साहित्य सिर्जनाका स्रोत के/के हुन सक्छन् ? सर्जक के/के कुरामा सिर्जनाका विषय देख्छ ? के/के चीजले सर्जक मन कुँड्याउँछ वा उद्वेलित बनाउँछ अथवा खुसी र प्रफुल्ल बनाउँछ, जसका कारण सर्जकले जीवन्त सिर्जना गर्छ ?
मलाई लाग्छ– व्यक्तिगत, पारिवारिक, सामाजिक जीवनका हरेक चीज र वस्तुमा सर्जकले सिर्जनाका विषय भेट्छ । कुरा यति हो कि सर्जकको सोचको स्तर र बुझाइको तहअनुसार ती विषयको प्रस्तुतिमा फरकपन हुन सक्छ ।
एउटा नदी, रूख, चरा, हिमाल, सडक बालक, वृद्ध वा वृद्धा, सुन्दर युवती आदि जेमा पनि सिर्जनाका भित्री विषय लुकेका हुन्छन् तर त्यसलाई खोतल्न सर्जकको क्षमता, प्रतिभा र विशिष्ट दृष्टिको आवश्यकता पर्छ ।
सन्दर्भ ‘चिबोकका केटीहरू’को हो । सुदूरपश्चिमको अछाममा जन्मिएर, सुदूरपूर्वको धरानमा उच्च शिक्षा अध्ययन गर्दै अँध्यारो भनिएको महादेश अफ्रिकामा रहेर आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल एक नेपाली हिक्मत थापाले सिर्जना गरेका कविताको कृति हो– चिबोकका केटीहरू ।
कृतिको नामले अनेक कुरा भन्ला । अनेक पाठकले अनेक अर्थ लगाउलान् यस नाममाथि । तर यस नामले ती केटी वा युवती अथवा भनुँ नारीहरूप्रति सद्भाव र सम्मान बोकेको छ– जसले विभिन्न प्रकारका हिंसा, अपहेलना र विभेद सहनुपरेको छ । अफ्रिकाको द्वन्द्वग्रस्त समाजमा रहेका युवतीमाथिका अन्याय, अत्याचार, शोषण र उत्पीडनको दर्दनाक दृश्य देखेपछिको कविमन बोलेको छ कवितामा । ती युवतीका तर्फबाट विद्रोहको आवाज ओकलेको छ कवितामा ।
कतिपय विद्रोह वा विरोध चर्को स्वरमा बोल्दैमा प्रभावकारी हुँदैनन् । सूक्ष्म र शालीन ढंगले गरिएका विद्रोह साँच्चै भयानक हुन सक्छन् । कवि, कलाकार, साहित्यकार अर्थात् सर्जकले सिर्जनामार्फत यसरी नै शालीन र सूक्ष्म विद्रोह गर्छन् । र त कवि, कलाकारले निरंकुश र तानाशाही सत्तासमेत ढालेका छन् ।
‘चिबोकका केटीहरू’ हिक्मत थापाले विक्रम सम्वत् २०४६ यता लेखेका कविताको संग्रह हो । विक्रमको ४० को दशक नेपाली राजनीतिमा परिवर्तनको संघारमा रहेको दशक हो । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई बिट मार्ने अभियानमा नेपाली समाज आन्दोलित भइरहेको दशक हो । एउटा युवा विद्यार्थी, जो समाज, राजनीतिबारे सचेत हुँदै गइरहेको उमेरमा थियो, उसमा स्वाभाविक थियो परिवर्तनको तीव्र चाहना । निर्दलीय शासनको विरोध र जनतालाई अधिकार दिलाउने आन्दोलनमा लेखन वा सिर्जनामार्फत सहभागी हुनु उसको कर्तव्य थियो । र, यही क्रममा कवि थापाले लेखे कविताहरू– निरंकुशताविरुद्ध । तर उनका कविता ‘आगो’ भने छैनन्, यद्यपि, झिल्का अवश्य हुन्– जसले दावानल निम्त्याउँछन् ।
रगत बगिरहेको बाटामा
परिचय
‘कालो बुट’ले लिइरहनुपर्दैन
सावधान !
