देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असार १५ : काम स्थानीय, प्रभाव राष्ट्रिय

देशान्तर

डा. विदुरप्रसाद चौलागाई
असार १५ लाई धान रोपाइँको विशेष दिन मान्ने नेपाली परम्परालाई सरकारले समेत राष्ट्रिय मान्यता दिएपछि विगत १३ वर्षदेखि नेपालमा असार १५ एउटा औपचारिक पर्वको रूपमा स्थापित हुन गएको छ । आधुनिक सिँचाइ प्रणाली वा पुराना नहर–कुलोले नछोएका ग्रामीण किसानहरूलाई भने असारे झरीले साथ दिएको असार मासको जुन कुनै दिन पनि असार १५ मान्नुपर्ने अवस्था छ । खेतबारी छाडेका, किसान परिवारबाट आएका र सहरी बासिन्दालाई भने यो दिन हिलो खेल्ने रमाइलो पर्व बन्न गएको छ । यसैगरी राजनीति गर्ने नेताहरूलाई र कृषिसँग सम्बन्धित सरकारी अधिकारीहरूले आफ्नो लोकप्रियता र पौरख देखाउने अवसरको रूपमा यो दिनलाई उपयोग गर्ने गरेका छन् ।

एकदिनमै चमत्कार

नेपाली समाज निरन्तरको अध्ययन अनुसन्धान, प्रयास र लगावभन्दा पनि एकै दिनको चमत्कारमा आशा र विश्वास गर्ने समाजमा क्रमश: परिणत हुँदै गएको छ । वर्षभरि आ–आफ्नो राजनीतिक दलभित्र र व्यवस्थापिका संसद्मा राष्ट्रिय कृषि नीति वा धान नीतिका बारेमा चुसम्म नगर्नेहरू असार १५ का दिन कुनै किसानले तयार पारिदिएको धानको बेर्ना बोकेर आ–आफ्ना कार्यकर्ताहरूको खेत खोजेर हिँडेको देखिन्छ । यसमा मालामाल जग्गावाल, पुराना दक्षिणपन्थी पञ्चायती अवशेष, कांग्रेस र धानको भण्डार मानिने मधेसका नेताभन्दा पहाडी वामपन्थी नेताहरूको चकचकी बढी देख्न पाइन्छ ।

वातावरण दिवस भन्यो कि कुचो बोक्नुपर्छ भन्ने र धान दिवस भन्यो कि धानको बेर्नाका मुठो बोकेर हिलो खेत छिर्नुपर्छ भनेर सोच्नेबाहेक यो देशका नेता र सरकारी अधिकारीहरूको सोचमा खासै परिवर्तन कहिल्यै आएन । विश्व पानी दिवस मनाउने परे मन्त्री–प्रधानमन्त्री र नयाँ पुराना सचिवहरूले कुवा, धाराको मुहान र फोहोर बागमतीमा हेलिएर सफा गर्नैपर्ने, विश्व वातावरण दिवसमा प्रधानमन्त्री र वातावरणवादीहरूले कुचो बोकेर बाटोमा निस्कनैपर्ने जस्तो खेला देखिन्छन् । यस्ता पर्वमा कुनै सडक, चोक अथवा मन्दिर क्षेत्रमा कुचोले बढार्दा केही वर्गमिटर जग्गा केही दिनको लागि सफा देखिएला तर सम्बन्धित विज्ञहरूको सुझाव र सरसहयोगमा नयाँ र दिगो असर पार्ने नीतिगत निर्णय र कसिलो कार्यान्वयन प्रक्रिया अवलम्बन गर्ने प्रणाली विकास गरे त्यसले राष्ट्रव्यापी र विश्वव्यापी असर पार्न सक्छ । जस्तो वातावरण दिवसका अवसर पारेर काठमाडौंलगायत देशका सबै गाउँ सहरका घर, पाठशाला, र कार्यालयहरूका पर्खालहरू इँट्टा सिमेन्टको सट्टामा अनिबार्य रूपमा नीला काँडा, सिउडी वा अन्य बोटबिरुवाका झाडी, काठपात र फलामे तारबारसहितको हुनुपर्छ भनेर सिंहदरबारभित्रको कोठामा बसेर गरिने निर्णय तीन दर्जन मन्त्रीहरूले उक्त दिन बाटो बढारेको भन्दा कयौं गुणा बढी फलदायी हुन्छ ।

