देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चोभारका स्थानीय आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीको सिलान्यास प्रभावित

देशान्तर

काठमाडौँ । राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत रहेका छन् ।

चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिवद्धता विपरित बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रिनु परेको बताए ।

उनले विद्यमान समस्याको समाधान नभई सुख्खा बन्दरगाह उपयुक्त भए नभएको निर्णयमा पुगिनसकिएको अवस्थामा भूमिगत शैलीमा योजनाको शिलन्याय गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।

स्थानीयको विरोधका कारण प्रधानमन्त्रीले शिलान्याश गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम निर्धा्रित कार्यक्रममा सुरु हुन सकेको छैन । प्रहरी हस्तक्षेपका बीच स्थानीयको आन्दोलन जारी रहेको छ भने चोभार क्षेत्रमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयले ऐतिहासिक र पर्यटकीय महत्व बोकेको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिनु नहुने अडान राख्दै निरन्तर दवावमूलक आन्दोलन गर्दै आएका छन् ।