दुई-तिहाइको शक्तिशाली बहुमत लिएर बनेको ओली सरकार यति चाँडै यति विघ्न विवादमा पर्छ- त्यो सायदै कसैले सोचेको हो । लामो समयसम्मको राजनीतिक अन्योल र अस्थिरताको अन्त्य, देशमा शान्ति र सुरक्षा, सुशासन र क्रमशः विकासको सपना देखेका नेपाली जनताको आशा र विश्वासमा कुठाराघात भएको छ ।
महँगी थाम्नै नसक्ने गरी बढेको छ भने भ्रष्टाचार खुलेआम छ । देशभरका मालपोत र नापी कार्यालयहरूमा यसरी हाकाहाकी व्यापक रूपमा भ्रष्टाचार हुँदासम्म सरकारले जमिनलाई भ्रष्टाचार मुद्दा र झगडाको बिउ बनाइराख्नु र जग्गासम्बन्धी ठोस नीति नबनाउनु विडम्बना नै हो । तिब्बत (चाइना) बाट काठमाडौं रेल र बंगालको खाडी या विशाकापट्टनममा नेपाली जहाजको सपना नेपालीहरूको लागि निकै आकर्षणको विषय थियो ।
भारत माथिको एकोहोरो परनिर्भरता र उसको नेपालप्रतिको हेपाहा एवं नेपाललाई हमेशा अस्थिर बनाइराख्ने चाहना; पटकपटक लगाइएका नाकाबन्दीका कारण–आदिले गर्दा चीनसितको स्थल एवं रेल मार्ग नेपालको लागि अपरिहार्य नै हो र ओली सरकारको सुरुआती प्रयास आशा र भरोसा दिलाउने खालका भए पनि आजसम्म आइपुग्दा सबै आशा र भरोसामा ग्रहण नै लाग्यो । हात्ती आयो, हात्ती आयो फुस्सा ।
सरकारले कामको सुरुआत गर्यो बस व्यवसायीहरूको सिन्डिकेट तोड्ने भनेर केही हलचल पनि आयो । अन्त्यमा मच्चियो मच्चियो थच्चियोमा पुगेर सकियो । ३३.५ किलो सुन प्रकरणमा त गृहमन्त्रीले ठूलै स्वरमा भने- अब ठूला माछा पनि समातिन्छन् । साँच्चै गर्छन् कि भनेको त- कहाँबाट के इशारा या आदेश आयो- तैचुप-मैचुप । केही भरियालाई समातेर सुन प्रकरण पनि सकियो । त्यसपछि हल्ला चल्यो ठेकेदारहरूलाई कारबाही गर्ने ।
कुरा बुझ्दै लाँदा ठेकेदारहरू मन्त्रीभन्दा पहुँचवाला रहेछन्- कुरै हरायो । निर्मला पन्तको बलात्कार र हत्या काण्डले लामै सनसनी ल्यायो । थुप्रै छानबिन समितिहरू बने । निर्मलाको हत्यारा यति शक्तिशाली सावित भयो उसलाई समात्ने कुरा त परै रह्यो- उसको छायाँसम्म पनि प्रशासन पुग्न सकेन ।
निर्मला एउटा प्रतिनिधि पात्र हो; बलात्कार र हत्याका काण्ड त यहाँ दैनिक भइराखेका छन् र छोरीचेली कसरी बचाउने; बाबुआमाको निद्रा हराएको छ । नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्यो । खरिद प्रक्रिया हेर्दा एउटा सामान्य मान्छेलाई पनि त्यो प्रक्रिया तमासा लाग्दछ । भनिन्छ ६.५ अर्बको घोटाला भएको छ ।
अर्थात् यो सरकार बने यता जति पनि निर्णय र काम भएका छन्- विवादरहित एउटा पनि छैनन् । अहिले आएर राष्ट्रपतिको सुविधा मोह, उपराष्ट्रपतिको आवासस्थल, प्रधानमन्त्रीको शक्ति र लोकप्रियताको चाह (पोस्टरबाजी) हेर्दा लाग्छ यो देशको माया गर्ने मान्छे त एउटा पनि रहेनछ । मैले सुन्नमा गल्ती गरेको छैन भने लोकप्रिय नेता स्व.मदन भण्डारी साइकल चढेर हिँड्दथे ।
