देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपीको विचार र कर्मकाण्डी महासमिति बैठक

देशान्तर

लोकेश ढकाल
नेपाली कांग्रेसको महासमिति बैठक ऐनकेन–प्रकारेण सकिएको छ । झन्डैझन्डै नेतृत्वजन्य बिघ्नवाधाले नेविसंघको महाधिवेशन जस्तै हुने हो कि भन्ने चिन्ताका बीचमा दस दिन लगाएर महासमति बैठक समापन भयो । यसैलाई पनि एउटा राजनीतिक उपलब्धि मान्नु परेको छ ।
विधानबमोजिम प्रत्येक वर्ष वस्नुपर्ने महासमिति पछिल्लो महासमिति बैठकपछि पाँच वर्ष र १३औं महाधिवेशन सम्पन्न भएपछि करिब तीन वर्ष पछि बसेको हो, तयारी र व्यवस्थापन कमजोर बन्न गयो । पार्टीको आन्तरिक वस्तुस्थितिलाई विश्लेषण गरेर महासमिति बैठक सम्पन्न हुनुबाहेक विचार पक्ष, संगठन र गुटबन्दीका हिसाबले यो पंक्तिकार महासमिति बैठकप्रति आशावादी थिएन, त्यस्तै भयो । तथापि आम कांग्रेसजन गुटबन्दीको अन्त्य हुने, बीपी कोइरालाको विचार चिन्तनअनुसार कांग्रेस हिँड्ने र विधानको उचित संशोधन हुने ठूलो आशा र अपेक्षासहित महासमिति बैठकमा सहभागी भएका थिए । तर १० दिनसम्म चलेको महासमिति बैठकबाट आशा र उत्साह लिएर फर्कन सकेनन् ।

एकताको सन्देश दिँदै महासमिति बैठक सफलतापूर्वक सम्पन्न भयो भनेर घोषणा गरिएको समापन समारोहको राप र ताप सेलाउन नपाउँदै वरिष्ठ नेताले स्पष्टसँग एकता हो तर एकरूपता होइन भनेर सन्देश दिनुभयो भने सिटौला एन्ड कम्पनीले हाम्रो कम्पनी खारेज भएको छैन भनेर आफ्नौ गुटको उपस्थिति जनाई सकेपछि कांग्रेसमा गुटको अन्त्यको सपनाको लड्डु जस्तै भएको छ । महाधिवेशन नजिकिएसँगै अन्य गुटहरूको झाँकी पनि देखिँदै जानेमा शंका छैन ।

कांग्रेस महासमिति बैठकको समापनको आठ दिनपछि भोलि पुस १६ गते ४३औं राष्ट्रिय एकता र मेलमिलाप दिवस परेको छ । आजभन्दा ४२ वर्षअगाडि यसै दिन बीपी कोइराला सबै खाले राजनीतिक एवम् व्यक्तिगत (सम्भावित मृत्युदण्ड वा फाँसी) जोखिमहरूलाई पर्वाह नगरी देशको अस्तित्व संकटमा परेको महसुस गरी राष्ट्रियता र देशको अस्तित्वको लागि देशका सामु “राष्ट्रिय एकता र मेलमिलाप”को प्रस्ताव राख्दै आफ्ना राजनीतिक सहपाठी गणेशमान सिंहका साथ दर्जनौं कार्यकर्तासहित भारत स्वनिर्वासनलाई परित्याग गर्दै स्वदेश फर्कनु भएको थियो । यस दिनलाई विगतदेखि नै राष्ट्रिय एकता र मेलमिलाप दिवसको रूपमा मनाउने परम्परा रहँदै आएको छ ।

जननेता बीपी कोइरालाले देशका सामु राख्नु भएको राष्ट्रिय एकता र मेमिलापको प्रस्तावलाई त्यसबेला राजादेखि सबै राजनीतिक शक्तिले स्वीकार गरेको भए मुलुक आजको जस्तो गम्भीर संकटको मोडमा हुने थिएन । त्यसबेला देश प्रेमको भावनाबाट ओतप्रोत भएर राखिएको त्यो प्रस्तावलाई न त तत्कालीन राजाले स्वीकार गरे, न स्वयम् बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसले इमानदारिपूर्वक आत्मसात् ग¥यो । त्यो प्रस्तावलाई अस्वीकार गरेकै परिणाम हो अन्ततः देशबाट राजसंस्थाको पतन भयो भने, इतिहासको त्यो गौरवशाली प्रजातान्त्रिक एवम् राष्ट्रवादी दल नेपाली कांग्रेस पार्टी राष्ट्रिय संकटको यो घडीमा देशलाई राजनीतिक निकास दिएर राष्ट्रिय संकटबाट मुक्त गरी देशलाई बचाउन नेतृत्वदायी भूमिका खेल्न नसक्ने अवस्थामा उभिएको छ । देशको सत्ता झन्डै दुई तिहाई बहुमतको साथ कम्युनिस्टको हातमा छ, कांग्रेस सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न नसकी बिलखबन्दको अवस्थामा आन्तरिक द्वन्द्वबाट ग्रसित भएर रुमलिएको छ ।

