देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारीको चीन भ्रमणको तालिका यस्तो छ

देशान्तर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मित्र राष्ट्र चीनको राजकीय भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा अनुसार राष्ट्रपति भण्डारीको आगामी बैशाख ११ देखि बैशाख १९ सम्म चीन भ्रमण राजकीय हुने भएको छ ।

भ्रमण तालिका अनुसार ११ बैशाखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने राष्ट्रपति भण्डारी बेइजिङ पुग्नु अघि चीनको सान्सी प्रान्तको पनि भ्रमण गर्ने भएकी छन् ।

त्यसक्रममा सान्सीको राजधानी सियान र तिब्बतको राजधानी ल्हासामा त्यहाँका प्रादेशिक नेताहरुसँग राष्ट्रपतिको भेटवार्ता हुने भएको छ ।

चीनले आयोजना गर्न लागेको दोस्रो बीआरआई सम्मेलनमा सहभागी हुन जान लागेकी राष्ट्रपतिको सम्मानमा चिनियाँ समकक्षी सी जिनपिङले रात्रिभोज पनि आयोजना गर्ने भएका छन् ।

त्यसअघि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसहितको टोलीसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको पनि परराष्ट्र मन्त्रालयले बताएको छ ।

चिनियाँ समकक्षी सीका अलावा राष्ट्रपति भण्डारीले अन्य चिनियाँ शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रालयका अनुसार, राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल लगायत अन्य उच्च सरकारी अधिकारी हुने उल्लेख गरेको छ ।

चीन भ्रमणमै रहेका बेला राष्ट्रपतिले चिनियाँ र नेपाली व्यापारीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ भने अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनीको उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।