देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेरो स्मृतिमा सुवर्णशमशेरः अर्जुननरसिंह के.सी.

देशान्तर

कुनै पार्टीले दुर्लभ रूपमा पटकपटक युगान्तकारी आन्दोलन चलाउँछ, परिवर्तनका कदमलाई टेक्ने धरातल दिन्छ र मुलुकलाई नयाँ युग दिनुको साथै परिवर्तित व्यवस्था र सन्दर्भलाई हाँक्ने राजनेता पनि दिन्छ, त्यस्तो दुर्लभ इतिहास बोकेको पार्टी नेपाली कांग्रेस नै हो भन्दा हामी गौरवान्वित हुन्छौं ।

यस पार्टीको झन्डामुनि अथक संघर्ष गर्दै निर्दिष्ट लक्ष्यका लागि आफ्ना जीवन अर्पण गर्ने हजारौँ सपुतहरूले वीरगति पाएर सहिद भए भने बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, सरोज कोइराला, दिवानसिंह राई, एन. डी. प्रकाशजस्ता प्रातः स्मरणीय राजनेताहरू र सहिदले बनाएको बलिदानी राजमार्गमा आफ्ना उच्च जिम्मेवारी सम्पादन गरे ।

कांग्रेसको प्रांगणमा उठेका यी राजनेताहरूको कद यति अग्लो थियो कि अरूले हेर्नका लागि आफ्नै शिर उचाल्नु पर्दथ्यो भने श्रद्धाले शिर निहुरिने गर्दथ्यो । भनिन्छ, राजनीतिमा मृत्युपछि पनि जीवन हुन्छ । बीपी, गणेशमानजी मात्र होइन, सुवर्णजीजस्ता अनेकौं विराट व्यक्तित्वको मरणोपरान्त छविलाई सम्झिँदामा यस्तै निष्कर्ष बनाउँछ ।

हाम्रा स्वर्गवासी नेताहरू अझै पनि हाम्रो चर्चाको उच्च स्थानमा हुनुहुन्छ । हामी उहाँहरूको बारेमा यसरी चर्चा गर्छौँ मानौँ उहाँहरू अझै यता–कतै जीवित नै हुनुहुन्छ र हाम्रा गतिविधिहरूलाई अवलोकन र निर्देश गरिरहनु भएको छ । उहाँहरूका जन्मजयन्ती वा पुण्यस्मृति दिवसलाई हामी गर्व र पर्वको रूपमा मनाउने गछौँ । वास्तबमा उहाँहरूका बारेमा हामीभित्र रहेका यो अमिट छाप, उच्च श्रद्धा र जीवन्त प्रभावको एकमुष्ठ रूप हो ।

नेपाली कांग्रेस परित्याग गरी सद्भावना पार्टीको संस्थापक अध्यक्ष बनेका गजेन्द्रनारायण सिंहजी हरेक वर्ष सद्भावना पार्टीकै आयोजनामा सुवर्ण जयन्ती कार्यक्रम गर्नुहुन्थ्यो । नेपाली कांग्रेसको संघर्षशील जीवन र पार्टीको सैद्धान्तिक सन्दर्भमा वीरगन्जसँग कांग्रेसको भावनात्मक सम्बन्ध गाँसिएको छ ।

जुद्ध शमशेरसँग सुवर्णशमशेरका पिता हिरण्यशमशेरको राम्रो सम्बन्ध भएकोले हिरण्यलाई वीरगन्जको बडाहाकिम बनाइयो, जहाँ पद्मशमशेरको शासनकालमा सुवर्णजी पनि वीरगन्जको बडाहाकिम हुनुभएको थियो भन्ने कुरा उहाँका निकटतम नेता स्व.सुन्दरराज चालिसे बताउनु हुन्थ्यो । वीरगन्ज बनाउने र गुल्जार गराउनेमा हिरण्यशमशेरलाई श्रेय दिइन्छ ।

२००७ सालको सशस्त्र क्रान्ति प्रारम्भ हुँदा पहिलो सहिद हुने थीरबम मल्लको सहादत वीरगन्जमै भयो भने नेपाली कांग्रेसले २०१२ सालमा आफ्नो महाधिवेशन यहीँ सम्पन्न गरेर समाजवादी सिद्धान्त र मार्गदर्शन अपनायो । २०१५ सालको आमनिर्वाचनमा सुवर्णजी निर्वाचित भएका ३ क्षेत्र मध्ये गुल्मीबाहेक बारा र पर्सास्थित दुई क्षेत्रको केन्द्र यही वीरगन्ज थियो ।

२०५६ को आम निर्वाचनमा कृष्णप्रसाद भट्टराई पहिलोपटक निर्वाचित सांसद भएको यही वीरगन्ज क्षेत्र हो । सुवर्णजीको त्याग, उदारता र परोपकारको संस्कार पिता हिरण्य मशेरकै स्वभावको पृष्ठभूमिमा बनेको थियो । राणाकालका कर्मचारी लक्ष्मणप्रसाद रिमाल आफ्नो ‘मरण’ मा भन्छन्, “हिरण्यशमशेर राणाको गजबको बानी थियो । ललिता निवासमा हरेक दिन बिहान ब्राह्मणहरू जम्मा गरेर नित्य पूजापाठ लगाउँथे र तिनलाई दान–दक्षिणा गरेपछि मात्र भोजन गर्थे ।”

२००७ सालको परिवर्तनपछि जब आफ्ना छोरा सुवर्णशमशेर अर्थमन्त्री भए, हिरण्यशमशेरले ब्राह्मणहरूद्वारा संकल्प गराउँदा ‘ललिता निवासमा राष्ट्रिय झन्डा यसरी नै सधैं फरफराइरहोस्’ भन्ने वाक्यांश थप्न लगाए । त्यसपछि मृत्युपर्यन्त त्यस्तो संकल्प लिइरहे । ललिता निवासमा पुग्दा एउटा अचम्मको दृश्य सधैँ देख्न पाइन्थ्यो ‘‘हिरण्यशमशेर दम्पती जहाँ बसे पनि त्यहीँ हात घुसाएर पैसा झिक्थे र दुःखीहरूलाई सहयोग गर्थे’ (नेपाल साप्ताहिक, २६ वैशाख २०७३, पृ. १३) ।

नभन्दै सुवर्णजीको बालुवाटारस्थित ‘ललिता निवास’ राष्ट्र बैंकले लिएकोले त्यो दरबारमा आजसम्म नेपालको राष्ट्रिय झन्डा फहराइरहेको छ । त्यस्तो पारिवारिक संस्कार र वातावरणमा हुर्किएका सुवर्णजीको विराटमना ब्यवहार क्रान्ति र पार्टीको नेतृत्वमा पनि प्रकट हुन्थ्यो । त्यसैले कांग्रेसका कीर्तिमानी नेता सुवर्णशमशेरको जीवनलाई जति ध्यान दिएर हेरिन्छ, उहाँप्रतिको सम्मान र प्रभाव त्यति नै बढ्दै जान्छ ।

राणाकालको जगजगीका बेला ‘जन्मिँदै मुखमा चाँदीको चम्चा लिएर आउनुभएका’, कवि शिरोमणि लेखनाथ पौड्यालले पढाएका, सुवर्णजी प्रधानमन्त्री भीमशमशेरका सबैभन्दा प्रिय नाति हुनुहुन्थ्यो । उहाँ राणाशासनमा नै केही समय वीरगन्जमा बडाहाकिम र पद्मशमशेर प्रधानमन्त्री हुँदा उहाँको निजी परामर्शदाता पनि हुनुहुन्थ्यो । तर राणाशासनका विरुद्ध सबै असफल विद्रोहलाई समेट्दै नेपाली कांग्रेसलाई निर्णायक जनक्रान्ति गर्न उहाँले सक्षम बनाउनुभयो ।

