हाम्रो बाल्यकालमा ‘भ्यालेन्टाइन डे’ भन्ने हामीले सुनेका थिएनौं । किशोर र युवावस्थासम्म पनि मलाई ज्ञान थिएन । वीरगन्ज-काठमाडौंमा कसैले बताएन मलाई । यो दिन मनाउने कुरा थिएन मात्र होइन, १४ फेब्रुअरी आउथ्यो–जान्थ्यो, हामीलाई थाहै हुँदैनथ्यो । अब स्थिति फरक छ । १४ फेब्रुअरी भनेको ‘भ्यालेन्टाइन डे’ हो भन्ने बच्चाबच्चालाई थाहा छ । यस दिन समारोह पनि राम्रैसित मनाइन्छ, खासगरी युवा–वर्गले यसलाई अझै उत्साहसाथ मनाउँछन्, विश्वभरि नै । यो प्रेम दिवस वा प्रणय दिवस यहाँ मनाउन थालेदेखि, मसँग पनि कहिलेकाहीँ मिडियाले प्रश्न गर्छ, यसबारे मैले भन्ने गरेको छु, यो घृणा दिवस होइन, प्रेम दिवस नै हो, त्यसकारण यसप्रति सकारात्मक धारणा छ मेरो ।
प्रत्येक वर्ष यो ‘भ्यालेन्टाइन डे’ अर्थात् १४ फेब्रुअरी हाम्रो फागुनमा पर्छ । यही ‘भ्यालेन्टाइन डे’ सन् १९३३ मा जन्मेकी एउटी अभिनेत्रीबारे आज फेरि केही लेख्न चाहन्छु । तिनको नाउँ हो मधुवाला । नाउँ त उनको सबैले सुनेको पनि होला भन्ठान्छु । पुरानो पुस्ताले त फिल्म पनि हेरेको छ । नेपालमा उनका फिल्महरू निकै चल्दथे, सन् ५०-६० को दशकमा ।
हिन्दी फिल्मकी नायिकालाई भारतीय नायिकामध्ये सबैभन्दा राम्री मानिन्छ । यिनी अभिनयमा पनि ‘टप’ मै पर्थिन्, तर सबैभन्दा ‘टप’ थिइन्, रूपमा । भनिन्छ, यिनको सुटिङमा केवल यिनलाई हेर्न मात्र भनेर पनि ठूलो हुन जम्मा हुन्थ्यो ।
यिनको खास नाउँ मुमताज बेगम जहाँ देहलवी हो । दिल्लीमा जन्मेकी यिनी पिता आयातुल्ला खाँ बम्बई बसाइ सरेपछि, बम्बई आइन् । दिदी बहिनी धेरै, आर्थिक अवस्था कमजोर भएका कारण बाबुले यिनलाई फिल्ममा खेल्न लगाए । यिनको पहिलो फिल्म सन् १९४२ मा आएको फिल्म ‘वसन्त’ थियो जसमा उनले बालकलाकारका रूपमा काम गरिन् । त्यसपछि लगातार अन्य फिल्ममा पनि काम गरिन् । पहिलो फिल्म खेल्दा मधुवाला मात्र ९ वर्षकी थिइन् । त्यसबखत उनले बेबी मुमताजका नाउँले काम गरिन् । त्यसको पाँच वर्षपछि सन् १९४७ मा मात्र १४ वर्षको उमेरमा नायिकाको रूपमा उनको पहिलो फिल्म रिलिज भयो, जसका नायक राज कपुर थिए । राज कपुरको पनि नायकका रूपमा त्यो पहिलो फिल्म थियो, नीलकमल । त्यो फिल्म मैले हेरेँ । दुवै खास देखिएनन् ।
त्यसपछि प्रेमनाथ, शम्मी कपुर आदि विभिन्न नायकसँग उनको फिल्म आयो । यी सबमा दिलीप कुमारसँग १९५१ मा आएको फिल्म ‘तराना’ किन महत्वपूर्ण भयो भने त्यसको लगत्तैपछि उनी र दिलीप कुमारबीच प्रेमको चर्चा हुन थाल्यो, साँच्चिकै प्रेम । यो प्रेम ई. १९५७ सम्म चल्यो । सन् १९५७ मा दिलीप र मधुवालाबीच यस्तो झगडा भयो, फिल्म ‘नयाँ दौर’ का बेलामा दुवैले अदालतमा गएर बयान दिनु पर्यो । दुवै विवाह गर्न चाहन्थे । दिलीप कुमारले पटकपटक प्रस्ताव पनि राखे । तर पिताको कठोर अनुशासन र मधुवालाले पिताको कठोर अनुशासनलाई तोड्न नसक्नाका कारण, उनले विवाह प्रस्ताव स्वीकार गरिनन् । भनिन्छ, त्यसपछि दुवैमा जुन फाटो भयो त्यो कहिल्यै भरिएन ।
मधुवाला सरल र जटिल दुवै किसिमको अभिनय गर्न सफल नायिका मानिन्थिन् । उनका धेरै फिल्म सफल र चर्चित छन् । मधुवालालाई अमर बनाउने फिल्ममा भने ‘महल’ र ‘मुगल-ए-आजम’ अवश्य पर्छन् ।
‘भ्यालेन्टाइन डे’ का दिन जन्मेकी यी नायिका रूप र प्रेमकी देवी ‘भिनस’का रूपमा चिनिन्छिन् । यिनलाई भारतीय सिनेमाको ‘भिनस’ भनिन्थ्यो । मधुवाला प्रतिभा, रूप र गुण तिनै गुण भएकी अभिनेत्री मानिन्छिन् ।
यिनको मृत्यु फेब्रुअरी महिनामा नै भयो, तर २३ तारिखमा । त्यसबखत उनी केवल ३६ वर्षकी थिइन् ।
मधुवालाको अन्तिम प्रदर्शित फिल्म ‘ज्वाला’ हो जुन उनको मृत्युको दुई वर्षपछि, तर १९७१ मा आएको थियो ।
आजसम्म पनि धेरै रूपवती नायिकाहरू हिन्दी फिल्ममा आए-गए । चर्चित पनि भए । तर आजसम्म कसैले भन्न सकेको छैन, मधुवालाभन्दा राम्री नायिका हिन्दी फिल्ममा आई । उनको मृत्यु भएको ६० वर्ष नाघिसक्यो र पनि भारतीय सौन्दर्यको मानक मानिन्छ मधुवालालाई । आज १४ फेब्रुअरी बितिसक्यो, मधुवाला पनि बितिसकिन् । तर १४ फेब्रुअरी त फेरि पनि आउँछ । मधुवाला भने अब आउँदिनन् । हिजो मैले उनको फिल्म ‘महल’ फेरि एकपटक हेरेँ । उनको ‘महल’मा देखिएको त्यो रहस्यात्मक मुस्कान अन्य कुनै हिन्दी नायिकाले आजसम्म ल्याउन सकेनन् । त्यसको व्याख्या कठिन छ, ‘मोनालिसा’ जत्तिकै नभए पनि त्यसपछि भनुँ । तर सम्झना सम्भव हुनाले लेखेको हुँ ।
प्रतिक्रिया