भर्खरै मात्र, वैशाख ५ गते लोकप्रिय कविहरू, छन्दकवि बलराम दाहाल र कवि भैरवी भूगोल ढुंगाना विवाहबन्धनमा बाँधिए । स्वाभाविक हो, हरेक मानिस आआफ्ना परम्परागत मूल्य, मान्यता, रीति र संस्कारअनुसार विवाहबन्धनमा बाँधिन्छन् । उनीहरू पनि बाँधिए यो बन्धनमा ।
तर, उनीहरू अन्यभन्दा निकै भिन्न देखिए । उनीहरूले परम्परा र रीति अनि संस्कारमा परिवर्तनको चाह राखे मात्र होइन, व्यवहारतः यस चाहलाई लागू गरे ।
बलराम दाहाल पारिवारिक पृष्ठभूमिका हिसाबले ग्रामीण ब्राह्मण परिवारमा जन्मे हुर्केको र अझ संस्कृत पढेको कर्मकाण्डी परिवारका हुन् भने भैरवी ढुंगाना पनि ब्राह्मण कुलकी युवती हुन् । ब्राह्मण, त्यसमा पनि कर्मकाण्डी परिवारका व्यक्तिलाई समाजमा ‘चलिआएका’ थिति र परम्परा मानिदिन वा पूरा गरिदिन निकै सकस नै हुन्छ । पारिवारिक, सामाजिक मूल्य मान्यताले उसलाई रूपान्तरणको कल्पना गर्न पनि दिँदैन । यस्तो अवस्थामा एउटा विशुद्ध परम्परावादी कुलमा जन्मे हुर्केको युवक र उस्तैउस्तै परिवारकी युवतीले यस्ता सारा पारिवारिक सामाजिक मूल्य मान्यतालाई बेवास्ता जस्तै गरेर अत्याधुनिक शैलीमा सिर्जनशील र उत्प्रेरक ढंगले विवाह जस्तो कार्य सम्पन्न गर्नु आफैंमा उदाहरणीय र विशिष्ट कर्म हो । यसका निम्ति दुवै वरवधू बधाईका पात्र बनेका छन् ।
यति मात्र होइन, उनीहरूले विवाहलाई पूरै सिर्जनशील बनाए । दुवैले आआफ्ना कवितासंग्रह पनि सोही अवसरमा सार्वजनिक गरे । बलरामले छन्द कविताकृति ‘भाडा नलाग्ने कोठा’ र भैरवीले ‘अस्वीकृत शालीनता’ शीर्षकका कविता कृति पनि सार्वजनिक गरे । देशका साहित्य क्षेत्रका अतिविशिष्ट व्यक्तित्वहरू र आफन्त तथा साथीभाइको भव्य उपस्थितिमा उनीहरूले दुई कविताकृतिसाथ एकअर्कालाई माला पहि¥याएर जीवनभर साथ रहने वाचा गरे ।
एकातिर यो कर्म सामाजिक व्यवस्थालाई पूरा गर्ने अर्थात् विवाहको परम्परालाई मानिदिने रह्यो भने अर्कातर्फ परम्परागत सांस्कृतिक मान्यतालाई चुनौती पनि । विवाहलगायतका कतिपय हाम्रा कर्महरू बढी भड्किला र पुरातनवादी बन्दै गएको अवस्थामा त्यस्ता सामाजिक कर्मलाई सिर्जनशील र मितव्ययी बनाउने यी दुई युवावीको प्रयास के साँच्चै ‘प्रगतिशील’ होइन ?
अँ, यहाँ प्रगतिशीलको कुरा आउँदा फेरि चर्चा गर्नु सान्दर्भिक ठहर्छ– प्रगतिशीलता सिद्धान्त हो कि व्यवहार ? सिद्धान्ततः कुनै एक राजनीतिक दृष्टिकोण राख्नेहरू मात्र प्रगतिशीलको पगरी गुथ्न रुचाउँछन् । उनीहरू आफ्नो विचारधारा इतरकाहरूलाई अप्रगतिशील वा पुरातनवादी देख्छन् ।
तर यहाँ रमाइलो भएको छ, दुई भिन्न राजनीतिक विचारका व्यक्तिहरू एउटै मूल्य, मान्यता र ढाँचाबाट विवाहबन्धनमा बाँधिएका छन् । बलराम राजनीतिक वैचारिक दृष्टिले उदारवादी वा प्रजातान्त्रिक पक्षधर हुन् भने भैरवी साम्यवादी विचारधारामा विश्वास गर्छिन् । यद्यपि, भैरवी राजनीतिक रूपले पनि सक्रिय व्यक्ति हुन् भने बलराम प्राज्ञिक, साहित्यिक ।
यो सन्दर्भ जोड्नुको आसय यति हो कि के व्यक्ति कुनै राजनीतिक विचारधाराको दास बन्दैमा मात्र प्रगतिशील हुन्छ ? के प्रगतिशीलता कोरा आदर्श हो ? के व्यवहारतः प्रगतिशील व्यक्तिहरू सिद्धान्ततः कुनै राजनीतिक विचारको दास नहुँदैमा अप्रगतिशील हुन्छन् ?
यी प्रश्नहरूको उत्तर अब समयले दिनेछ । र, यस्ता प्रश्नहरूका उत्तर बलराम–भैरवी जस्ता अन्य सयौंले दिँदै जानेछन् । बलराम–भैरवीको यो शत्कार्य पनि यसको गतिलो उत्तर बनेको छ ।
विभिन्न परम्परागत संस्कारको चंगुलमा फसेको नेपाली समाजका लागि यति उदाहरणीय सिर्जनशील प्रगतिशीलता प्रस्तुत गरेर बलराम–भैरवीले जे गरेका छन्, नयाँ पुस्ताका लागि यो साँच्चै अनुकरणीय कार्य हुनेछ ।
बलराम–भैरवीको वैवाहिक जीवन र सिर्जनशील सहयात्रा अनन्तसम्म सुन्दर, सहज र सिर्जनात्मक बनिरहोस्, हार्दिक शुभकामना ।
प्रतिक्रिया