नेपाली कांग्रेसले वीरगन्ज महाधिवेशन २०१२ बाट समाजवादलाई आधारभूत सिद्धान्तका रूपमा अपनाउँदा प्रस्तावक उहाँ नै हुनुहुन्थ्यो । सो महाधिवेशनमा सभापति निर्वाचित भएपछि सम्बोधन गर्दा उहाँले भन्नुभएको थियो, “पश्चिमी साम्राज्यवादसँग मितेरी लगाएर निहित स्वार्थ रक्षा गर्न एकतन्त्रीय राणाशाहीले एक शताब्दीसम्म नेपाल र नेपालीलाई जकड्याएर राख्यो । यसको प्रभावले हाम्रो गतिको बाटो अझ सिधा भएको छैन ।

व्यवस्थाहीन बेकार बन्यौँ, अशिक्षित पछौटे रह्यौँ र दरिद्र ज्यामीको पेसा गर्न बाध्य भयौँ । जताततै जनशक्तिको सञ्चार भयो । तर हामी बन्दी गुलाम भैराखियौँ । दोस्रो विश्वयुद्ध पछि एसियामा भएको महान् परिवर्तनको प्रभाव रोक्न राणाशाहीले कम प्रयत्न गरेको होइन, तर हामीमा चेतना आयो, जनजीवनको आदर्शले हामी जागृत भयौँ । संकुचित व्यक्तिगत स्वार्थमा अन्धा भएर देश र देशवासीलाई दुःख दिने दानवीय एकतन्त्रीय जहानियाँ राजलाई अन्त गरेर मात्र नेपाल र नेपालीले प्रगति गर्न सक्दछ भन्ने कुरा प्रादुर्भाव भयो ।

नेपाली कांग्रेसले यो आवश्यकता पूर्ति ग¥यो ।” राणा शासनको बिरोधमा यसरी उहाँ सबभन्दा अग्रणी हुनुहुन्थ्यो । २००७ सालको जनक्रान्तिका ‘डिक्टेटर’ मातृकाप्रसाद कोइराला भन्नुहुन्थ्यो, “बीपी र सुवर्णजीलाई हामीले विभिन्न रूपमा हेरे पनि इतिहासले अभिन्न व्यक्तित्वका रूपमा हेरेको छ । उनीहरूका बीचको एकआपसको समझदारी, समन्वय र सामन्जस्यता अद्भुत थियो ।

यो पनि सही हा ेकि म त क्रान्तिको डिक्टेटर मात्र थिएँ, तर धन परिचालनमा सुवर्णजी र जनपरिचालनमा बीपी नै निर्णायक थिए । धनमात्र भनिदियो भने अर्थ विकृत हुन सक्छ । सुवर्णजीमा दानशीलताको जुन प्रचुरता थियो, बडाहाकिम भएको अनुभवले प्रशासनिक र गहिरो अध्ययनले बौद्धिक खुबी पनि त्यति नै प्रचूरता दिएको थियो । सुवर्णजी प्रारम्भदेखि नै राणाशासनको अन्त्यका लागि सशस्त्र क्रान्ति नै जरुरी देख्नुहुन्थ्यो ।

दुई पार्टीको रूपमा स्थापित कांग्रेसलाई आपसमा विलय गराएर नेपाली कांग्रेस खडा हुनु अगावै सुवर्णजीले मेजर पुरन सिंह (खवास) को कमाण्डमा करिब दुई सय जवानको टुकडी गठन गरेर तालिमको व्यवस्था गरी सक्नुभएको थियो ।” मातृका बाबुले आफ्नो संस्मरण, ‘ए रोल इन् ए रिभोल्युसन’मा यो पनि लेख्नुभएको छ, “जनरल सुवर्णशमशेर राणा, नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेस निर्माण भएपछि गठन भएको पार्टीको सर्वोच्च निर्देशक परिषद् (सुप्रिम कमान्ड काउन्सिल) का एक प्रमुख सदस्य हुनुहुन्थ्यो ।

