाई जीवनमा कसरी उतार्ने भन्ने चाहिँ हरेकमा निर्भर पर्छ । गौरवमय जीवनका मालिक यी कर्मवीरले यसलाई आफ्नो जीवनमा उतार्नु भयो र सय वर्ष मनाउँदाको दिनमा पनि उहाँ अर्को सय वर्ष पुग्नुहुन्छ कि जस्तो देखायो उहाँको शरीरले । अहिलेसम्म उहाँलाई लौरो चाहिएको छैन, चस्मा चाहिएको छैन र दाँत झन् बलिया छन् । समग्रमा भन्नुपर्दा सय वर्ष मनाइएको यो दिनसम्म उहाँको शरीरमा बुढ्यौली प्रवेशको संकेतसम्म प्राप्त भएको छैन । यो कसरी सम्भव भयो ? यो हो शरीरलाई कसरी आफ्नो नियन्त्रणमा राख्ने भन्ने उहाँबाट सबैले अनुकरण गर्नुपर्ने पक्ष । त्यसैकारण उहाँलाई शताब्दीका साक्षी सत्यमोहन भनिएको ।

‘अल्छी लाग्दा ढिलैसम्म सुत्ने र बिउँझिसकेर पनि ओछ्यानमै किताब पढ्ने बानी भएका शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार भने अलि चाँडै उठ्नुप¥यो । उमेरले शताब्दी चुम्ने दिन भएकाले उनले आँखा खुलेपछि केही बेर ओछ्यानमै रहेर जीवनबारे चिन्तन गरे । आफू ओछ्यानमा हुँदै शुभकामना दिन आउनेहरूको भीड लागिसकेका कारण उनले अरू दिनको तुलनामा चाँडै उठ्नु परेको थियो । यसकारण आफ्नो जन्मोत्सव मनाउने ऐतिहासिक दिनको आरम्भ उनका लागि पहिलाभन्दा पृथक् बन्न पुग्यो । बिहान ६ बजेतिर सत्यमोहनको घरअगाडि आँगनमा उनीसहितका बूढापाकाले ‘नाम संंगीति भजन’ पाठ वाचन गरे । त्यसपछि उनले पाहुनाले सगुनका रूपमा ल्याइदिएका कोसेलीसँगै चिया पिए ।

त्यति बेलासम्म बिहानको ६ः३० बजिसकेको थियो । घरबाहिर उनलाई शुभकामना दिन आउने स्थानीय, आफन्तजन र अन्य शुभचिन्तकको भीड बढ्दै थियो । उपस्थित हुनेहरूले उनलाई पालैपालो शुभकामना दिँदै गए । करिब ८ बजेतिर राष्ट्रपति कार्यालयबाट आएका प्रेस सल्लाहकार माधव शर्मा र शिव भट्टराईले राष्ट्रपतिले पठाएको शुभकामना सन्देश पढेर सुनाए । ९ बज्दासम्म उनलाई शुभकामना दिन आउनेको लस्कर घटेको थिएन । त्यहीबीचमा मेसो मिलाएर उनले घरको दलानमा बसेर सदाझैं दाल, भात, तरकारी, दूध आदि भोजनका रूपमा लिए । भोजन गर्ने समयका सन्दर्भमा उनी चुस्त छन् । जस्तोसुकै काम छुटाएर पनि उनी सो समय तलमाथि हुन दिँदैनन् ।’

सक्रिय, स्वथ्य दीर्घ जीवनको रहस्यको एउटा सूत्र यो उद्धरणमा परेको शताब्दी प्रवेश दिनको समाचारको यो अंशले पनि बताउँछ । उहाँलाई शुभकामना दिनेहरूको भीड लागिरहेको थियो तर उहाँ चाहिँ भोजनतिर लाग्नु भयो । त्यो एक दिन केही घण्टा ढिलो खाए पनि हुन्थ्यो होला अथवा भोक मेट्ने कुनै अरू कुरा पनि थिए होलान्, त्यसै पनि एक क्षणपछि महानगर परिक्रमाका लागि रथारोहण हुँदै थियो तर ठीक समयमा ठीक खाना– दाल, भात र तरकारी खाएरमात्र उहाँ घरबाट निस्कनु भयो । भोजन समयमा भएन भने शरीर स्वस्थ्य रहँदैन, शरीर स्वस्थ्य नभै दीर्घ जीवन हँुदैैन, त्यस्तो बेला क्रियाशीलताको त कुरै भएन । त्यसपछि औपचारिकताका कार्यक्रम सुरु भएको थियो त्यसदिन । त्यसको एउटा विवरण–

