देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रष्टाचारले गाज्यो हायातः सरकारी सम्पतीको चरम दुरुपयोग

देशान्तर

काठमाडौँ । पछिल्लो समयमा एसिया प्यासिफिक समिटवाट चर्चामा आएको काठमाडौँको जोरपाटीमा रहेको हायात रिजेन्सी होटेल बन्द हुने भएको छ । तारा गाउँ विकास समितिमार्फत सरकारी र निजी स्वामित्व रहेको यो होटेलमा सरकारको तर्फवाट कति लगानी छ भन्ने यकिन छैन ।

२०५० सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै सार्वजनिक लेखा समितिले छानबिन गरेको उक्त प्रकरणमा अहिले आएर अख्तियारले छानबिन सकेर काठमाडौँ विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

अख्तियार स्रोतका यो होटेल सञ्चालकहरूबाट भएको आर्थिक अनियमिततासम्बन्धी छानबिन पछि तयार पारिएको मुद्दा भोलि सोमबार दर्ता हुँदैछ । अख्तियारले उक्त होटेलमा सरकारको तर्फबाट तारा गाउँ विकास समितिले लगानी सम्झौता गर्दा मन्त्रिपरिषद्को निर्णय बाहिर गएर हस्ताक्षर गरेको तथा सरकारी स्वामित्व खुम्चिँदै जानुमा भएका कमजोरी र त्यसका जिम्मेवारहरू विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

लामो समयदेखि छानबिन गरी अहिलेको अवस्था आउनुमा विगतमा भएका नीतिगत त्रुटि, गलत नियत गरिएको सम्झौतामा देखिएका जिम्मेवारविरुद्ध मुद्दा दायर हुने अख्तियारको भनाइ छ ।

विगत २५ वर्षदखि १५ अर्ब र ४८ हजार सेयर लगानीकर्ताको रकम हिनामिना गर्दै आएको हायात रिजेन्सी होटेलमा भएको आर्थिक अनियमितताको छानबिन गर्न सरकारले केही समय अगाडि एक समितिसमेत बनाएको थियो । तारा गाउँ होटेलमा साढे दुई दशकअघि गरिएको १७ करोड रुपैयाँ लगानीबाट कुनै प्रतिफल नआई उल्टै सरकारी सम्पत्ति गुम्ने अवस्था आएपछि सरकारले छानबिन सुरु गरेको थियो ।

मन्त्रिपरिषद्बाटै छानबिन समिति बनाएर हायात रिजेन्सीमा भएको सरकारी लगानी र प्रतिफलका विषयमा पुनः छानबिन गरिएपछि उसले दिएको प्रतिवेदनलाई आधार बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो । यसअघि पटकपटक गठन गरिएको छानबिन समितिलाई होटेल व्यवस्थापनले असहयोग गरेका कारण सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर छानबिन गराएको हो ।

समिति सदस्यमा तारा गाउँ विकास समिति, हायात होटेल, एक स्वतन्त्र लेखा परीक्षक र एक जना कानुनका प्रतिनिधि राख्ने प्रस्ताव गरिएको थियो । यसअघि अर्थ, पर्यटन र राजस्वका कर्मचारीदेखि राजनीतिक दलका नेताहरूलाई होटेल व्यवस्थापन पक्षले आवश्यक नजराना चढाएका कारण सरकार कारबाहीबाट पछि हटेको थियो । अहिले पनि कर्मचारीसहित सरकारमा रहेका मन्त्रीहरूसमेत मुछिने भएका कारण कारबाही ओझेलमा पर्ने बताइन्छ ।

मन्त्रालयका अनुसार होटेल व्यवस्थापनले सुरुमा २५ करोड लगानी सुरु गरेको यो होटेलको अहिले जग्गा मात्रैको मूल्य १५ अर्बभन्दा माथि पुगेको छ । तर, होटेल व्यवस्थापन पक्षले अहिलेसम्म न त सरकारलाई कर नै तिरेको छ न त सेयर लगानीकर्ताहरूले मुनाफा नै पाएका छन् ।

