काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदैछन् । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने आजको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टोलीबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा शतप्रतिशत जित आत्मसाथ गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिम तिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।
शीर्ष स्थानको मनाङको ५ खेलबाट १५ अंक छ भने जावलाखेल युथ क्लब ४ अंक सहित तालिकाको ११ औँ स्थानमा छ । यस्तै आजै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच साढे २ बजेबाट प्रतिस्पर्धा सुरु हुनेछ ।
स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । शेर्पा १० अंक सहित छैटौ स्थानमा छ भने च्यासल ४ अंक सहित नवौ स्थानमा छ ।
यसैगरी आजै हुने तेस्रो खेलमा थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हलचोकस्थित एपीएफको मैदानमा दिउँसो साढे २ बजे यी दुई टोलीबीचको खेल सुरु हुने । थ्री स्टार १२ अंक सहित तालिकाको चौथो स्थानमा छ भने सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।
प्रतिक्रिया