देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 हराउँदो संवेदना: घनेन्द्र ओझा

देशान्तर

मृत्यु शाश्वत हो तर ठट्टा होइन । हरेक प्राणी जन्मिएपछि मर्छ अवश्य । कोही समय अवधि पुगेर वा वृद्ध र अशक्त भएर मर्छन् त कोही ‘अकाल’ वा ‘असामयिक ।’ त्यसो त अकाल वा असामयिक भन्नु पनि आफैंमा विरोधाभाषपूर्ण छ । किनभने मृत्युका लागि उपयुक्त काल वा समय कुन हो ? भन्ने कहीँ कतै उल्लेख छैन वा निश्चित छैन ।

जे होस्, मृत्यु हरेक जीवनको अन्तिम सत्य हो । जन्मिने हरेक प्राणी मर्छ । मर्नु भौतिक अस्तित्वको लोप हुनु हो भन्छ शास्त्रले । अर्थात् प्राणीले मर्दा भौतिक शरीर मात्र त्याग गर्छ, आत्मा त्याग गर्दैन भन्छ शास्त्र । हिन्दुहरूको महान् ग्रन्थ मद्भगवद गीता भन्छ– ‘नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः÷न चैनं क्लेदयन्त्यापो, न शोषयति मारुतः । अर्थात् न शस्त्रले छिनाउन सक्छ, न आगोले जलाउन सक्छ, न पानीले गलाउन सक्छ अथवा न त हावाले नै सुकाउन सक्छ । आत्मा यस्तो हुन्छ । अर्थात् आत्मा कहिल्यै नास हुँदैन ।

हिन्दु शास्त्र भन्छ– शरीर पञ्चतत्व पृथ्वी, जल, आकाश, अग्नि र वायुले बनेको हुन्छ । शरीर नासवान् भए पनि आत्मा नास हुँदैन । यो फरक रूपमा घुमिरहन्छ र अन्ततः पुनः पृथ्वीमा अवतरण हुन्छ । हिन्दु शास्त्रले पुनर्जन्म वा अवतारमा विश्वास गर्छ ।

हरेक धर्मशास्त्रमा मृत्युलाई आआफ्नै किसिमले व्याख्या गरिएको छ । बाइबलमै पनि स्वर्ग र नर्कका बारेमा केही उल्लेख छ । बाइबलमा प्रष्ट भनिएको छ कि जसले जिसस (क्रिश्चियनका आस्थाका देव) माथि विश्वास गर्छ, ऊ स्वर्गमा जानेछ भने जसले उनीमाथि विश्वास गर्दैन, ऊ नर्क जानेछ ।

यस्तै कुरा हिन्दुका आस्थाका देव श्रीकृष्णले पनि मद्भगवद् गीतामा अर्जुनलाई कुरुक्षेत्रको युद्धका लागि उत्प्रेरित गर्ने क्रममा ‘विराट रूप’ देखाउने क्रममा व्यक्त गरेका छन् । उनले आफू नै सबै थोक भएको र आफूमा विश्वास गर्न अर्जुनलाई भनेका छन् ।

इस्लामहरू जीवनको अस्तित्व भनेको अर्को जीवनको सुरुआत भएकामा विश्वास गर्छन् । उनीहरूका लागि मृत्यु एक संसारबाट अर्को संसारको यात्रा हो । मृत्युलाई इस्लामहरू अस्तित्वको पृथक् आयामतर्फको यात्रा ठान्छन् ।

यसरी नै बुद्धमार्गीहरूमा विश्वास छ कि मृत्यु भनेको केही समयका लागि भौतिक दुनियाँबाट विश्राम हो । मृत्यु मानिसका लागि अवश्यम्भावी भएको बताएका छन् गौतम बुद्धले । बुद्धमार्गीले मानिसको पुनर्जन्म वा अवतारमा विश्वास गर्छन् । अघिल्लो जन्ममा के कस्तो काम गरेको थियो, सोहीअनुसार व्यक्तिको पुनर्जन्म हुने उनीहरूको विश्वास छ ।