‘त्यसपछि ललितपुर महानगरपालिकाद्वारा आयोजित नगरपरिक्रमा रहेकाले ११ः३० तिर उनलाई घरबाट हिँडाइयो । पाटन मंगलबजारसम्म उनी बिस्तारै हिँडेरै आए । त्यहाँसम्म आइपुग्दा उनलाई शुभकामना दिन बाटाका दुई छेउमा उभिनेहरू थुप्रै भेटिए । मंगलबजारदेखि नेपाली सेनाको बग्गीमा राखेर उनलाई लगनखेल, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा ल्याइयो । उनी त्यहाँ आयोजित कार्यक्रममा सहभागी भए । त्यहाँ पुगेको केही बेरमै उनको जन्मदिनको औपचारिक कार्यक्रम सुरु भयो ।’

यही कार्यक्रममा हो उहाँले दीर्घ स्वस्थ्य र सक्रिय जीवनका सूत्रहरू सुनाउनुु भएको जो युवादेखि वृद्धसम्मलाई मिल्ने यस्ता सुझाव– सूत्र कार्यक्रममा उपस्थित सबैले एकाग्र भई सुनिरहे । संकृतिपुरुषका रूपमा संस्कृतिका बारे उहाँको त्यस समारोहको भनाइको एउटा अंश– ‘यहाँ एउटै मात्र संस्कृति छैन । विभिन्न जाति–जनजातिका मातृभाषा छन् । उनीहरूका धर्म, रहनसहन, संस्कृति, बाजागाजा, जात्रा, भेषभूषा, रीतिथितिलगायत भिन्नभिन्न छन । यस्तो परिस्थितिले नेपाललाई विविधीकरण गरेको छ । संस्कृति राष्ट्रको गहना हो । यसले देशको समृद्धिमा उल्लेखनीय भूमिका खेलेको हुन्छ । भाषा, साहित्य, कला–संस्कृतिलाई माध्यम बनाएर देशको प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो ।’

हरेकका मान्यजनले आशीर्वाद दिँदाका शव्द हुने गर्छन्– चिरायु हुनु, रोगव्याधी नलागोस् । संस्कृतिविद् उहाँ जोशीका लागि यस्तो आशीर्वाद चरितार्थ भएको छ । उहाँ एक शताब्दीको साक्षीका रूपमा हुनुहुन्छ । अझै पनि उहाँ हिँडेर नजिकका कार्यक्रममा जान सक्नुहुन्छ । घन्टौं उभिएर स्पष्टरूपमा बोल्न सक्नुहुन्छ । खानपिन बार्नुपर्ने केही छैन, लेखन र अध्ययनमा पनि उत्तिकै सक्रिय । गजबको चिन्तन शक्ति । उहाँको सक्रिय जीवनबाट अरूलाई पनि सक्रिय जीवन बाँच्ने प्रेरणा मिल्छ । उहाँको नगर परिक्रमाका अवसरमा स्वस्फूर्तरूपमा हजारौं हजार व्यक्तिको उपस्थिति थियो । यो उपस्थितिले जोशीप्रति आममानिसको श्रद्धा र आस्था दर्शाउँछ । राजनीतिक पहुँच वा प्रभाव बेगर नै आफ्नो क्षमताका आधारमा समाज र राष्ट्रलाई पुर्याएको योगदानलाई सर्वसाधारणले हृदयदेखि नै कति श्रद्धाभाव राख्छन् भनेर शताब्दी पुरुष जोशीको नगर परिक्रमाका अवसरमा उपस्थित भीडले प्रस्ट पार्यो ।