बीपी कोइरालाले आफ्नो जीवनमा आफ्नै साथीहरूले आफूलाई साथ नदिएको गुनासो बरोबर गर्नु भएको थियो । बीपीलाई जीवन छँदै साथ नदिएको पार्टीले जीवन पछि उहाँको विचारलाई किन पछ्याउँथ्यो ? सहजै अनुमान गर्न सकिन्छ । बीपीको निधनको लगत्तै कांग्रेसले बीपीको भावना विपरीत कम्युनिस्ट पार्टीहरूसँग सहकार्य वा गठबन्धन गर्न पुग्यो । जसको परिणाम आज देशमा प्रजातान्त्रिक शक्ति कमजोर र वामपन्थी शक्ति बलिया भएका छन् ।

आजको देशको संकटपूर्ण राजनीतिक परिस्थिति र दिशाहीन नेपाली कांग्रेसको निरीहतापूर्ण अवस्थामा बीपीलाई श्रद्धापूर्वक स्मरण गर्दै राष्ट्रिय एकता र मेलमिलाप दिवसको पूर्वसन्ध्यामा भन्नै पर्दछ, पछिल्लो कालखण्डमा नेपाली कांग्रेसको नेताहरूको सत्ता मोहले उग्र–कम्युनिस्टहरूसँगको अस्वाभाविक एवम् सिद्धान्तहीन निकटताले नेपाली कांग्रेस पार्टीको सैद्धान्तिक एवम् वैचारिक मौलिकता धुमिल भएको छ, मुलुकको लामो प्रजातान्त्रिक आन्दोलनबाट स्थापित एवम् आर्जित कांग्रेसको आफ्नै खालको गौरवशाली चरित्र वा कांग्रेसपनको साख समाप्त हुँदै गएको छ । विचार र सिद्धान्तले बीपी र वर्तमान नेपाली कांग्रेसको दूरी बढ्दै गएको छ । गणेशमान र किशुनजीसँगको नाता टाढिदै गएको छ र पार्टी काँधमा कम्युनिस्टहरूको एजेन्डाको भारी बोकेर गन्तव्यहीन यात्रामा भौतारिएको छ । दुःखका साथ भन्नै पर्दछ, दस दिनसम्म चलेको महासमिति बैठकले यस्तो गम्भीर विषयमा अलिकति पनि ध्यान दिन सकेन ।

बीपी कोइरालापछि आधुनिक नेपाली राजनीतिमै नेपाली राष्ट्रियताको संवेदनशीलता र यसको चुरोलाई राम्रोसँग बुझेका महान् प्रजातन्त्रवादी एवम राष्ट्रवादी नेता कृष्णप्रसाद भट्टराई हुन्भन्दा कसैले विमति राख्नु पर्दैन । भट्टराईले आफ्नो जीवन छँदै आफैं समेतले स्थापना गरेको र सिंगो राजनीतिक जीवन बिताएको नेपाली कांग्रेस पार्टीबाट घोर पीडा र अपमान सहँदै दुःखका साथ अलग हुनुको कारण नेपाली कांग्रेसको वैचारिक विचलन नै थियो । राष्ट्रिय एकता र मेलमिलापको नीतिको भावना विपरीत नेपाली कांग्रेसकोे महासमितिको बैठकले नाटकीय ढंगले निर्णय गरे पछि महासमितिको बैठकको समुद्घाटन सत्रमा उपस्थित रहनु भएका किशुनजीले सोही महासमिति बैठकलाई एउटा पत्र पठाएर पार्टीबाट अलग भएको घोषणा गर्नु नेपालको राजनीतिक इतिहासकै एउटा दुःखद् घटना थियो ।

राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्र प्राप्त गर्ने र प्रजातन्त्रलाई आधार बनाएर राष्ट्रियतालाई अझ बलियो बनाउने कांग्रेसको त्यो गौरवशाली इतिहास आज कुण्ठामा परिवर्तन भएको छ । कुनैबेला नेपालको आर्थिक, सामाजिक र कूटनीतिकलगायत प्रत्येक क्षेत्रमा नेतृत्वदायी अग्रगामी विचार संवाहन एवम् प्रवाह गर्ने त्यो नेपाली कांग्रेस आज कस्तो पक्ष र कस्तो प्रवृत्तिको पृष्ठपोषक हुन पुगेको छ ? बुझ्नुपर्ने बेला आएको छ । कांग्रेसका वर्तमान युवा पुस्ताले आफ्ना नेतृत्वका सामु यसको जवाफ माग्नुपर्छ । कांग्रेसको स्थापनाकालीन सिद्धान्त (फाउन्डिङ प्रिन्सिपल्स) लाई कसले अपहरण गरेको छ ? नेपाली कांग्रेसजस्तो महान् प्रजातन्त्रवादी दलको आजको दुरावस्थाको प्रमुख कारण पार्टी संगठनको राष्ट्रवादसँगको नाता टुट्नु हो । यत्रो महासमिति बैठकमा महासमिति सदस्यहरूको यस विषयमा कुनै गम्भीरता प्रदर्शन हुन सकेन ।
आतिवादी कम्युनिस्टभन्दा बढी क्रान्तिकारी बन्ने बहानामा देश, देशको राष्ट्रियता र राष्ट्रिय एकताको सूत्र बनेर रहेको नेपालको परम्परागत मौलिक धर्म–संस्कृति एवम् प्रजातान्त्रिक मूल्य मान्यता विपरीत केही नेता विशेषको हठ र सत्ता स्वार्थमा सिंगो नेपाली कांग्रेस पार्टीलाई नै गलत बाटोमा हिँडाइएको परिणाम आज कांग्रेस कांग्रेस जस्तो छैन । पार्टी संगठन छ, कार्यकर्ताको भीड त छ, तर त्यो भीडमा वास्तविक कांग्रेस भने कताकता हराइरहेका छन्, वास्तविक कांग्रेस खोज्ने काम हालैको महासमिति बैठकले पनि गर्न सकेन ।

राष्ट्रियता नेपाली कांग्रेसको स्थापनाकालीन सिद्धान्त हो । राष्ट्रियताकै लागि प्रजातन्त्रको लडाइँ लडिएको हो । कम्युनिस्टहरूको जस्तो केवल राजनीतिकवादको आवरणमा राष्ट्रियता र राष्ट्रियभावलाई बिर्सेर केवल प्रजातन्त्रको लागि मात्र कांग्रेसले क्रान्ति गर्न सम्भव छैन । प्रजातन्त्रको पहिलो र एउटा मात्र सैद्धान्तिक धार छ, त्यो धार भनेको राष्ट्रिय एकता र मेलमिलापको आधारमा राष्ट्र बलियो बनाउने नै हो । यो नीति नै राष्ट्रिय एकता र मेलमिलापको नीतिको सार हो । त्यो नै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पनि नीति थियो । मुलुकको यति लामो राजनैतिक इतिहासमा राष्ट्रिय एकताका हिमायती बीपीलाई बिर्साउने अर्को तागत वा शक्ति नेपाली कांग्रेसमा मात्र होइन, सिंगो देशमा नै अर्को व्यक्ति अहिलेसम्म जन्मन सकेको छैन ।

सत्ता स्वार्थमा राष्ट्रियताको भावनाबाट भड्किएका नेपाली कांग्रेसका केही नेताहरूले लज्जास्पद तरिकाले बीपीले राजनीति गरेको नेपालको कालखण्ड अर्कै थियो, अब समय परिवर्तन भइसक्यो भन्दै बीपीको विचार चिन्तनलाई अपव्याख्या गरिरहेका छन् र पार्टीलाई सिद्धान्तहीन सत्ताको खेलमा फालेर वामपन्थी भासमा धकेलिरहेका छन् । महासमिति बैठक केवल कर्मकाण्डमा नै सकियो, यस्तो गम्भीर विषयमा प्रवेश गर्न नै रुचि राखेन ।

राजनेता बीपी कोइरालाले त्यसै भन्नुभएको थिएन– “हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किंदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ ।

हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो । त्यसले गर्दा हाम्रो देशमा विदेशी तत्वहरू कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ । त्यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।

हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारसँग मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी देशको अस्तित्वको रक्षा गर्ने हो । प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ भन्ने हामीलाई लाग्छ ।

यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सुत्रमा बाँधिनु पर्छ । हाम्रो कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौं’ भन्ने भावनाले प्रेरित हुनुपर्दछ ।’ यस्तो महान् राष्ट्रवादी नेता बीपी कोइरालाले स्थापना र नेतृत्व गरेको दल आज राष्ट्रियतासँग नाता कमजोर बन्न पुगेकै कारण जनताबाट दण्डित हुन पुगेको छ, योभन्दा दुर्भाग्यको विषय के हुन सक्छ ?

