काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा रहेका सांसदहरुलाई पहिलो चरण अन्तरगतको राष्ट्रिय जागरण अभियानका लागि प्रतिनिधि नखटाउने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर केन्द्रीय कार्यसमितिमा रहेका सांसदहरुलाई जागरण अभियानमा प्रतिनिधिका रुपमा नखटाउने जानकारी दिएका हुन् ।
‘‘केन्द्रीय समितिमा रहेका सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील राख्न जिल्लामा प्रतिनिधिका रुपमा पठाउने पूर्व निर्णय परिवर्तन गरिएको हो,’’ उनले भने, ‘‘यसअघि सांसदहरुलाई खटाइएका जिल्लाहरुमा पार्टीका सिनियर नेताहरुलाई खटाइएको छ ।’’ कांग्रेसले यसअघि वैशाख ६ गते नै पहिलो चरणको जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको थियो ।
कांग्रेसले वैशाख २५ गते उद्घाटन हुन गइरहेको राष्ट्रिय जागरण अभियानको पूर्वनिर्धारित मन्तव्यको कार्यतालिका संशोधन गरेको छ । पार्टीमा आवद्ध नेतृहरुले मन्तव्यमा महिला सहभागिता सुनिश्चित गर्न माग गरेपछि कांग्रेसले मन्तव्यको कार्यक्रम संशोधन गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा गरिएको व्यवस्था अनुसार कांग्रेसले महिला सहभागिता सुनिश्चित गर्न मन्तव्यको कार्यक्रम संशोधन गरिएको जानकारी दिए । उनका अनुसार ७७ जिल्लामा एकसाथ उद्घाटन हुने कार्यक्रममा स्वागत र विसर्जनबाहेक केवल तीन जनामात्रै वक्ता रहने छन् ।
‘‘हामीले जागरण अभियानबाट आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य गर्दै स्वागत र विसर्जन बाहेक केवल तीन वक्ताले मात्रै मन्तव्य राख्ने कार्यतालिका बनाएका छौं,’’ उनले भने, ‘‘जसअनुसार विषय प्रवेश, महिला वक्ताको मन्तव्य र प्रमुख अतिथिको मन्तव्य हुनेछ ।’’कांग्रेसले जागरण अभियानबाट नेताहरुलाई फूलका माला पहिराउने र ब्याच लगाउने परम्पराको पनि अन्त्य गर्ने घोषणा गरेको छ ।
‘‘यसअघि विभिन्न दलका नेताहरुलाई सानादेखि कयौं किलोसम्मका माला लगाउने प्रचलन देखिदैँ आएको थियो । अभियानबाट हामीले माला नलगाउने र ब्याच प्रयोग गर्ने परम्पराको अन्त्य गर्न लागेका छौं,’’ प्रवक्ता शर्माले भने, ‘‘हामीले खादा पनि नलगाउने भनेका थियौं तर केही समुदायको परम्परागत संस्कृति भएकाले त्यसलाई भने त्याग्न नसकिने देखिएको छ ।’’
कांग्रेसले नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान भनेर दाबी गरिरहेको जागरण अभियानको उद्घाटनका लागि पदाधिकारीहरु पनि खटाएको छ । जागरण अभियानको उद्घाटनका लागि कांग्रेसले १ नम्बर प्रदेशको सुनसरीमा उपसभापति विजयकुमार गच्छेदार, २ नम्बर प्रदेशको धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र ३ नम्बर प्रदेशको काठमाडौंमा सभापति शेरबहादुर देउवालाई खटाइएको जनाएको छ ।
यस्तै गण्डाकी प्रदेशको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, ५ नम्बर प्रदेशको रुपन्देहीमा महामन्त्री डा. शशांक कोइराला, कर्णाली प्रदेशको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदूरपश्चिम प्रदेशको धनगढीमा उपसभापति विलेन्द्र निधिले जागरण अभियानको उद्घाटन गर्ने भएका छन् ।
वैशाख २५ गते सुरू हुन गइरहेको कांग्रेसको जागरण अभियान जेठ २५ गतेसम्म चल्नेछ । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि स्थगित गरिएको थियो । कांग्रेसले बीपी जयन्तीको अवसर पारेर भदौ २४ बाट दोस्रो चरणको र पुष ७ गतेबाट तेस्रो चरणको जागरण अभियान सञ्चालन गरिने यसअघि नै बताइसकेको छ ।
कांग्रेसले जागरण अभियानका लागि १२ भाषामा जागरण गीत तयार पारेको छ । प्रवक्ता शर्माले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा जागरण गीत तयार पारिएको जानकारी दिए ।
प्रतिक्रिया