मेरो अध्यक्षतामा रहेको त्यो हाई कमान्डमा बीपी कोइराला र सुवर्णजी सदस्य हुनुहुन्थ्यो । कांग्रेस सभापतिको नाताले त्यो कमान्डको अध्यक्ष म थिएँ तर मुक्तिसेनाको वास्तविक नेता भने सुवर्णजी हुनुहुन्थ्यो ।” नेपाली कांग्रेसले जति पनि क्रान्तिकारी कदम चलायो ती सबैमा सुवर्णजीको नेतृत्व, संलग्नता र निर्णय हुने गर्दथ्यो । यदि सुवर्णजीको नेतृत्वसँग उदारमना आर्थिक योगदान नभएको भए २००७ सालको क्रान्ति पछाडि धकेलिन सक्थ्यो, वा क्रान्तिमा सर्तले बाँधिएका सहयोगहरूद्वारा यसको लक्ष्यलाई बिथोल्ने प्रयास हुने जोखिम हुन्थ्यो ।

सुवर्णजीको सम्पूर्ण आर्थिक सहयोगकै कारण क्रान्तिमा चाहिने पैसाका लागि कांग्रेसले कसैको मुख ताक्नु परेन, न त स्वाभिमानको मूल्यमा कसैका सर्त बोक्नुपर्ने अवस्था नै आयो ।

२०१५ सालको प्रथम आमनिर्वाचनमा पनि नेपाली कांग्रेसले सुवर्णजीको अद्वितीय आर्थिक सहयोग पायो । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष रहिसक्नु भएका राजनीतिज्ञ खनुपरुदे रामबाबु प्रसाईंले २०७५ को दसैँमा मसँगको भेटमा भन्नुभएको थियो, “२०१६ सालको सरकारका पालामा पार्टीलाई कतैबाट पाँच लाख रुपियाँको रकम अनपेक्षित र निःसर्त रूपमा आएको थियो ।

तर नेताहरूले त्यसलाई ठाडै अस्वीकार गर्नुका साथै फर्काइदिनुभएको थियो । सुवर्णजीले नेताहरूसँग भन्नुभएको थियो, मैले सकुन्जेल पार्टी सञ्चालनमा पैसाको लागि कसैको मुख ताक्नु पर्दैन । साँच्चै नै उहाँले २००५ सालदेखि निधन हुनेबेला (२०३४ कात्तिक) सम्म नै २९ वर्षसम्म कांग्रेसलाई आर्थिक सहयोग गरिरहनु भयो ।”

२००७ सालको जनक्रान्ति गर्नका लागि सुवर्णजीले गर्नुभएको आर्थिक योगदानको रोचक सन्दर्भ छ, जुन कुनै पनि पार्टीले सुखानुभूति पाएको देखिन्न । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस २००६ साल चैत २७ गते एकीकरण भएर नवयुग र पूर्ण प्रजातन्त्रका प्राप्तिका लागि सशस्त्र क्रान्ति गर्ने कटिबद्धताका साथ नेपाली कांग्रेस भएपछि कलकत्तास्थित आफ्नो निवासमा सुवर्णजीले बीपी र गणेशमानजीलाई चियापानका लागि बोलाउनुभयो ।

सो अवसरमा सुवर्णजीले सोध्नुभएछ, “विश्वेश्वर बाबु, क्रान्तिका लागि जम्मा कति रकम चाहिएला ? ल यी सब कुरा छोडिदिउँ, क्रान्तिका लागि अहिले १ करोड (भा.रु.) दिन सकिन्छ । आवश्यकता प¥यो भने थप त्यति नै रकम जुटाउँला । तर एउटा सर्त छ, यसका लागि मैले जति खर्च गर्ने हो त्यसमा भाइ महावीरको आधा योगदान हुन्छ, त्यसैले दुवैले रकम जुटाउनु पर्ने हुँदा रकमको लागि मैले दुई, चार दिनअगावै थाहा पाउनुपर्छ ।” यसरी २००७ सालको जनक्रान्तिमा दुई करोड भा.रु. खर्च भयो ।