आज उनकी पत्नी विद्या राष्ट्रपति छिन् र राजाले उपयोग गरेका सबै सुविधा उनले उपभोग गरेकी छन्; तर अझै चाहियो- भएकाले पुगेन । दूरदराजको गाउँमा सामान्य इलाज नपाएर मान्छे मरिरहेछ । सत्तामा बस्नेहरूका तामझाम र रवाफ देख्ता- देख्ने र सुन्नेलाई लाज लाग्छ ।
भर्खरै यही मंसिर महिनाको १३ देखि १६ सम्म एउटा बदनाम आईएनजीओले एसिया प्यासिफिक समिट नामको सम्मेलन गर्यो । यसको आयोजक देखावटीमा आईक्याप (इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिक्स), यूपीएफ (युनिभर्सल पिस फेडेरेसन), आईएपीपी (इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्ट फर पिस) रहेका छन् ।
परोक्षमा प्रधानमन्त्रीको तर्फबाट पत्र लेख्नेदेखि सम्मेलनको हर्ताकर्ता बनेका- एकनाथ ढकाल हुन् । भनिन्छ, यसमा जो खर्च आएको छ त्यो नेपाली ढुकुटीले बेहोरेको छ । देखियो के पनि भने सम्मेलन कालभरि सरकार र नेकपा एकनाथ ढकालको इशारामा चलेको थियो । एउटा इसाई कोरियन धार्मिक संस्था जो कम्युनिस्ट व्यवस्थालाई सैतानको संज्ञा दिन्छ, त्यसको प्रमुख श्रीमती मुन, सम्मेलनको आकर्षण थिइन् ।
उनी आफूलाई जेसस क्राइष्टकी छोरी भन्छिन् र उनले प्रधानमन्त्री (सपत्नी) सहित १५ सय जोडीलाई आशीर्वादको नाममा शुद्धीकरण गर्ने काम गरिन् । एउटा गैरसरकारी संस्थाले गरेको सम्मेलनमा पूरै सरकार लागि पर्नु भनेको सरकारले कूटनैतिक मर्यादालाई समेत ख्याल नगरी जुन लाचारीपन देखाए त्यसले संसारभरि नै एउटा अत्यन्तै नराम्रो सन्देश दिएको छ ।
नेकपाका वरिष्ठ नेताहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले सरकारका प्रधानमन्त्रीको भत्र्सना नै गरे । एकजना परराष्ट्र अधिकारीले यसरी प्रतिक्रिया दिएः ‘हाम्रो कुराको सुनुवाइ हुँदैन । सबै कूटनीति प्रधानमन्त्री कार्यालयबाट चल्छ । मन्त्रालय त देखाउने र प्रक्रिया पुर्याउने मात्रै हो ।’
एसिया प्यासिफिक सम्मेलनको अर्को रोचक पक्ष के देखिन्छ भने पूर्वप्रधानमन्त्री माधव नेपालको संलग्नता र सक्रियता एकदमै उत्साहवद्र्धक थियो । सम्मेलन पछि जब चर्चाहरू चुलिए- उनी (माधव नेपाल) सगर्व भनिरहेका थिए- भारतका पूर्वप्रधानमन्त्री, पाकिस्तानका पूर्वप्रधानमन्त्री, कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी आङसाङ सुकीले भाग लिएको सम्मेलन; यो त ऐतिहासिक सम्मेलन हो । काठमाडौंमा भएकाले हामीले गर्व गर्नुपर्छ ।
