देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको आफैंतिर फर्केको गोली

देशान्तर

यो कुनै विरोधी दलका नेताले प्रधानमन्त्री, मन्त्री तथा प्रशासकमाथि लगाएको आरोप वा आक्षेप होइन । स्वयम् प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका मुखारबिन्दबाट निसृत उच्च आदर्शको उद्बोधन हो । त्यो पनि क्रिस्तान धर्मको एक सम्प्रदाय– युनिभर्सल पिस फेडेरेसन (कोरिया) को एसिया प्यासिफिक समिट– २०१८ का सहभागीहरूलाई आशिर्वचन दिन प्रकट भएकी क्राइष्टकी कथित् छोरी हक जा हान मुनसमक्ष दिएका अभिभाषणका क्रममा अभिव्यक्त ओलीका अमृत वचनका वान्की हुन् ।

क्रिस्तान धर्मग्रन्थ बाइबलका भाषामा भन्नुपर्दा गोस्पेल अथवा हिन्दू धर्मशास्त्रका भाषामा वेदवाक्य जत्तिकै पवित्र तथा अनुलंघीय, प्रधानमन्त्री ओलीका ती अलभ्य शासकीय सूत्र, यो ब्रम्हाण्डलाई प्राप्त भएको थियो– मंसिर १७ गतेको शुभ साइतको पावन अवसरमा । त्यसलाई युग–युगान्तरसम्म अजर र अमर तुल्याउने पवित्र उद्देश्यले विशिष्ट सामग्रीको दर्जा प्रदान गरेर गोरखापत्रले ऐतिहासिक दस्तावेजका रूपमा मुख्य समाचार बनाएर छापेको थियो ।

हुन पनि त्यो सामान्य समारोह थिएन । आक्रमक ढंगले क्रिस्तान धर्मान्तरणका निम्ति अभियान चलाउँदै आएको र अमेरिका, जापान, भारत र चीनलगायत विश्वका धेरै देशमा त्यही कारण प्रतिबन्ध लागेको फेडेरेसनले ठूलो कृपा गरेर नेपालमा आयोजना गरेको र हाम्रो सरकारले सहआयोजक बन्ने गौरव प्राप्त गरेको त्यो सम्मेलनमा विभिन्न देशका पाँच हजार प्रतिनिधिहरूले भाग लिएका थिए । उनीहरू सबैलाई प्रधानमन्त्री ओली आफैंले सह–संयोजकका नाताले लिखित पत्र पठाएर आमन्त्रित गर्न पाउँदाको अपार प्रसन्नता त्यो सम्वोधनका क्रममा छचल्किरहेको थियो । त्यसबाट उनले आफ्नो जीवन सार्थक तथा धन्य भएको अनुभूति मात्र व्यक्त गरेका थिएनन्, त्यो दुर्लभ अवसर उपलब्ध गराइदिएकोमा हान मुनप्रति कृतकृत्य भएको अभिव्यक्ति प्रकट गर्न पनि कुनै कसर बाँकी राखेका थिएनन् ।

अभाग्यवश कम्बोडियाका प्रधानमन्त्री हुन सेन, उद्घाटन सत्रपछि स्वदेश फर्केकाले ओलीका कालजयी उपदेश सुन्ने र त्यसलाई आफ्नो देशमा लगेर लागू गर्ने अपूर्व अवसरबाट बञ्चित हुनपुगे । अरू विदेशी पाहुना, केन्द्रीय तथा राज्य सरकारका मन्त्री, सांसद र सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरू, जो अनिवार्य उपस्थितिको कडा उर्दीको पालन गर्न बाध्य भएर आएका थिए, त्यही सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले सारगर्भित तथा मार्मिक भाषणमा सुशासनको मुख्य चुनौती भ्रष्टाचार भएको अत्यन्त गुह्यको रहस्योद्घाटन गरेका थिए ।

“भ्रष्टाचार पैसाको मात्र नभएर संस्था र शक्तिको दुरुपयोग पनि हो ।” भ्रष्टाचारका बारेमा यति राम्रो, उच्च, उदात्त र प्रष्ट धारणा यसअघि कुनै प्रधानमन्त्रीले व्यक्त गर्ने साहस गरेका थिएनन् । ओलीका बोली, गोलीजस्ता हुन्छन् भनेर धेरैले कुरा काट्ने गरेको सुनिएको थियो । तर साँच्चै यति ठूलो सत्य पनि बोल्न सक्छन्, कसैले अनुमान गरेका थिएनन् । शायद, २० देखि ३० वर्षको उमेरसम्म जो एकपल्ट कम्युनिस्ट भएन, त्यो हृदय भएको व्यक्ति नै होइन, ३० वर्षपछि पनि जो कम्युनिस्ट भएको भयै गर्छ त्यो चाहिँ बुद्धि भएको मानिस होइन भन्ने युरोप र अमेरिकातिर चलेको थेगो बिर्सेर होला, ओलीका ती कुरा सुनेर धेरैले जिब्रो टोकेर सोधेका थिए, के बोलेका होलान् ?

