देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली भूमिमा सडक बनाउन भारतीय पक्षबाट रोक

देशान्तर

कञ्चनपुर। कञ्चनपुरको सीमावर्ती (नेपाल–भारत) नेपाली गाउँमा सडक बनाउँदा भारतीय पक्षबाट अवरोध भएको छ । भीमदत्त नगरपालिका १० गड्डाचौकीदेखि जिमुवा–ब्रह्मदेव जोड्ने सडक नेपाली भूमिमा बनाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।

मंगलबार सडक निर्माणका लागि भीमदत्त नगरपालिकाको जेसिभी त्यहाँ पुग्दा भारतीय एसएसबीले दशगजा भन्दै फर्काइदिएको स्थानीयले बताए । स्थानीय पशुपति चन्दले गड्डाचौकी गाउँ भएर जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सीमावर्ती बस्तीको सडक निर्माणमा भारतीय पक्षबाट अवरोध भएको बताइन् ।

एसएसबीले दशगजाभन्दा ५० मिटर दूरीमा मात्रै सडक निर्माण गर्नुपर्ने भन्दै रोकेको उनले जानकारी दिइन् । ‘स्थानीय जनतालाई आवतजावतमा अप्ठ्यारो भएको भन्दै हामीले नगरपालिकासँग भनेर सडक खन्न लगाएका थियौँ,’ उनले भनिन्, ‘आफ्नै जमिनमा पनि सडक बनाउँदा भारतीय पक्षले अवरोध गरिदियो ।’

स्थानीय जनप्रतिनिधि प्रेमबहादुर चन्दले दशगजा पर्ने नपर्ने विषयमा यसअघि नगरपालिकाबाट अमिन ल्याएर नाप–नक्सा भएको बताए । उनका अनुुसार गड्डाचौकीदेखि ब्रह्मदेवसम्म सडक झन्डै ८० परिवारको जमिन भएर जाँदै छ । ‘हामी नेपालीको लालपुर्जावाला जमिन हुँदै सडक विस्तार हुँदै थियो,’ ‘उनले भने, ‘एसएसबीले दशजगाको क्षेत्र भन्दै रोकिदिए ।’

भीमदत्त नगरका सूचना अधिकारी हरिसिंह धामीले नगरपालिकाले सीमावर्ती जनताको मागअनुसार सडक स्तरोन्नति गरिरहेको तर भारतीय पक्षबाट रोक लगाइएको बताए । उनका अनुसार विवादबारे स्थानीय सरकारले पहल गरिरहेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेपाली भूमिमा नियमसंगत भए निर्माण गर्न पाउने र त्यसलाई कसैले पनि रोक्न नहुने बताए । सिमानामा पिलर अद्यावधिक नहुँदा समस्या हुने गरेको बताउँदै उनले सीमा विवादलाई सम्बद्ध पक्षसँग बसेर टुंगो लगाइने बताए । नयाँ पत्रिका