वास्तकविकता के हो भने विगत ६ वर्षदेखि नेपालमा यो सम्मेलन गर्ने चाहना उक्त इसाई संस्थाले राख्दै आएको थियो । पहिलाका सरकारहरूले दिएनन् । एकनाथ ढकालको माधव नेपालसित विशेष र प्रधानमन्त्री केपी ओलीसित पनि राम्रो सम्बन्ध भएकाले यो सम्मेलन नेपालमा भयो । माधव नेपालले भने जस्तो भारत र पाकिस्तानका पूर्वप्रधानमन्त्रीहरूको हैसियत आ–आफ्ना मुलुकमा खासै छैन ।
कम्बोडियाका प्रधानमन्त्री त्यहाँ सम्पन्न निर्वाचनदेखि नै विवादमा छन् । सुकी रोहिङा मुसलमान माथिको दमनका कारण अहिले विश्वभरि नै आलोचित छन् र उनले पाएका धेरै सम्मानहरू खोसिएका छन् । जेहोस्, यस सम्मेलनले प्रधानमन्त्री केपी ओली र माधव नेपाललाई नजिक्याएको छ भने नेकपाभित्र सानोतिनो भुइँचालो नै गएको छ । कुन रेक्टर स्केलको हो त्यसको नाप भविष्यले गर्ला ।
शक्तिको दम्भमा रहेका ओली र पार्टी र देशको स्वाभिमानलाई बचाउन चाहने नेताहरूबीचको द्वन्द्व चाँडै मत्थर नहुने देखिन्छ । गम्भीर प्रश्न उठेका छन्- यो मुलुक कता जाँदै छ ? संविधानमा धर्म निरपेक्षता कसरी थोपरियो भन्ने कुरा जगजाहेर छ । डलरको बलमा आएको निरपेक्षता सुरुबाटै चर्चामा छ र सौदाबाजहरू नेपालको राजनीतिमा कतिसम्म हावी छन् त्यो पनि स्पष्ट नै छ ।
एसिया प्यासिफिक समिटले अरू स्पष्ट पार्यो कि नेपालको राजनीति कसरी चलेको छ ? यो देश दक्षिणपन्थी अतिवादी हिन्दु र डलरले ल्याएको इसाई मतको क्रीडाभूमि त बन्दै छैन ? नेपालको स्थिरता र लोकतन्त्रका लागि यो चुनौती बन्ने त होइन ? शदीयौंदेखि सबै जातजाति र धर्मावलम्बीहरूबीच रहँदै आएको अनुपम सौहार्द एवं सहिष्णुता- एकाएक द्वन्द्वमा परिणत हुने त होइन ? अक्सर गरिब मुलुकको निमित्त दरिद्र मानसिकता बोकेको नेतृत्वमा भर गरेको हुन्छ र मुलुकहरू दुघर्टनामा परेका थुप्रै उदाहरणहरू छन् ।
सुशासनका नाममा प्रधानमन्त्री केपी ओलीलाई पुरष्कृत गरिएको एक लाख डलरले के स्पष्ट गर्छ भने उनी इसाईहरूका भरलाग्दा मित्र हुन् । सम्मेलन अवधिभरि प्रधानमन्त्री ओली होटलमै बस्नुले आशंका जन्माएको छ- त्यहाँ गोप्य मन्त्रणाहरू पनि भए । एउटा सरकार प्रमुखको यस प्रकारको संलग्नता निश्चय नै दुःखद् हो ।
आज भन्न के थालिएको छ भने चुनावमा भारत विरोधी तर राष्ट्रवादी आवरण देखाउने; विकासको नाममा चीनसित निकटता देखाउँदै चाइना कार्ड प्रस्तुत गर्ने र काम पश्चिमीहरूको डिजाइनमा गर्ने ।
नेपालको अहिलेको आवश्यकता समुन्नत नेपाल नै हो । देश धनी हुँदा विश्वमा त्यसको इज्जत स्वतः बढ्दो रहेछ । चुनौतीहरू कम हुँदै जाँदा रहेछन् । प्राकृतिक सम्पदाले भरिपूर्ण यो देश नेपाललाई एउटा इमानदार र इच्छाशक्ति भएको मान्छेको खाँचो छ । जन्मेको होला त्यस्तो मान्छे कोही ? नभए- भविष्यको गर्भमा त अवश्य होला !
प्रतिक्रिया