त्यस्ता प्रष्टवादी, पारदर्शी तथा माक्र्सवादप्रतिको आस्था र विश्वास गुमाएर क्रिस्तान धर्ममाथि अगाध श्रद्धा र भक्ति पाल्न थालेका प्रधानमन्त्री ओलीमाथि कांग्रेसका नेता, तथाकथित बुद्धिजीवी, मिडियाकर्मी, सामाजिक सञ्जालका अम्मलीहरूले अधर्मी, पद र प्रतिष्ठाअनुसार के बोल्न हुन्छ र हुन्नको भेद पनि नछुट्याउने बेहोसी, बोलीको ठेगान नभएका मात्र होइन, पदको दुरुपयोग गर्ने पाखण्डी भन्न पनि बाँकी राखेनन् । कतिपयले त उनलाई अस्वस्थ्य र रुग्णसम्म भने । लेखे । रोगीलाई प्रधानमन्त्रीजस्तो देशको सर्वोच्च कार्यकारी पदमा राख्न हुन्छ कि हुन्नँ, त्यसमाथि बहस चलाउन आवश्यक छ पनि भने ।

एकथरीले प्रधानमन्त्री ओलीलाई पञ्चतन्त्रको त्यो कथाको पात्रसंग तुलना गर्न थाले, जो मध्यराति अर्काको घरमा चोरी गर्न पसेको थियो, तर जब चोर्न नभ्याउँदै घरका मान्छे ब्युँझेर चोर आयो भनेर लखेट्न थाले, ऊ सुइँकुच्चा ठोकेर भाग्न थाल्यो । हल्लिखल्ली सुनेपछि गाउँका मानिसहरू चारैतिरबाट बाहिर निक्ले र चोरलाई लखेट्न थाले । चोरलाई प¥यो फसाद ! प्रतिउत्पन्न मतिको चोर थियो । उसले पनि चिच्याउन थाल्यो– चोर आयो, चोर आयो । बिजुलीबत्ती नभएको त्यो जमानामा चोरलाई चिन्ने अर्को उपाय थिएन । त्यो चोर पनि चोरलाई समात्न लखेट्नेमा सामेल भएपछि सज्जनमा दर्ता भयो । अनि, चोर पक्राउ परेन । ऊ जोगियो ।

पद र शक्तिको दुरुपयोग त्यसले मात्र गर्न सक्छ, जो पदमा हुन्छ । शक्ति पनि त्यही पदका कारण उसलाई प्राप्त भएको हुन्छ । यति सरल, सोझो र सपाट विषयलाई पनि ठूलो तामझाम गरेर व्यक्त गर्नु भनेको या त अरूलाई मूर्ख ठान्नु हो या आफ्नो मूर्खता प्रदर्शन गर्नु हो भन्ने टिप्पणी गर्नेलाई के जवाफ दिने ? प्रधानमन्त्रीजस्तो शक्तिशाली पद ओगटेर बसेको जिम्मेदार व्यक्तिबाट पद र शक्तिको दुरुपयोग पनि भ्रष्टाचार हो भन्ने भनाई सार्वजनिक हुनुलाई एकथरीले पञ्चतन्त्रको माथिको कथा दोहारिएको ठाने भने त्यसमा के को आश्चर्य ! उनको त्यस्तो कथनलाई अर्काथरीले पण्डित ओलीको पाखण्ड पुराण नै हो भनेर आलोचना गरे भन्दैमा उनीहरूलाई पूर्वाग्रही पनि भन्न सकिन्न, किनभने उनले नेतृत्व गरेको कम्युनिस्ट सरकारले सिंंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्यायौं भन्दै कमाउन उपयोगी भनेर चिनिएका विभाग र निकायका निर्णय गर्ने अधिकार सबै प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित गरेको उनीहरूले आफ्नै आँखाले देखेका छन् ।

उदाहरण खोज्न धेरै पर जानै पर्दैन, यो सरकार गठन भएदेखि यताका निर्णय केलाएर हेरे पुग्छ । उसको पहिलो निर्णय थियो– सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने । दोस्रो निर्णय आयो– सडकका खाल्डाखुल्डी पुर्ने कामको अनुगमन गर्ने, तेस्रो हो– २५ अर्बदेखि माथिका राष्ट्रिय महत्वका आयोजनाको ठेक्का दिने अधिकार र चौथो, ५० अर्बमाथिका परियोजनाका निम्ति टेन्डर गर्नु नपर्ने कानुनी व्यवस्था । संसदीय व्यवस्थामा देशको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित हुन्छ । त्यो भनेको वेस्टमिनिस्टर टाइपको क्याबिनेट सिस्टम हो । त्यसको माने हुन्छ– मन्त्रिपरिषद्लाई लोग्नेमान्छेलाई आइमाई र आइमाईलाई लोग्नेमान्छे बनाउनेबाहेक जे पनि गर्न सक्ने अधिकार प्राप्त छ । त्यस्तो मन्त्रिपरिषद, संसद्मा बहुमत प्राप्त प्रधानमन्त्रीले निर्माण गर्ने भएकाले उनैको नियन्त्रणमा रहन्छ । नेपालको संविधानले पनि त्यही व्यवस्था गरेको छ । झर्रो भाषामा भन्ने हो भने क्याबिनेटलाई प्रधानमन्त्रीको खल्ती र मन्त्रीलाई खेताला मानिन्छ । त्यस्ता मन्त्रीहरूको पनि अधिकार कटौती गरेर प्रधानमन्त्रीले आफ्नो कार्यालयअन्तर्गत ल्याउनुको अन्तर्य के हो ? सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचारको स्रोत सबै आफंैमा केन्द्रित गरेको त्यो नांगो उदाहरण हो कि होइन ?

दि रिवेल, अर्थात् विद्रोही उपन्यासका विश्वविख्यात लेखक अल्बर्ट कामुले सत्तामा बसेर आफ्ना विरोधीहरूलाई उपदेश मात्र दिने सत्ताधारीहरूको आलोचकको जवाफमा जे भनेका थिए, त्यसैलाई उद्घृत गरेर यो सानो टिप्पणीको बिट मार्न चाहन्छु । उनले लेखेका छन्– तिमीले जे भन्यौ, त्यो अतिशयोक्तिको हद हो । तिमी सत्ताको दुरुपयोग मात्र गरिरहेका छैनौं, हाम्रो मानवअधिकारको हनन् पनि गरिरहेका छौं ।