उहाँको जीवनवृत्तान्तकाबारे धेरै पटक धेरै ठाउँमा उल्लेख भइसकेका छन् । त्यसका संक्षिप्त एल्लेख गरिँदा पछिल्लो समय उहाँको सिफारिसअनुसारको राष्ट्रगान बजिरहेको छ देशमा । उहाँ तीन पटकसम्म मदन पुरस्कार पाउने एकमात्र व्यक्ति हुनुहुन्छ । उहाँले आजभन्दा ६३ वर्षअघि वि.सं. २०१३ मा पहिलोपटक ‘हाम्रो लोक–संस्कृति’ कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो । ‘नेपाली राष्ट्रिय मुद्राका लागि वि.सं. २०१७ तथा ‘कर्णाली लोक–संस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्तरूपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो । वि.सं. २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बन्नुभयो । उहाँले २०१६ सालमा पाँचौं शताब्दीदेखि बीसौं शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गर्नुभयो । नेपाल सरकारले चार वर्षअघि उहाँलाई वाङ्मय शताब्दी पुरुषको उपाधि दिएको थियो ।

शताब्दी पुरुषका रूपमा जोशीलाई गत वर्ष नै ललितपुर महानगरपालिकाले मासिक २५ हजार रूपैया भत्ता र एउटा सवारीसाधन उपलव्ध गराएको थियो । जीवित सम्पदा जोशीको जन्मदिनका अवसरमा ललितपुर महानगरपालिकाले सोमबार आफ्ना मातहतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दियो । राजा–महाराजा, रानी–महारानीबाहेक कुनै व्यक्ति जीवित रहेकै अवस्थामा जन्मदिनको अवसरमा सरकारी बिदा दिने परम्परा नेपालमा यसअघि सायद थिएन । सर्वसाधारणका छोराले यस्तो सम्मान पाएको नेपालको इतिहासमा सायद पहिलो नजिर हो । जोशी यो हदसम्मको सम्मान पाउन लायक पात्र पनि हुनुहुन्छ ।

ललितपुर महानगरसभाले संस्कृतविद् जोशीको सम्मानमा यो वर्षभरि नै विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । २०७६ वैशाख ३० गतेबाट कार्यक्रम सुरु गरी एक वर्षसम्म अर्थात् २०७७ वैशाख ३० गतेसम्म उत्सव मनाइनेछ जसमा विभिन्न २० वटा कार्यक्रमका साथ जो यसैदिन सार्वजनिक भइसकेको छ । बाबु शंकरदास जोशी र आमा राजकुमारीको कोखबाट बखुम्बहाल, ललितपुरमा जन्मेका जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उहाँका करिब ५० वटा अनुसन्धानात्मक कृति प्रकाशित भइसकेका छन् । जसरी मोतीराम भट्ट नजन्मेको भए भानुभक्त आचार्यको योगदान इतिहासको गर्भमा विलिन हुन्थ्यो, त्यसरी नै सत्यमोहन नभएको भए कलाकार अरनिकोको तथा भृकुटीको योगदान विलिन हुन्थ्यो । नेपालको संस्कृतिका लुकेका गौरवशाली तथ्यहरूलाई उजागर गर्ने काममा जोशीको योगदान धेरै नै महत्वपूर्ण छ । यस्ता पात्रलाई सोअनुसारको सम्मान दिएर ललितपुर महानगरपालिकाले गरेको यो काम स्तुत्य छ । मुलुकका अन्य पालिकाहरूले पनि ललितपुरबाट पाठ सिक्नुपर्छ । आफ्नो क्षेत्रका सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नुपर्छ । ललितपुर महानगरपालिकाले यो निर्णय गरेको भोलिपल्ट नुवाकोटको एउटा पालिकाले आफ्नो क्षेत्रकी एक सय १७ वर्षीय आमाको सम्मान ग¥यो । पालिकाको कोषबाट मासिक १० हजार रुपैयाँ भत्ता दिने निर्णय ग¥यो । एक सय १७ वर्षको उमेर पुगेकी ती आमा सायद विश्वकै सबैभन्दा बढी उमेरकी महिला होलिन् तर अहिलेसम्म गुमनाम थिइन् ।
(महर्जन, ज्यापु समाज ललितपुरका अध्यक्ष हुन् )