यसरी नै यहुदीहरूको तर्क आफ्नै छ । उनीहरू मस्तिष्क मृत्युको पक्ष र विपक्षमा विभक्त छन् । वास्तवमा भौतिक विज्ञानले मृत्युलाई सम्पूर्ण रूपमा व्यक्तिको लोप ठान्छ– भौतिक रूपले । यद्यपि, दार्शनिक कार्ल माक्र्स पदार्थको अन्त्य हुँदैन भन्छन् । उनको तर्क छ कि पदार्थको रूप मात्र परिवर्तन हुन्छ । एक रूपबाट अर्को रूपमा परिवर्तित हुनु पदार्थको स्वभाव हो भन्ने उनको तर्क छ । तर पदार्थको अन्त्य कहिल्यै हुँदैन उनका अनुसार । मानिस वा कुनै प्राणी पनि पदार्थहरूको योग हो ।

यसरी हेर्ने हो भने धर्मशास्त्रहरूले कुनै पनि मानिसको मृत्युलाई पुनर्जन्म वा अवतारका रूपमा फेरि यस पृथ्वीमा आउन सक्ने गरी लिइएको केही समयको विश्राम मात्र ठान्छन् भने भौतिक विज्ञानले भौतिक र मानसिक वा आत्मिक सबै रूपमा जीवनको लोप भन्ने मान्छ ।

भौतिक विज्ञानको दबदबाको यस समयमा हामी दुई धारको बीचमा छौँ । हामी एकातिर हाम्रा सामाजिक–धार्मिक–सांस्कृतिक मूल्य मान्यता र विश्वासहरूलाई पूरै बेवास्ता गर्न सक्दैनौँ भने अर्कातर्फ भौतिक विज्ञानका तर्कहरूलाई निषेध गर्न पनि सक्दैनौँ । यसको मध्यमार्गी बाटो हामीसँग उपलब्ध पनि छैन । यसर्थ हामी दुवै धारणाका भ्रममा रुमल्लिइरहेका छौँ ।

यद्यपि, हामी हाम्रै परिवेश, हाम्रै सामाजिक–सांस्कृतिक मान्यतालाई बढी विश्वास गर्छौं र त्यसैअनुरूप धारणा बनाउँछौँ, त्यसैअनुरूप व्यवहार गार्छौं । कतिपय कुरा ‘होइन’ भन्ने लाग्दालाग्दै पनि हामी ‘होला’ पनि भन्ठान्छौँ सँगसँगै । कतिपय कुरा ‘हो’ भन्ने लागेर पनि ‘होइन होला’ भन्ने शंका पनि गरिरहन्छौँ । यो हाम्रो धार्मिक–सांस्कृतिक–सामाजिक सम्बन्ध÷परिवेश÷बुझाइका कारण भएको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भयो । दुर्घटनामा सबैको मृत्यु भयो । उनीहरू देशकै प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गरेर फर्कने क्रममा हेलिकोप्टर उडेको केही मिनेटमै दुर्घटना भयो । यसअघि पनि १२ वर्षअघि राज्यमन्त्री गोपाल राई र विद्वान् डा.हर्क गुरुङसहित चढेको हेलिकोप्टर ताप्लेजुङकै घुन्सामा दुर्घटना भई उनीहरूको मृत्यु भएको थियो ।

यसले एकातिर धर्म÷अध्यात्ममा विश्वास गर्नेहरूलाई झस्काएको छ कि किन आस्थाका देवस्थलको दर्शनपछि पनि यसरी दुर्घटना हुन्छन् ? के देवस्थल दर्शन व्यक्तिअनुसार फापसिद्ध र अफापसिद्ध हुन्छ ? अथवा कुनै भौतिक कारण छन् यसो हुनुमा ?

यी सब खोजीका विषय हुन् तर यी सबै कुरा उठाउनुको तात्पर्य के हो भने हामी मृत्युजस्तो संवेदनशील विषयमा पनि किन ठट्टा गरिरहन्छौँ ? कसैको मृत्युप्रति किन संवेदनशील बन्न सक्दैनौँ ? अथवा मृत्यु के सीमित व्यक्तिका लागि मात्र हो ? हामी कुनै पनि बेला मृत्यु पर्खिरहेका छैनौँ र ?

