लामो समयदेखि प्रवास (अमेरिका) मा रहँदै आएका स्रष्टा शेखर ढुंगेल नेपाली साहित्य सिर्जनामा निरन्तर क्रियाशील रहनुभएको छ । भक्तपुरको कटुन्जेमा जन्मिएका स्रष्टा ढुंगेल नेपाली साहित्यका कविता, गीत, कथा, निबन्ध र संस्मरण लेखनमा विशेष क्रियाशील देखिनुहुन्छ । उहाँका यी हरेकजसो विधाका कृति प्रकाशनमा आइसकेका छन् ।
भ्रमणमा रुचि राख्ने ढुंगेलले जहाँ गए पनि केही न केही लेख्ने, देखेको र भोगेको कुरालाई साहित्यिक रंग दिएर कृतिका रूपमा बाहिर ल्याउने गरेको पाइन्छ । स्रष्टामा हुने एउटा महत्वपूर्ण गुण पनि हो यो । किनभने हरेक स्रष्टाले आफूले देखे, भोगेको र अनुभूत गरेको विषय र सन्दर्भलाई कलात्मक रूप दिएर साहित्यमा प्रस्तुत गर्ने हो । यो निरन्तरता र जाँगर ढुंगेलमा देखिन्छ, जसले गर्दा हामीले नेपाली भाषा र साहित्यका क्षेत्रमा उहाँबाट केही न केही पाइरहेका छौं ।
रहर होला कतिपयको प्रवासिनु तर धेरैको बाध्यता हो । यसरी बाध्यताले प्रवासिएका धेरै नेपालीको हृदयमा नेपाल छ, सोचमा नेपाल छ र व्यवहारमा नेपालीपन छ । यसले गर्दा त विश्वका कुनाकुनामा रहेका नेपालीहरू नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान र प्रचारप्रसारमा सक्रिय छन् ।
शेखर ढुंगेलको प्रस्तुत संस्मरण कृति पढिरहँदा जोकोही पनि आफ्ना पुराना स्मृतिमा फर्किन्छ । बाल्यकालका उपद्रो, बाललीला, चकचकदेखि लिएर बालमोवैज्ञानिक विभिन्न कुराहरू यस कृतिमा प्रस्तुत छन् । आफूले थाहा पाउने बेलादेखियताका धेरै सन्दर्भ, विषय र घटनाबारे छोटोमा मीठो ढंगले स्मृतिहरू लेखिएको छ यसमा ।
बालकमै बुवाविहीन भएका शेखरको परिवारमा आएको आर्थिक संकट त छँदै छ, बालरहर र बालहठले आमालाई दिएको सास्ती, आमाले आमा हुनुको कर्तव्य पूरा गर्न गरेको संघर्ष पढ्दा लाग्छ, आमाहरू सन्तानको खुसीका लागि आफ्ना रहर र खुसीहरू तिलाञ्जलि दिनकै लागि जन्मिएका हुन् । यस पुस्तकमा बाल्यकालमा गाउँघरमा हरेकजसो बालबालिकाले गर्ने उपद्रो जस्तै उपद्रोहरू गरिएका प्रशस्त घटना छन् । तिनमा पनि भोगटे चोरेका, लहरीलाई खाडलमा हालेकोलगायतका उपद्रो पढ्न लायकका छन् र यिनले हरेकजसोलाई बाल्यस्मृतिमा फर्काउँछन् ।
पशु र मानवबीचको सम्बन्धलाई पनि बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ पुस्तकमा । घरमा पालिएको गाईका बारेमा लेखिएको संस्मरण निकै मार्मिक लाग्छ । बेचिसकेको गाई कति टाढाबाट पुनः फर्किएर पुरानै गोठमा आइपुग्छ । त्यस घटनालाई कति संवेदनशील ढंगले प्रस्तुत गरिएको छ यहाँ । यसरी नै घरपालुवा मुसाको बारेमा पनि दर्दनाक र संवेदनशील संस्मरण यहाँ उल्लेख छ । वास्तवमा जनावर र मानिसबीच अन्योन्याश्रित र प्रेमपूर्ण सम्बन्ध रहेको हुन्छ भन्ने कुरा यी संस्मरणले अभिव्यक्त गरेका छन् ।
यस्ता धेरै सन्दर्भ र विषय यहाँ प्रस्तुत छन् । तिनमा पनि शेखर ढुंगेलका युवा र जागिरे कालका संस्मरणले मलाई अलिक संवेदनशील बनाए । चलचित्रमा रुचि राख्ने शेखर बिजुलीको बिल तिर्ने पैसा लिएर चलचित्र हेर्न घरबाट टाढासम्म पुगेको घटना पढ्दा हरेक युवामा रहेका सपनाको प्राप्तिमा मानिस के सम्म गर्न पछि पर्दैन भन्ने देखाउँछ । उनमा रहेको हिरो बन्ने सपनाले उनलाई त्यति टाढासम्म एक्लै हिँडायो, जुन जोखिमपूर्ण थियो ।
यसरी नै उनले केही समय नेपाल प्रहरीमा अधिकृतको जागिर पनि खाए । प्रहरी निरीक्षकका रूपमा केही समय देश सेवा गरेका उनले तालिम अवधिदेखि जागिर छाड्ने बेलासम्मका संस्मरण यस पुस्तकमा उल्लेख गरेका छन् । तालिमका समयमा गरिएका उपद्रोदेखि एउटा स्वाभिमानी सुरक्षा अधिकारीको कर्तव्य निर्वाहसम्मका संस्मरण यसमा पढ्न पाइन्छ ।
शेखरको जागिरे जीवन, त्यो पनि सुरक्षा अधिकारीका रूपमा, पञ्चायतकालमा सुरु भयो । पञ्चायतविरोधी आन्दोलन सुरु भयो उहाँले जागिर सुरु गरेको केही समयपछि नै । त्यसबेला वहाँले एउटा सुरक्षा अधिकारीका रूपमा निर्वाह गरेको भूमिका, अप्ठ्यारा र मनोविज्ञानलाई पनि यहाँ प्रस्तुत गरिएको छ । सबैभन्दा गर्व गर्न लायक संस्मरण चाहिँ स्थानीय प्रभावशाली व्यक्तिहरूले आफ्नो प्रभावमा पार्नका लागि चाडवाड खर्चका नाममा स्थानीय थानाका हाकिमलाई पैसा दिने परम्परा र त्यसको विरोधमा र आफ्नो पेसागत इमानदारीमा आफू अडिग रहेको घटना लाग्यो । पूर्व सहायक अञ्चलाधीशले आफूलाई प्रभाव पार्न केही रकम दिने प्रस्ताव गर्नेवित्तिकै शेखरले तिनलाई गलहत्याएर कक्षबाहिर निकाल्नुले शेखरमा रहेको स्वाभिमान, आत्मविश्वास र जिम्मेवार राष्ट्रसेवकको परिचय दिन्छ ।
यस्ता विविध सन्दर्भ यस पुस्तकमा छन् । पुस्तकको नाममै वरिष्ठ पत्रकार एवम् समाजसेवी भैरव रिसाल अर्थात् भैरव दाइको नामबाट राखिएको छ, भैरव दाइको सय रुपैयाँ र म ।
भैरव दाइ अर्थात् भैरव रिसाल नेपाली पत्रकारिताका ज्यूँदो इतिहास हुनुहुन्छ । जहानियाँ राणाशासनको अन्त्यतिरदेखि नेपाली पत्रकारितामा सक्रिय भैरव दाइ आज ९१ वर्षको उमेरमा पनि सक्रिय हुनुहुन्छ । पत्रकारितामा मात्र होइन, सामाजिक र विकासका कार्यमा पनि उत्तिकै सक्रिय भैरव दाइ राजनीतिमा पनि सक्रिय रहनुभयो केही समय ।
देश र देशवासीप्रतिको भैरव दाइको चिन्तालाई नेपाली समाज र राज्यले कत्तिको चिन्यो, थाहा छैन तर उहाँको अति दुर्गम कर्णालीमा बिजुली बत्ती, कृषिलगायतका कार्यका लागि अभियान र योगदानबारे धेरै परिचित छन् । भैरव दाइ सानो कदका अग्ला व्यक्तित्व हुनुहुन्छ । मैले विगत डेढ दशकदेखि चिनेका, देखेका भैरव दाइका बारेमा यति चाहिँ म प्रष्टसँग भन्न सक्छु ।
र, भैरव दाइकै सम्मानमा शेखर ढुंगेलले यो पुस्तक प्रकाशन गर्नुले म जस्ता अनुजलाई, देश, जनता, भाषा र साहित्यका लागि केही गर्ने उमेर, जाँगर र उत्साह भएकाहरूलाई पक्कै पनि सकारात्मक प्रभाव पार्ने नै छ । कारण, राम्रो काम गर्ने र असल व्यक्तिको सम्मान कसै न कसैले गर्नेछ भन्ने उदाहरण बनेको छ यो पुस्तक ।
प्रतिक्रिया