काठमाडौँ । नेपालले महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश तय गरेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले श्रीलंकालाई सहिद रंगशालामा भएको खेलमा ४—० ले पराजित गरेको हो ।
नेपाल प्रतियोगिताको इतिहासमा फाइनल पुगेका यो चौथो पल्ट हो। प्रतियोगिताका पाँच संस्करणमध्ये नेपाल एकै अवसरमा मात्र सेमिफाइनलमै रोकिएको छ । यसपल्ट नेपालले कुनै पनि गोल नखाएर फाइनल यात्रा तय पारेको हो।
अहिलेसम्म नेपालले उपाधि भने जितेको छैन् । यस्तोमा अब नेपालसामु आफ्नै भूमिमा पहिलो पल्ट उपाधि चुम्ने अवसर हुनेछ । नेपाल अब शुक्रबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत अथवा बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा श्रीलंकाले पहिलो हाफमा बलियो रक्षापंक्तिको नमुना पेस गरेपनि त्यसलाई खेलको अन्त्यसम्म कायम राख्न सकेन् । श्रीलंकामाथि नेपालको यो लगातार जित हो।
नेपालका लागि पहिलो गोल पुनम जर्घामगरले गरिन् । उनले ४२ औं मिनेटमा पेनाल्टी बक्सभित्र पाएको पासलाई नजिकको दूरीबाट गोल गरेकी हुन् ।
दोस्रो गोल अनिता वस्नेतको नाममा रह्यो र यो ७३ औं मिनेटमा सम्भव भयो । सावित्री भण्डारीले ८२ औ मिनेटमा हेडबाट तेस्रो गोल थपिन् । रेखा पौडेलले ८६ औं मिनेटमा चौथो गोल गरिन् ।
प्रतिक्रिया