तर नेपाली समाज, राजनीतिक र प्रशासनिक कर्मचारीहरूको मानसिकतामा वातावरण दिवस भनेको कुचो बोकेर बाटो बढार्नु र बढीमा बागमतीको फोहोर लेदोमा हेलिएर केही किलोग्राम प्लास्टिक बटुल्नुभन्दा बाहिर जान सकेको जस्तो छैन । गत वर्षको भूकम्पमा घर कार्यालयहरूका पर्खाल भत्किएरमात्रै कैयनको ज्यान गयो भने बेलाबेलामा पुराना पर्खाल भत्किएर कैयन ज्यान जोखिममा परेका छन् । यही हप्ताको २०७३ असार १७ को घटनामा अविरल वर्षापछि ललितपुरको बाँडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा दुईजना कलिला विद्यार्थीको मृत्यु हुनुका साथै करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन् । यदि झाडी र तारबारको पर्खाल भइदिएको भए यो हदको दु:खदायी घटना त हुने नै थिएन र साथमा सहरी वातावरणीय स्वच्छता र सौन्दर्यसमेत बढ्ने निश्चित थियो ।

गमलामा धान खेती : कृषि मन्त्रीमाथि हमला

यस्तै प्रसंग यसपालाको गमलामा सरकारी धान रोपाइँमा पनि जोड्न सकिन्छ र लागू हुन्छ । यसपाला असार १५ को उत्सव मनाउने क्रममा कृषिमन्त्रीले गमलामा धान रोपेर कुनै सरकारी अनुसन्धान केन्द्रको कार्यक्रमको उद्घाटन गरेको घटनाले समाजमा हाँसि–मजाकदेखि कटु आलोचनासमेत खेप्नुपर्‍यो । र, यसमा सम्बन्धित मन्त्रीले दिएको स्पष्टीकरण पेचिलो र उदेकलाग्दो दुवै छ । एकातिर उनले उत्सव मनाएर मन्त्रीले धान रोपे पनि देशको धान उत्पादकत्व झन्झन् घट्दै गएकोले यस्ता हावादारी हिले उत्सवमा आफूलाई सहभागी हुन मन नलागेको कटुसत्य बताए । र सँगसँगै अघिल्लो पालिका कृषिमन्त्रीले धानखेतमा गरेको मजाकले उनको राजनीतिक जागिर चट् भएको घटनालाई हेक्कामा राखेरै आफू हिलेखेतमा नपसेको कुरा पनि उनले भन्न भ्याइहाले । तर पनि उनले उद्देश्य नखुलेको धानको बेर्ना गमलामा सार्न भने छोडेनन् । यसैगरी कृषि मन्त्रीको यस वर्षको उक्त सांकेतिक धान रोपाइँ गराउन देशकै अग्रणी र सरकारी एकाधिकार प्राप्त कृषि अनुसन्धान परिषद्ले कुन प्रयोजनको के जातको धानको बेर्ना कुन अनुसन्धानअन्तर्गतको हो भनेर जनतालाई भनेको छैन । एउटा अनुसन्धान केन्द्रले देशको राष्ट्रिय धान दिवसको बेलामा समेत हामीले यो वर्ष यो विशेष जातको वा विशेषरोग वा जैविक प्रक्रियाको अनुसन्धानका लागि धानको यो विषयमा अनुसन्धान सुरु गरेका छौं अथवा यो अनुसन्धानबाट यो जात र गुणको धान निष्काशन गरेर किसानहरूलाई सिफारिस गरेको हुनाले धानको यो सांकेतिक रोपाइँ गमलामा गराएका हौं भनेर भन्न सकेको छैन । वास्तवमा छेउ न टुप्पाको र अर्थ न वर्थको यो गमलाखाले धान रोपाइँले सम्बन्धित मन्त्री र देशको कृषि अनुसन्धान परिषद्को इज्जतमात्रै घटाइदिएको छ ।

