काठमाडौँ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सातै प्रदेशमा पदाधिकारीले प्रदेशको कमान्ड गर्ने बताएका छन ।
जसअनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा पुगेर सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यता प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदारले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रबक्ता शर्माले जानकारी दिए ।
गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का र प्रदेश ५ को रुपेन्देहीमा अर्का महामन्त्री शंशाक कोइरालाले सम्बोधन गर्ने भएका छन् । कर्णालीमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता शर्माले जानकारी दिए ।
भोलिबाट शुरु हुने प्रथम चरणको एक महिने जागरण अभियानको ७७ वटै जिल्लामा एकसाथ उद्घाटन हुनेछ । पार्टीको संगठन सुर्धान तथा सरकारको गलत क्रियाकलाप जनातामाझ लैजानका लागि नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तह सम्म पु¥याउने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरण अन्तर्गत एकमहिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ ।
दोस्रो चरणको अभियान भदौं २४ बाट असोज ७ गते सम्म चल्ने छ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म सञ्चालन हुनेछ ।
पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुने छ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान ७ सय ५३ गाउँ नगर केन्द्रित हुने काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया