देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरोपेली नेजसहरुद्वारा महामन्त्री कोइरालाको निर्णयको स्वागत

देशान्तर

काठमाडौं । नेपाली जनसम्पर्क समिति बेल्जियमको निर्वाचित कार्यसमिति विघटन गरी अर्को तदर्थ समिति गठन गर्ने नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेलको कदमलाई बदर गर्ने नेपाली काग्रेस केन्द्रीय कार्यालयको निर्णयलाई युरोपेली देशका जनसम्पर्क समितिहरुले स्वागत गरेका छन् । युरोपेली देशका जनसम्पर्क समितिहरुले आज (सोमबार) संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली जनसम्पर्क समिति बेल्जियमको तदर्थ समिति बदर गर्ने केन्द्रीय कार्यालयको निर्णयलाई स्वागत गरेका हुन् ।

‘नेपाली जनसम्पर्क समिति बेल्जियमको गत मार्च ३ तारीखका लागि निर्धारित पाँचौँ महाधिवेशन केन्द्रबाट स्थगित गरी विवाद मिलाउनको लागि पठाइएका नेपाली काँग्रेसका आमन्त्रीत सदस्य किरणराज पौडेलले निर्वाचित कार्यसमितिलाइ विघटन गरि अर्को तदर्थ समिति गठन गरेको कदमलाइ नेपाली काँग्रेस केन्द्रिय कार्यालयले बदर गरेको निर्णयको हामी स्वागत गर्दछौँ । नेपाली काँग्रेस उदात्त प्रजातान्त्रीक पध्दतिमा विस्वास राख्ने पार्टी हो । विधी,विधान पद्दति र स्वच्छ प्रतिस्पर्धामा यसको अटूट आस्था रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपाली जनसम्पर्क समितिका वर्तमान सभापतिहरू सिता सापकोटा (बेल्जियम), डा. एलिनी पोख्रेल सुबेदी (पोल्याण्ड), शिखर खड्का (जर्मनी), प्रेमजँग गुरूँङ (द नेदरल्याण्ड), इन्द्र शर्मा (स्पेन), रमेश लामिछाने (इटाली), बालकृष्ण सापकोटा (लक्जम्बर्ग), सुधीर राना (फ्रान्स), बिनोद घिमिरे (पोर्चुगल), सीता अर्याल (साइप्रस), श्याम सापकोटा (स्विट्जरल्याण्ड), बिरेन्द्र सिँह कार्की (डेनमार्क) र शुक्रराज न्यौपाने (आयरल्याण्ड)ले हस्ताक्षर गरेका छन् ।

यसैगरी संस्थापक अध्यक्षहरु ध्रुवराज पौडेल (बेल्जियम), पूर्ण हमाल (पोर्चुगल), चिन्तामणि सापकोटा (स्पेन), नविन पौडेल (डेनमार्क), नविन थपलिया (स्विडेन), रमेश लामिछाने (इटाली), पुरुषोत्तम पौडेल (बेलायत), किरण चन्द्र सिंह प्रधान (फ्रान्स) र गुणराज शर्मा (स्वीट्जरल्याण्ड)ले हस्ताक्षर गरेका छन् ।

त्यस्तै जनसम्पर्क समितिका पूर्व अध्यक्षहरु इन्द्र क्षेत्री पकवान (बेल्जियम), सुवाश जोशी सन्तोष (बेल्जियम), मनोहरी शर्मा (द नेदरल्याण्ड), उत्तम कँडेल (द नेदरल्याण्ड), पदम क्षेत्री (द नेदरल्याण्ड), दीपक रेग्मी (द नेदरल्याण्ड), लक्ष्मी सापकोटा (पोर्चुगल), शरण केसी (जर्मनी), विजय मोक्तान (जर्मनी), मिलन मोक्तान (बेलायत), लोक गुरुङ (बेलायत), पुष्पराज भण्डारी (स्पेन), शालिकराम डुम्रे (स्पेन), रामकुमार महतो (स्विट्जरल्याण्ड), रामचन्द्र पाठक (डेनमार्क), त्रीलोचन सापकोटा (डेनमार्क), यमलाल सुवेदी (डेनमार्क) र नवीन आचार्यर्य (डेनमार्क)ले पनि हस्ताक्षर गरेका छन् । ।

केन्द्रीय प्रतिनिधिका रुपमा गएका पौडेलले पार्टी सभापति शेरवहादुर देउवाको निर्देशन बमोजिम बेल्जियम जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति भङ्ग गर्दै तदर्थ समिति गठन गरेका थिए । पौडेलले विधान विपरीत सीता सापकोटा नेतृत्वको निर्वाचित कार्यसमिति भङ्ग गरेपछि विवाद बढेको थियो । एक महिना बढी बेल्जियम बस्दा पनि विवाद मिलाउन नसकेपछि पौडेलले सीता सापकोटा नेतृत्वको समिति भंग भएको जनाउँदै माधव सापकोटाको संयोजकत्वमा तदर्थ समिति गठन गराएका थिए ।