काम स्थानीय : प्रभाव राष्ट्रिय

शैक्षिक प्रशिक्षण, अध्ययन र अनुसन्धानका लागि हजारौं बिघामा धानखेती गरिनु पनि पर्दैन र केही वर्गमिटर क्षेत्रफल, प्रयोगशालाको कोठा वा हरितगृहमा परीक्षण खेती गरे पनि पुग्छ भन्ने ज्ञान नेपाली समाज र कृषि विज्ञान नपढेका धेरैलाई अझै पनि थाहा छैन । यसै खालको अबुझ प्रसंग र मारमा राजधानीभित्र खोलिएको निजी क्षेत्रको कृषि क्याम्पस हिकास्ट पनि पर्न गएको इतिहास जिउँदै छ । उन्नत बीउबिजनको पहिचान, परीक्षण र अन्य कार्यका लागि प्रयोगात्मक काम पहिला प्रयोगशालामा अनुसन्धान र परीक्षण गरिसकेपछि मात्रै किसानहरूको खेतबारीमा लगाउन सिफारिस गरिने गरिन्छ । यस खालका सुरुका चरणहरू गमलामा अथवा प्रयोगशालाका ताप तथा जलवायु नियन्त्रित कोठाहरूमा सम्पन्न गरेपछि मात्र किसानहरूको खेतबारीमा लगाउन सिफारिस गरिन्छ भन्ने व्यावहारिक प्रमाणहरू देशका अध्ययन, अनुसन्धान निकायहरूले यसअघि भए गरेका कामहरूको विवरण र लोकप्रियताबाटै प्रमाणित गर्न सकेको भए न त पोहोर सालका कृषिमन्त्रीले हिले खेतमा हेलिएर जागिर गुमाउनुपथ्र्याे न त यस पालाका मन्त्रीले पोहोरको नजिरबाट डराएर खेत जान छोड्नु पथ्र्यो न त गमलामाथिको व्यंग्य हमला सुन्नु पथ्र्यो ।

आधारभूत र व्यावहारिक विज्ञानसम्बन्धी अध्ययन अनुसन्धानको भित्री पाटो राजनीतिक नेताहरू, ताल्चा साँचो हातमा लिएर बस्ने निजामती प्रशासकहरू र सामान्य जनताले जान्दैनन् । यस अवस्थामा कहिले राम्रै उद्देश्यले गरिएका कामको पनि गलत समाचारको भर परेर अञ्जानमा समाजले गिल्ला गर्छ । यसो भनेर सम्बन्धित क्षेत्रका पेसेवर र प्राज्ञ एवं शिक्षकहरू चुप लागेर बसेर समाजलाई विज्ञानमुखी बनाउने र सचेतन गराउने काममा नलाग्नु पनि सम्बन्धित क्षेत्रका वैज्ञानिकहरूको अकर्मण्यता भित्रै पर्छ । यो स्तम्भ लेखनको उद्देश्य पनि समाजमा सर्वसाधारणमाझ विज्ञानलाई कसरी पुर्‍याउने र लोकप्रिय कसरी बनाउने भन्ने अभिप्रायको एक हिस्सा हो ।

घाम–पानी र धान : धान रोप्नलाई किन असार मास ?