सो प्रसंगबारे गणेशमानजीले जीवनभरि आश्चर्यका साथ आत्मकथा, अन्तर्वार्ता र भाषणहरूमा बताइरहनु भयो । यस्तो उदारपना व्यक्तित्व भएको राजनेता अरू कुन राजनीतिक दलमा छन् ? मैले त देखेको छैन । उहाँ कसैलाई उपदेश दिनेभन्दा आफैँ उदाहरण बन्ने राजनेता हुनुहुन्थ्यो । कांग्रेस, क्रान्ति र परिवर्तनको राजनीति गर्दा सुवर्णजीले कुनै लाभ उठाउनु भएको थिएन, बरू धेरै कुरा गुमाउनु परेको थियो ।

देहरादुनमा पढेर आएका आफ्ना अत्यन्त प्रिय र होनहार भाञ्जा थीरबम मल्लको वीरगन्ज आक्रमणका बेला मारिएर सशस्त्र क्रान्तिको पहिलो सहिद हुनुभयो । २०१६ सालमा जमिनदारी प्रथा उन्मूलन गर्दा उहाँले आफैंबाट यो प्रथाको उन्मूलन प्रारम्भ गर्नुभयो र १२ हजार बिघा जमिनको स्वामित्व सरकारलाई जिम्मा लगाउनु भयो । वन–जंगल राष्ट्रीयकरण गर्दा पनि उहाँको व्यक्तिगत सम्पत्तिमा ठूलो घाटा भएको थियो । राजा–रजौटा उन्मूलन गर्दा आफ्नै दाजुभाइहरू उहाँका विरुद्ध खनिए ।

वायुसेवालाई राष्ट्रीयकरण गरी आरएनएसी बनाउँदा राजदरबारले ठूलो सिकायत गरेको थियो र यो निर्णय रद्द गराउन जोड ग¥यो । २०१६ सालमा राजा महेन्द्रले प्रधानमन्त्री उहाँ नै हुनुपर्ने इच्छा जाहेर गर्दा पनि महेन्द्रको त्यो इच्छामा ठेस पु¥याएर बीपीलाई नै प्रधानमन्त्रीका लागि प्रस्तावित गर्दा महेन्द्र असन्तुष्ट भएकै हुन् । उहाँ तन, मन, धन लगाएर मुलुकमा प्रजातान्त्रिक समाजवादी पद्धति स्थापना र सशक्तीकरणका लागि समर्पित हुनुहुन्थ्यो ।

धेरै कीर्तिमान उहाँले कायम गर्नुभएको छ । पहिलो पटक बजेट सार्वजनिक रूपमा प्रस्तुत गर्ने आधुनिक नेपालको पहिलो अर्थमन्त्री, पहिलो आम निर्वाचन गराउने सरकारका पहिलो अध्यक्ष, तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव जित्ने आजसम्मका एउटै नेता, त्रिभुवन विश्वविद्यालयको पहिलो उपकुलपति आदि विशेषता उहाँको व्यक्तित्वमा प्रतिष्ठाको रूपमा सजिएका छन् । नेपालको पहिलो वार्षिक बजेट प्रस्तुत गर्ने आधुनिक नेपालको पहिलो अर्थमन्त्री सुवर्णजी नै हुनुहुन्थ्यो ।

उहाँले २००८ साल माघ १९ गते पहिलो पटक रेडियो नेपालबाट बजेट सार्वजनिक गर्दा देशको कुल आम्दानी रु. ३ करोड ५ लाख १६ हजार थियो । किशुनजी हामीसँग भन्नुहुन्थ्यो, ‘त्यति आम्दानी भनेको त्यो बेलाको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को वार्षिक आम्दानी बराबर हो । हाम्रो काँधमा आएको बेला मुलुकको आर्थिक अवस्था त्यस्तै थियो ।’

