काठमाडौँ । सरकारले संविधान विपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने तयारीबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारीबारे छलफल गर्न बैठक डाकेको हो ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता नलिए संसदमा प्रतिरोध गर्ने र त्यसको खाका बनाउन बैठक डाकिएको बताए ।
तीनवटै विधेयक संविधानका प्रस्ताव र भावनाविपरीत भएको भन्दै खाँडले यिनलाई फिर्ता लिएर संविधानअनुकूल बनाउन सरकारलाई आग्रह गर्ने र संविधानविपरीत प्रावधान राखेर बलजफ्ती लैजाने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने बताए ।
संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदीय दल बैठकले औपचारिक धारणा बनाउने बताउदै उनले मिडियाको स्वायत्तता र स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई आग्रह गरिसकेको बताए । यसअघि सभापति शेरबहादुर देउवाले पनि प्रस्तावित विधेयकलाई मिडियामाथि कु को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने बताएका थिए ।
मिडियामा जस्तै मानवअधिकार आयोगको स्वतन्त्रता र अधिकारलाई समेत खुम्च्याउन खोजेको कांग्रेसको आरोप छ । राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमार्फत सुरक्षा परिषदको भूमिकालाई निस्तेज पार्न खोजिएको कांग्रेसको आरोप छ ।
सुरक्षा परिषद् बैठकबिनै मन्त्रिपरिषदको निर्णयले सेना परिचालन गर्न सक्ने नयाँ प्रावधान विधेयकमा छ । संविधानअनुसार सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषदको निर्णयबाट सेना परिचालन हुन्छ । सुरक्षा परिषदको बैठक नबस्ने अवस्थामा मन्त्रिपरिषद् बैठक पनि बस्न सक्दैन, यो प्रावधान असंवैधानिक मात्रै छैन, सरकारको नियतमाथि समेत प्रश्न उठेको खाँणले बताए ।
प्रतिक्रिया