पृथ्वीमा वार्षिक तीन खवर्ब जति जनसंख्यालाई मुख्य अन्नको रूपमा खाद्य सुरक्षण गराउँदछ । तर धान बालीको लागि मकै र गहुँबालीको भन्दा अढाई गुणा बढी पानीको आवश्यकता पर्दछ जसको स्रोत आकाशबाट परेको, बगेको वा जमिनमुनिबाट निकालेको स्वच्छ कम–लवणयुक्त हुनुपर्दछ । यसरी धान रोपाइँलाई असारमास कुर्नुका तीन कारणहरूमा यसको प्रशस्त र तातो जलवायु मन पराउने वंशाणुगत गुण र अर्को खेपको बीउ बेर्ना निस्केर प्रजनन हुनलाई बीउले एक हिउँद जाडो खानुपर्ने जीवन प्रक्रियाले हो । धान बालीको जरा पानीले डुबाउने ठाउँमा पनि हुने र कुनै धानको जात पानी नजम्ने बारीमा समेत हुने खालको भएपनी विश्व धान उत्पादनको मुख्य भाग पानी जम्ने खेतमा उमारेको धानले ओगटेको छ ।

खेतमा जमाएको सबै पानी धानले जीवन प्रक्रियाका लागि उपयोग गर्नेभन्दा बगेर, वाष्पीकरण भएर, चुहिएर जानुका साथै अन्य वातावरणीय प्रणालीका लागि अप्रत्यक्ष रूपमा उपयोग हुन्छ । जस्तै धानको जात गर्मी ठाउँमा हुने भए पनि यसले अति दिउँसोको घामको अति राप–ताप खप्न सक्दैन र खेतमा जमाएको पानीलाई जराबाट तानी पातबाट बाहिर निस्काशन गरेर बोटलाई वातानुकूलित बनाउँछ भने जमिनको पानीले सोझै त्यो घातक ताप शोषण गरेर धानबालीलाई शीतलता प्रदान गराउँछ । यसको अलावा पानी जम्ने धानबालीमा अन्य पानी नसहने झारपात उम्रने कुरै भएन जस्को कारण धानको बोटले अन्य वनस्पतिसँग घाम र पोषण अनि ठाउँको लागि प्रतिस्पर्धा गर्नु पनि परेन जसले गर्दास्रोतको कमी हुन पाउँदैन । यसको अलावा स्थानीय हावापानी र माटो मिल्दो जातको छनोट, ठिक्कको माटोको चिस्यान र बेलाबेलाको सिँचाइको प्रबन्धले पनि स्तरीय हिसाबले धानको उत्पादकत्व बढाउन सकिन्छ ।

र, अन्त्यमा, किसानहरू किन बढी खुसी ?

सामान्यतया अन्य पेसामा संग्लग्न मानिसहरू सुखी देखिए तापनि किसानहरूको जिन खुसीयालीमै बित्ने गरेको धेरैजसोको ठम्याइँ छ । यसो हुनुका कयौं आर्थिक, सामाजिक पक्षहरू हुन सक्छन् । तर केही अनुसन्धानकर्ताहरूले भने माटोमा निरन्तर काम गर्नेहरूको मन शान्त र खुसी रहने तथ्य औंल्याएका छन् । उनीहरूको मतानुसार माटोमा पाइने माइक्रो ब्याक्टेरियम भ्याकिई र यस खालका अन्य ब्याक्टेरियाहरूले माटोमा आफ्नो जीवन प्रक्रियाका क्रममा उत्पादन गरेर बिसर्जन गर्ने स्नायु संवाहक समूहका विशेष रसायनहरूले मानव शरीरमा असर पार्छ । यसकारण नै माटोमा काम गर्ने किसानहरू वा खेल्ने बालबालिकाहरू ताजा र खुसी रहन्छन् ।

(डा.चौलागाईं हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी (हिकास्ट) का संस्थापक सदस्य, एवं प्राध्यापक र अनुसन्धान तथा प्रशिक्षण निर्देशनालयका निर्देशक हुन् । यस लेखमा व्यक्त भावना लेखकका निजी हुन्, यसले संस्थाको प्रतिनिधित्व गर्दैन । सं.)

 

]]>