गद्दी छोडेर दिल्ली पुगेका त्रिभुवनलाई गद्दीमै फर्काउने काम मात्र कांग्रेसले गरेन, महेन्द्रलाई राजा हुने हैसियतमा कायम राख्न पनि कांग्रेसका नेताहरूको निर्णायक भूमिका छ । तर तिनै राजा महेन्द्रले प्रजातन्त्रमाथि मात्र कुठाराघात गरेनन् नेपाली कांग्रेस तथा बहुदलीय व्यवस्था माथि पनि कुठाराघात गरे । युवराजकै हैसियतमा हुँदा राजा महेन्द्रले रत्नसँग बिहे गर्न चाहेका थिए, तर पिता त्रिभुवनको यसमा गम्भीर असहमति थियो ।

महेन्द्रले रत्नसँग बिहे गर्ने नै भए भने उनको युवराज पद खोस्ने र गोर्खा दरबारमा बसोबास गर्न पठाइदिने भनी त्रिभुवन र मातृकाबाबुबीच सहमति भएर गोरखा दरबारमा त्यही अनुरूपको तयारी पनि चल्न थालेको रहेछ । महेन्द्रलाई युवराजबाट हटाइयो भने त्रिभुवनलाई पनि अपदस्थ गरिदिने सम्भावनासहित बीपी, गणेशमानजी, सुवर्णजीले महेन्द्रकै इच्छाको पक्ष लिनुभयो ।

आखिर त्रिभुवन महेन्द्रको इच्छामा सहमत हुन बाध्य त भए, तर उनी विवाह अवधिमा कलकत्ता गएर बस्ने भए । यता महेन्द्रको आवश्यक बिहा खर्च सरकारले बेहो¥यो । महेन्द्रलाई नपुग पैसा रु ४० हजार सुवर्णजीले आफ्नै तर्फबाट हालिदिनु भयो ।

कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमएको योग्यता बनाउनुभएका सुवर्णजी युवराज महेन्द्रका अंग्रेजी सिकाउने गुरु पनि हुनुहुन्थ्यो । तर २०१७ साल पुस १ गतेको कदम चलाउँदा महेन्द्रले यी सब कुरा बिर्सिए ।

वास्तबमा २०१५ सालको प्रथम आमनिर्वाचन सम्पन्न भएर सरकार गठन भएदेखि नै राजा महेन्द्र निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसद् नै भंग गरी आफ्नै अधिनायकवादी शासन चलाउने अनेक दाउ र प्रयास गर्न थालेका थिए ।

सरकार गठनको एक वर्षपछि उनी करिब चार महिना लामो विदेश भ्रमणमा गए । त्यो बेला सरकारको तर्फबाट सुवर्णजी उनी सँगै जानुभएको थियो । त्यही प्रसंगमा बीपीले ‘आत्मवृत्तान्त’ मा लेख्नुभएको छ, “राजासँग सुवर्णजी जाँदा स्कटल्यान्डमा, पेरिसमा राजाले कुरा गरेका रहेछन्, ‘तिमीले मलाई मद्दत गर्छौ कि गर्दैनौ, मैले सरकार लिएँ भने’ ।

सुवर्णजीले भन्नुभएछ ‘सरकार, गलत कुरो हुन्छ । केही मतभेद छन् भने प्रधानमन्त्रीसँग सरकारले त्यो गराउनुपर्छ । कू गरेर त देशको निम्ति पनि राम्रो हुँदैन, सरकारको निम्ति पनि राम्रो हुँदैन । म त सल्लाह दिन सक्तिनँ ।” सुवर्णजी राजाप्रति नरम विचार राख्नुहुन्थ्यो, तर प्रजातन्त्रको मूल्यमा कदापि सम्झौता गर्नु भएन ।

