देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेलको अगुवाईमा कांग्रेसमा नीति बहस सुरु

देशान्तर

काठमाडौं । युवा जागरण अभियानले नेपालमा सामाजिक तथा आर्थिक विकासका लागि नीति बहसको प्रारम्भ गरेको छ । नेपाली कांग्रेसभित्र वैचारिक बहस र छलफलले प्राथमिकता नपाएको बेला नेपाली कांग्रेसका युवा नेता चिन्तन पौडेलको अगुवाईमा नीति बहस थालिएको हो । युवा जागरण अभियानको पहिलो वार्षिकोत्सवका अवसरमा प्रारम्भ गरिएको नीति बहसमा शनिबार कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेता डा.शेखर कोइराला, केन्द्रीय सदस्य बद्री पाण्डे एवं अर्थविद् डा. स्वर्णिम वाग्ले सहभागि भए ।

‘सामाजिक विकासबाट नै आर्थिक विकास सम्भव छ’ भन्ने मूल मन्त्रसहित युवा जागरण अभियानले थालेको नीति बहसमा सहभागिहरूले नेपालमा आर्थिक रुपान्तरणका लागि लोकतान्त्रिक समाजवादको बाटो नै उपयुक्त भएको बताए । प्रमुख वक्ता पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली कांग्रेसको अगुवाईमा २०४८ सालपछि लिइएको आर्थिक नीतिले नै नेपाललाई समृद्धिको सपना देख्ने हैसियतमा पु¥याएको बताए । ‘आज हामी जेजति सेवा सुधिाव भोग गर्न पाएका छौं यो सबै नेपाली कांग्रेसले लिएको सही अर्थनीतिको उपज हो । आफैंले गरेको काम प्रचार गराउन नसकेर हामी अरुको एजेण्डामा रुमल्लिन थालेका छौं’, महतले भने । उनले कांग्रेसकै नेतृत्वमा लोक कल्याणकारी र समाजवादी कार्यक्रमहरु आएको भएपनि नाम र नारा फेरेर कम्युनिष्टहरूले त्यसको जस लिएको बताए ।

नेता डा. शेखर कोइरालाले सामाजिक विकासका लागि प्रजातन्त्र अपरिहार्य रहेको बताए । प्रजातन्त्रलाई संस्थागत गर्ने लडाई ७ दशकदेखि जारी रहेको भन्दै नेता कोइरालाले कम्युनिष्ट सत्ताबाट प्रजातन्त्र जोगाउनु नै अहिलेलाई चुनौती रहेको बताए । ‘विकास भन्नुस् या समृद्धि यो सबै प्रजातन्त्रमा सम्भव छ । प्रजातन्त्र जोगाउन सकेनौ भने समृद्धि आउँदैन । अहिले प्रजातन्त्र खतरामा छ’, कोइरालाले भने । उनले सत्तामा रहँदा कांग्रेसले गरेको गल्तीलाई पहाडझैं प्रचार गरिएको तर राम्रा कामको जस लिन नसकिएको बताए । उनले कांग्रेसमा सक्षम नेतृत्व भएमात्रै मुलुकले सही नेतृत्व पाउने बताए ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीतिक आन्दोलनको चरण पूरा गरेको भएपनि आर्थिक क्रान्तिको चरण प्रारम्भ नभएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेपछि फेरि राजनीतिक आन्दोलन गर्न नपरोस् भन्ने जनताको चाहना रहेको उनले बताए । कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम नगरेको अवस्थामा कांग्रेसले आफूले विगतमा गरेका सही कामको प्रचार गराउने तथा कम्युनिष्टहरूको कमजोरीलाई जनतामा लैजानुपर्ने बताए ।

अर्थविद् डा. स्वर्णिम वाग्लेले कांग्रेसजन आत्तिनुपर्ने अवस्था नरहेको बताए । मुलुकको हरेक राजनीतिक आन्दोलनको अगुवाई गरेको कांग्रेसले लिएको आर्थिक नीतिले नै आर्थिक सामाजिक विकास सम्भव हुने उनको भनाई थियो ।

आयोजक युवा जागरण अभियानका अध्यक्ष पौडेलले नीति बहसको क्रम जारी रहने बताए । उनले नेपालमा लोकतन्त्र र समृद्धिलाई संस्थागत गर्न अभियानले विभिन्न कार्यक्रमहरु गर्दै जाने बताए ।