हाल हायात रिजेन्सी होटेलको व्यवस्थापन पक्षको अध्यक्षमा भारतीय नागरिक राधेश्याम सर्राफ छन् भने प्रबन्ध निर्देशकमा अरुण सर्राफ र सञ्चालकमा आईसीटीसी ग्रुपका दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठलगायत रहेका छन् । होटेलको व्यवस्थापन अहिले नेपाली व्यापारी दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठले हेरिरहेका छन् । होटेलको अनुगमन गर्ने सरकारी निकायका अधिकारी र राजनीतिक दलका नेताहरूको मुखबुझो लगाउने काम पनि यिनै दुई श्रेष्ठबन्धुबाट हुँदै आएको थियो ।

होटेलमा भएको अनियमितता र फर्जी बिलबाट ठूलो आर्थिक अनियमितता भएको भन्दै समितिले दिएको प्रतिवेदनको आधारमा अख्तियारले भोलि विशेषमा मुद्दा दायर गर्न लागेको हो । समितिले सञ्चालक तारा गाउँ विकास समितिका पदाधिकारी व्यवस्थापन पक्षलाई कारबाही गर्न सिफारिस पनि गरेको थियो ।

समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा, घरमध्ये १५० रोपनी जग्गा र दुई करोडबराबरको घरमा गरिएको सेयरमा ठूलो आर्थिक घोटाला भएको भन्दै सरकारलाई कारबाहीका लागि सिफरिस गरेको हो । प्रतिवेदनले सरकारको ३९ दशमलव ७७ प्रतिशत रहेको सेयर लगानी घटेर ९ प्रतिशतमा आउँदा पनि हिसाब नदेखाएको भन्दै कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।

बाँकी रहेको १५४ रोपनी जग्गा पुनः मूल्यांकन गर्ने विषयमा संसद्को सार्वजनिक लेखा समितिले २०५० सालदेखि पटकपटक निर्देशन दिँदासमेत मूल्यांकन गरिएको छैन । होटेल सञ्चालक तारा गाउँ विकास समिति र व्यवस्थापन पक्षले नयाँसडकस्थित भवनको पसल भाडाबापतको ३८ लाख ७७ हजार पनि अनियमितता गरेको समितिको ठहर छ ।

तारा गाउँ विकास समितिले सञ्चालनको २५ वर्षसम्म सरकारलाई कुनै करसमेत नबुझाएको बताइएको छ । समितिले २०५०÷५१ मा साधारण सेयरमा १७ करोड लगानी गरेको जनाए पनि १५० रोपनी जग्गाको मूल्य १५ करोड र घरको मूल्य दुई करोडको हिसाब अहिलेसम्म बुझाएको छैन । २५ वर्षसम्म सरकारलाई तिर्नुपर्ने कर पनि फर्जी कागजमै सीमित गरिएको छ । संसद्को सार्वजनिक लेखा समितिले २०५० पुस २१ गते र २०५० साल चैत १८ मा घर जग्गाको यथार्थ मूल्यांकन गर्न दिएको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन ।

तारा गाउँ रिजेन्सी होटेल लिमिटेडले प्रकाशित गरेको २०७२÷७३ को वित्तीय विवरणअनुसार होटेलको सेयर पुँजी एक अर्ब ८९ करोडमा १६ करोड ९९ लाख मात्र हिसाब भेटिएको छ । यो होटेलले उपभोग गरिरहेको जग्गाको हालको बजार मूल्य १५ अर्बभन्दा माथि रहेको छ । हायात रिजेन्सी होटेलमा ४८ हजारभन्दा बढी सेयरधनी रहेको बताइएको छ ।

तर, सेयर धनीले समेत होटेलको हिसाब पाउन सकेका छैनन् भने होटेल सञ्चालकको सुरुआती चरणमा १५० रोपनी जग्गाको मूल्यांकन गरी १५ करोड लगानी गरिएको भए पनि हालसम्म त्यसको करसमेत बुझाइएको छैन । यस विषयमा अब सबै प्रक्रिया अख्तियारले नै अगाडि बढाउने भएको छ ।