बीपी कोइराला हामीबाट बिदा हुनु भएको ३६ वर्षभन्दा बढी भएको छ । उहाँको अनुयायी र उत्तराधिकारीहरूले आफूखुसी गरेका कारण मूलुकप्रति विगतमा नेपाली कांग्रेस र यसको नेतृत्वबाट भएको भुल र खेलबाडको मूल्यांकन महासमिति बैठकले नगरे पनि इतिहासको कालखण्डमा हुने नै छ । तर वर्तमानको खाँचो भनेको नेपाली कांग्रेसले इतिहासमा गरेको भूललाई सच्याएर मुलुक र आमजनताले पुनः विश्वास र भरोसा गर्न सक्ने पार्टी बनाउने, जुन पार्टीको नेतृत्वमा मुलुक सुरक्षित रहन सक्छ र प्रजातन्त्र नेपाली जनताको संस्कार र पद्धति भएर रहन सक्छ । यसलाई पक्रनका लागि हामीसँग समय अझै छ, तर यसका लागि नेपाली कांग्रेसको झन्डामा बीपीका विचारहरू फर्फराउनु पर्दछ, सुवर्णशमशेर एवम् भट्टराईको निष्ठा एवम् समर्पण र गणेशमान सिंहको त्याग र हठीपन हुनै पर्छ, तर कांग्रेसमा तत्काल यी सबै कुराको कल्पना मात्र गर्न सकिन्छ ।

आज बीपीको विचार र दर्शन, गणेशमान सिंहको निष्ठा र किशुनजीको लिगेसीको डोरीलाई समातेर नेपाली कांग्रेसको नेतृत्व सम्हाल्न पुगेको वर्तमान नेतृत्वले राष्ट्रिय एकता र मेलमिलाप नीति, बीपी कोइराला र किशुनजीको विचार एवम् भावना र गणेशमान सिंहको निष्ठाको भाव बमोजिम पार्टीलाई सही मार्गबाट हिँडाउने प्रयास गर्नुको बदला केवल सत्तास्वार्थ र पार्टी नेतृत्व कब्जा गर्ने मनोदशामा अल्झेर राष्ट्रियता, प्रजातान्त्रिक मूल्य मान्यताको सिद्धान्त विपरीत अतिवादी कम्युनिस्टलाई काँधमा बोकेर हिँड्नु देश, देशको राष्ट्रियता र स्वयम् कांग्रेसको हितमा थिएन, महासमिति बैठकले यो विषयमा स्पष्ट गर्न जरुरी थियो, जो हुन सकेन ।

प्रजातन्त्रको स्थायित्व र राष्ट्रियताको संवद्र्धन एवम् प्रवद्र्धनका सवालमा राष्ट्रिय एकता र मेलमिलापको नीतिको अझै सान्दर्भिकता छ भन्ने कांग्रेसको अझै पनि ठहर हो भने (निश्चय नै सान्दर्भिकता अझ छ) त्यसलाई परिमार्जन वा पुनर्परिभाषित गर्नु जरुरी छ । बाह्रबुँदे समझदारी, अन्तरिम संसद्को घोषणा, बृहत् शान्ति सम्झौता हुँदै संविधान निर्माणका क्रममा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयतालगायतको मुद्दामा कांग्रेसको अडानलाई पुनर्विचार गर्दै वर्तमान राजनीतिक चुनौतीका परिवेशमा प्रजातन्त्रको स्थायित्व र राष्ट्रियताको जगेर्ना गर्नका लागि मुलुकका वर्तमान प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्तिहरूका बीच बृहत् एकता र मेलमिलापका लागि राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई थप परिभाषित एवम् विकसित गरी समृद्ध बनाउन जरुरी भएको छ । आखिर माध्यम जे भए पनि बीपीको मेलमिलापको नीतिको चुरो कुरो भनेकै राष्ट्र जोगाउनु थियो । देशको राष्ट्रियता बीपीको जीवनकालमा भन्दा पनि थप चुनौतीपूर्ण अवस्थामा छ । आफ्नो दलगत एवम् नेता विशेषको राजनीतिक स्वार्थमा त्यो चुनौतीलाई हामी आफैं निम्त्याइरहेका छौं । बीपीको विचार र देशको वर्तमान अवस्था अनुरूप कांग्रेस जिम्मेवार नबन्दासम्म, यस विषयमा गभ्भीरतापूर्वबोध नगर्दासम्म कांग्रेसका सबै महाधिवेशन र महासमिति बैठक केवल कर्मकाण्डीमात्र सावित हुनेछन्, जो यो महासमिति बैठक पनि त्योभन्दा भिन्न हुन सकेन भनेर महासमिति सदस्यका हैसियतले भन्नुपर्दा यो पंक्तिकारलाई निकै दुःख लागेको छ ।