सवाल कोही कसै व्यक्तिको होइन, समग्रको हो । भनिसकिएको छ कि मृत्यु शाश्वत हो । हरेक प्राणी मरणशील छ । मरणशील हुनुका अर्थमा हामी प्रत्येक मान्छे अन्ततः मृत्यु कुरेर बसेका हौँ, छौँ । तर कसको मृत्यु कुन बेला भन्ने मात्र हो सवाल ।

बुधबारको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भयो, जसमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रसिद्ध पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहितका व्यक्तित्व थिए । तर त्यही मृत्यु पनि कसैको विशिष्ट र कसैको सामान्य बनिदियो । स्वाभाविक थियो कि महत्वपूर्ण जिम्मेवारीमा रहेका वा प्रसिद्ध भनिएकाहरूको मृत्यु संसारभर नै विशेष ठानिन्छ । तर एउटा मानवका हिसाबले हरेक व्यक्तिको मृत्यु उत्तिकै हो, दुःखद् हो, संवेदनशील हो । यसलाई यतिमै छाडौँ अहिले ।

हेलिकोप्टर दुर्घटनापश्चात् अनेक टीकाटिप्पणी आउन थाले, विशेषगरी सामाजिक सञ्जालमा । कारण थियो, रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएपछि भित्र्याइएका दुई वाइडबडी जहाज र त्यसमा भएको भनिएको अर्बौं रुपैयाँको घोटाला । त्यस प्रकरणमा मन्त्री अधिकारीलाई पनि एउटा जिम्मेवार ठानेर उनीमाथि अभियोग लगाइएको छ ।

यस्तै अर्का प्रसिद्ध पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, जो भरियाबाट सुरु गरेका दुई दशकमै अर्बौं सम्पत्तिका मालिक बनेका थिए र भनिन्थ्यो कि हिजोको नेकपा एमालेलाई आर्थिक रूपमा भरथेग उनकै थियो । यसै कारण पनि उनलाई नेकपाको संस्थापन पक्षले निकै महत्व दिने गरेको थियो । अहिले पनि प्रश्न उठिरहेको छ, सरकारी प्रतिनिधि जानुपर्ने स्थानमा निजी व्यवसायी शेर्पा कसरी उक्त भ्रमणमा मन्त्रीका साथमा गए ?

यो पनि समयकै जिम्मामा छाडिदिऊँ । जो जसको भए पनि मृत्यु दुःखद् हो । एउटा व्यक्तिका पछाडि उसको परिवार हुन्छ, समाज हुन्छ, राज्य हुन्छ । व्यक्ति आफू एक्लो देखिए पनि ऊसँग जोडिने अनेक पक्ष र सन्दर्भ अनि व्यक्तिहरू हुन्छन् । अपराध, आरोप, अभियोगहरू जिउँदा र कर्मशील मानिसलाई लाग्छन्, लागिरहन्छन् । तिनको छानबिन गर्ने प्रक्रिया हुन्छ । दोषी, निर्दोष पुष्टि गर्ने विधि हुन्छ र उक्त विधि र प्रक्रियाले सबै कुरा टुंगो लगाउँछ नै ।

तर जतिसुकै ठूलो अपराध गरे पनि मान्छेको मृत्यु, त्यसमा पनि अस्वाभाविक र असामयिक मृत्यु बडो दुःखद् हो । यस्तो बेलामा समेत हामी राजनीति गरिरहेका छौँ । हामी मानवीय संवेदना गुमाएर दानवीय चरित्र प्रदर्शन गरिरहेका छौँ । हाम्रो चेतनाको स्तरलाई घटाउँदै गएका छौँ किनभने हामी कोही अर्को व्यक्ति, जो आफूइतरको विचार राख्छ, आफूइतरको सोच र व्यवहार गर्छ, उसको मृत्यु, दुःख वा अप्ठेरोमा थपडी बजाउँछौँ । जबकि यस्तै अवस्था हामी जो कोहीमा आउन सक्छ भन्ने हेक्का राख्दैनौँ ।

आखिर जीवन एक बारको हो । शास्त्रमा जे जसो लेखिएका भए पनि, हाम्रा विश्वास र मान्यता जे जस्ता भए पनि, जीवन एकचोटि मात्र हो । हामीले पुनर्जन्म वा अवतारका जति कथा पढे पनि जीवन पुनः दोहोरिएको कसैको पाइएको छैन । यसर्थ, एक बारको जीवनलाई साँच्चै सम्झनलायक बनाउनतिर लाग्नुपर्ने रहेछ, साँच्चै सानदार बनाउनुपर्ने रहेछ । यसका लागि मानवोचित सोच र व्यवहार महत्वपूर्ण रहेछ भन्ने बोध गर्नु आवश्यक देखिन्छ ।