(सावधान, पृष्ठ– ५२)
उपर्युक्त कवितांशले त्यही ४० को दशक सेरोफेरोको नेपाली जनतामाथिको शासकको ज्यादती र जनताको नियति प्रस्तुत गर्दै खबरदारी गरेको छ ।
देशान्तर बन्द
विमर्श बन्द
आवाज बन्द
दृष्टि बन्द
र बन्दहरूका लाममा अब
पत्रकारिता बन्द ।
(बन्द, पृष्ठ– ५३)
जनतालाई सुसूचित गर्ने, समाचार र खबरहरू नियमित जनतालाई दिने जिम्मेवारी भएका, विचार र अभिव्यक्तिका संवाहक पत्रपत्रिकामाथि पञ्चायत सरकारले गरेका दमन र हस्तक्षेपबारे पनि उनले कवितामा यसरी उल्लेख गरेका छन् ।
थापा आफ्ना कवितामा शिष्ट, सरल र सहज शब्दशिल्पको प्रयोग गर्न रुचाउँछन् । उत्तेजना र अभद्रता उनका शब्दमा पाइन्नँ । विद्रोह र असन्तुष्टिलाई पनि कति मीठो तथा सुन्दर ढंगले प्रस्तुत गर्न सक्छन् । उनका कविता पढिरहँदा लाग्छ– कवि थापा पोख्त शब्दशिल्पी हुन् । लामो समयको साधनाले खारिएका कवि हुन् ।
लामो समयदेखि परदेशमा समय, श्रम खर्चिरहेका थापा स्वदेशप्रति उति नै संवेदनशील र जिम्मेवार देखिन्छन् । नेपाली समाजमा विभिन्न सामाजिक दायित्व पनि निभाइरहेका छन् । गैर आवासीय नेपाली संघमार्फत नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा विस्तार अनि संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय छन् उनी । नेपाल, जुन आफ्नो माटो हो, आफू जन्मिएको, हुर्किएको माटो हो, यसको अस्तित्व, यसको महत्ता र यसको शान सदैव रहनुपर्ने कविको मत छ ।
अस्तित्व दोहोर्याएर
सगरमाथा जिउँछ
सीता शक्ति दिन्छिन्
बुद्ध शान्ति छर्छन् ।
(भारत–नेपाल, पृष्ठ– ३९)
कविता कृतिको शीर्षक ‘चिबोकका केटीहरू’ छ । बोकोहराम आततायीहरूका निशानामा परेका ती युवतीप्रतिको सद्भावमा केन्द्रित रहेर, उनीहरूका पीडा र आर्तनादलाई कवितामार्फत् प्रस्तुत गरेका छन् कविले ।
चिबोकका स्कुले केटीहरू
जो सारा संसार जित्न
भर्खरै फक्रँदै थिए
फुल्नै नपाई दिनदिनै
पत्रपत्र भई खस्तै, सुक्तै, झर्दै छन्
र, माटोसँग कुल्चिँदै छन् तिनलाई
आततायी बोको हरामका बुटहरू ।
(चिबोकका केटीहरू, पृष्ठ– २६)
समग्रमा कवि थापाले देखे/भोगेका सामाजिक, साँस्कृतिक, राजनीतिक र युद्ध परिवेशलाई आफ्ना कवितामा प्रस्तुत गरेका छन् । कतिपय कविता प्रेम विषयक पनि छन् तर ती सामाजिक मनोविज्ञानसँग जोडिएका छन् । कवि थापाको अझ सुन्दर कविताकृतिको अपेक्षा पाठकले गर्नु अन्यथा हुनेछैन ।
प्रतिक्रिया