२०२५ सालमा राजा महेन्द्रले सर्लाहीमा पुगेर ‘मुलुकमा संकटको कालो बादल मडरिन थालेको’ भन्दै संकटको बेलामा सबै मतभेद बिर्सेर राष्ट्रिय एकतामा जुट्न आह्वान गरेका थिए । उनको भाषण नेपाली कांग्रेसतिर लक्षित थियो । प्रत्युत्तरमा पार्टी सभापतिको हैसियतले जेठ २ गते २०२५ मा सुवर्णजीबाट एक वक्तव्य प्रकाशित भयो ।

त्यसमा व्यक्तिभन्दा पार्टी महत्वपूर्ण हो, पार्टीभन्दा देश महत्वपूर्ण हो भन्ने आशयका साथ मुख्य तीन वटा सर्तका साथ ‘राजासँग सहयोगात्मक सम्बन्ध’ राख्ने कांग्रेस तर्फबाट ‘ओलिभ ब्रान्च’ (शान्तिको संकेत) देखाइयो । तीन सर्त– सबै राजबन्दीको रिहाइ, जफत गरिएको सम्पत्ति फिर्ता हुनुपर्ने र आमनिर्वाचनबाट सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने भन्ने थिए ।

सुवर्णजीको सोही वक्तव्यका आधारमा सुन्दरीजल बन्दीगृहमा राखिएका बीपी, गणेशमानजीलगायतका नेताहरू छुट्नुभयो । तर मुलुकको समग्र परिस्थितिलाई राजनीतिको नेतृत्व गरिरहेका राजा महेन्द्रले त्यसभन्दा अगाडि जान दिएनन् ।

सुवर्णजीसँग मेरो प्रत्यक्ष भेटघाट तीन पटक कलकत्तामै र २०२५ सालतिर काठमाडौँमा आएपछि पटकपटक भएको थियो । मैले कलकत्तामा नै उहाँबाट नेपाली कांग्रेसको सदस्यता लिएको हुँ । हामी नेबि संघको स्थापना गरेपछि उहाँलाई भेट्न कलकत्ता गयौँ ।

पुगेको दिन थाकेर आएको हुनाले आराम गर्ने, भोलिपल्ट भेट गर्ने कुरा भयो । हामी विद्यार्थीहरूसँगको भेटमा राष्ट्रिय राजनीतिक परिस्थिति र विद्यार्थी गतिविधिमै केन्द्रित रहेर लामो कुराकानी भयो । उहाँले हामीलाई खुलेर भन्नुभयो, ‘हुन त पार्टीको सभापति मै हुँ, तर विद्यार्थी र तरुणहरूलाई बीपीले नै निर्देशन दिनुहुन्छ, त्यसैले तपाईंहरूले उहाँसँग सम्पर्क राखेर काम गर्नुपर्छ ।’

त्रिवि विद्यार्थी युनियनको तर्फबाट अल इन्डिया स्टुडेन्ट एसोसिएसनको निमन्त्रणामा भारतका विभिन्न स्थलको भ्रमण गर्ने क्रममा कलकत्ता पुगेपछि उहाँसँग मेरो तेस्रो भेट भएको थियो । त्यस भेटमा पनि उहाँसँग मुलुकको परिस्थितिका बारेमा खुलेर कुरा भयो ।

उहाँले त्योबेला अंग्रेजीमा भनेका तीन वाक्य अझै पनि मलाई सम्झना छ– १. राजनीति धैर्यको खेल हो, २. राजनीति सम्भावनाको कला हो । ३. राजनीति सम्झौताको कला हो ।

