काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने सेमिफाइनल खेलमा होबर्ट हुरीक्यन्सविरुद्ध विकेट विहीन भएपनि उनको टोली स्टार्सले फाइनलमा स्थान बनाएको छ ।
होबर्टको घरेलु मैदानमा स्टार्सले उसलाई ६ विकेटले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो । बीबीएलको पहिलो सेमिफाइनलमा स्टार्सले होबर्टविरुद्ध जित निकाल्न कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरे ।
यसअघि समूह चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले आजको खेलमा बलिङ कसिलो गरेपनि विकेट लिन भने सकेनन् । उनले ४ ओभरमा ३१ रन खर्चेका थिए ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको होबर्टले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबर्टले १५३ रन बनाएपछि १५४ रनको लक्ष्य पछ््याएको स्टार्सले ७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यौ ।
पहिलो पटक बीबीएल खेल्ने अवसर पाएका सन्दीपले ७ खेलमा ११ विकेट लिए । सन्दीपले ११ विकेट लिनेक्रममा १ सय ७९ रन खर्चेका थिए ।
२०१८ को इन्डीयन प्रिमियर लिग (आईपीएल) तत्कालीन दिल्ली डेयर डेभिल्सबाट खेलेपछि विश्व क्रिकेटको ट्वान्टी—२० फ्रेन्चाइज लिगमा अनिवार्य जस्तै भएका सन्दीपले बीबीएलमा स्टार्सबाट पहिलो खेलमै ‘डेब्यु’ को अवसर पाएका थिए ।
आईपीएल, बीबीएल जस्ता ठूला फ्रेन्चाईजी लिग खेलेका सन्दीपले पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्नेछन् ।
प्रतिक्रिया