विवाद बढेपछि कांग्रेस महामन्त्री शंशाक कोइरालाले केन्द्रीय प्रतिनिधिले गरेको काम विधान विपरीत रहेको भन्दै पुरानै कार्यसमितिलाई काम गर्न पार्टीको लेटरप्याडमै लेखेर निर्देशन दिएका थिए । महामन्त्री कोइरालाको उक्त निर्णयलाई युरोपेली जनसम्पर्क समितिहरुले स्वागत गरेका हुन् ।

‘त्यहाँको सांगठनिक अवस्था बुझि आन्तरिक असमझदारीको अन्त्य गरी अधिवेशनको वातवरण बनाउन आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेललाई जिम्मेवारी दिइ पठाइएको थियो तर केन्द्रीय प्रतिनिधिले तोकिएको जिम्मेवारी र विधान विपरित अन्यथा निर्णय गरी जनसम्पर्क समिति बेल्जियमसँग आवद्ध साथीहरुका बीचमा थप असमझदारी पैदा हुन गएको, संगठनमा नोक्सान पुग्ने किसिमको कारबाही भइ अधिवेशनको वातवरण झनै बिग्रिएका छ’ महामन्त्री कोइरालाले बेल्जियम सम्पर्क समितिकी सभापति सापकोटालाई लेखेको पत्रमा उल्लेख छ ।

महामन्त्री कोइरालाको निर्णयलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौंलासमेतको समर्थन रहेको छ । महामन्त्रीको पत्रपछि बेल्जियम जनसम्पर्क समितिमा देखिएको विवाद समाधान भएको र आफ्नो नेतृत्वमा क्रियाशील सदस्यता वितरणको काम सुरु गरेको सभापति सीता सापकोटाले जनाएकी छिन् ।

आज जारी संयुक्त विज्ञप्तिमार्फत जनसम्पर्क समितिका नेताहरुले पार्टी प्रतिको आस्था र निष्ठाका कारण विदेशी भूमीमा रहेर पनि आफूहरु जनसम्पर्क समितिहरू मार्फत सँगठीत रहेको र विदेशमा सँगठीत हुँदै गर्दा सम्वन्धित देशको नियम कानूनका अलावा नेपाली काँग्रेसको विधानको धारा १४ ले निर्देशित गरे अनुसार आफ्नो विधान,पध्दति र लोकतान्त्रीक परम्परा अवलम्वन गरेको जनाएका छन् ।

अहिले बेल्जियमको निर्वाचित कार्यसमितिलाइ तोकिएको अधिवेशन समेत गर्न नदिइ २० वर्ष इतिहाँस बोकेको बलियो सँगठनमाथि गर्न लागिएको अवैधानिक हमलालाइ केन्द्रले सच्चाएकोमा सबैले राहत महसूस गरेको उनीहरुले बताएका छन् ।

‘बुढी मरी भन्ने चिन्ता होइन काल पल्किन्छ कि भन्ने पीर हो । डायस्पोरामा स्थापित र विधिवत ढँगले सञ्चालित सँगठनहरू माथि हुने त्यस खालको ठाडो हस्तक्षपले अन्ततः काँग्रेस पार्टीलाइ नै क्षति पुर्याउने निश्चित थियो। विश्वका जुनसुकै कुनामा सँगठीत जनसम्पर्क समितिहरू किन नहुन गूटगत स्वर्थको लागि विधि–विधान विपरित गरिने कुनै पनि हस्तक्षेपले एउटा गलत नजीर स्थापित गर्द्थ्यो । त्यसमा सँस्थागत रूपमा रोक लगाउनु भएकोमा पार्टीका आदरणीय सभापति, महामन्त्री तथा केन्द्रिय समिति प्रति हामी हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

विश्वभरमा स्थापित सबै जनसम्पर्क समितिहरूले नेपाली काँग्रेसको विधान र राष्ट्रिय जनसम्पर्क समितिहरूको विधानले व्यवस्था गरे अनुसारको लोकतान्त्रीक अभ्यासमा अब कुनै रोकावट नहुने र संगठनहरू सरल र सतत रूपमा अघि बढ्नेमा आफूहरुविस्वस्त रहेको पनि उनीहरुले जनाएका छन् ।

बेल्जियम लगायत सबै देशका जनसम्पर्क समितिहरूले अब आइन्दा स्थानीय विवादहरू वार्ता र संवादबाट आफै समाधान गरि पार्टी केन्द्रलाइ विवादमा नतान्न पनि उनीहरुले अनुरोध गरेका छन् ।