कालान्तरमा उहाँले दिएका यी तीन सूत्र मेरो राजनीतिक यात्राका प्रेरणा शक्ति बन्न पुगे । नेपाली कांग्रेस युग निर्माता राजनेताहरूले स्थापना गरेको पार्टी हो । जननायक बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई त्योबेला ‘बिग फोर’ मानिन्थ्यो । बिग फोरका बीचमा पनि सैद्धान्तिक मतान्तर र वैचारिक विवाद देखिन्थ्यो । तर उहाँहरूका बीचको विवाद सामूहिक छलफल र उत्तरदायित्वपूर्ण सहमतिबाटै टुंगिन्थ्यो ।

कहिलेकाहीँ त्यस्तो मतभेदले गम्भीर रूप पनि लिने गथ्र्यो । सुवर्णजीले चाहेको भए यस्ता मतभेदको आधारमा उहाँलाई पार्टी फुटाउने अवसर पनि थियो । उहाँको साथमा तत्कालीन राजा महेन्द्र, पार्टीभित्रका ठूलो तप्का, बिग फोरका सूर्यप्रसाद उपाध्याय र ठूलो सम्भ्रान्त वर्गलगायतको शक्ति थियो । तर पार्टीप्रतिको निष्ठा र समर्पणका कारण उहाँ निहित स्वार्थ बोकेर सत्ता र शक्तितिर कहिल्यै आकर्षित हुनु भएन ।

२०१५ सालको आमनिर्वाचनका लागि गठित चुनाबी मन्त्रिमण्डलको उहाँ अध्यक्ष हुनुहुन्थ्यो । निर्वाचनमा कांग्रेसले प्रचण्ड (दुई तिहाइ) बहुमतका साथ सरकार बनाउने अवसर पाएको थियो । राजा महेन्द्र सुवर्णजीलाई नै प्रधानमन्त्री बनाउन चाहन्थे । धेरै सांसदहरू र परिवारको सदस्यहरूको उत्कट चाहना पनि यही थियो । तर उहाँले आफ्नो नैतिक धर्म र अडान छोड्नु भएन ।

उहाँले आफैँले बीपीलाई प्रधानमन्त्रीको लागि कांग्रेस संसदीय दलको नेताको प्रस्ताब राख्नुभयो, त्यसैमा सर्वसम्मति भयो । चुनाव परिणामबाट राजा महेन्द्र बेचैन त भएकै थिए, प्रधानमन्त्रीमा सुवर्णजीको साटो बीपी हुने भएपछि झन् तनावग्रस्त हुन थाले । उनले त्यही बेलादेखि कांग्रेसको निर्वाचित सरकारको विघटनको साइतका लागि उल्टोगिन्ती (ऋयगलत मयधल) गर्न थाले ।

अझै पनि सुवर्णजीका योगदानहरूको सही मूल्यांकन भएको छैन । सुवर्णजीले तीन पटक अर्थमन्त्री भएर नेपालको विकासका लागि कोरेको रूपरेखाले पूर्णता पाउन सकेको छैन । उहाँद्वारा निर्मित अर्थतन्त्रको ढाँचामा नै मुलुकको राष्ट्रिय अर्थतन्त्रको आधारशिला रहेको छ । त्यसैले सुवर्णजीका योगदानको कदर गर्नका लागि उहाँले बनाएको विकासको रूपरेखा अनुरूप लगानी, उत्पादन, निर्यात रोजगारीमा वृद्धि गरी वितरणमा सामाजिक न्यायको ब्यवहार अपनाउने ‘आर्थिक प्रजातन्त्र’ अवलम्बन गर्नुपर्छ ।

यसो गर्न सक्ने राष्ट्रिय शक्ति नेपाली कांग्रेसमा पूर्ण एकता र लक्ष्यप्रति समर्पित क्रियाशील वातावरण निर्माणको आवश्यकता छ । २०३४ साल कात्तिक २४ गते उहाँको निधन भयो । उहाँका योगदानप्रति कृतज्ञ रहँदै उच्च मूल्यांकन गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

(प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पुस्तक, ‘चिन्तनको ः सुवर्ण विशेष’ २०७५ बाट साभार )