“हो सभापतिलाई गलत गर्नुभयो भनेर सच्चाउने काम केन्द्रीय समितिको हो । तर, म जस्ता निस्वार्थ काम गर्ने र आट गरेर कुरा गर्ने केन्द्रीय सदस्यहरूको सख्या थोरै छ । तपाइले भने जस्तो पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दा पनि आफ्नो भविष्यलाई केन्द्रबिन्दुमा राखेर नेताहरूले सोच बनाएको अवस्था छ । उहाँहरूमा सभापतिलाई कुनै खालको असहयोग गरियो भने पछि हाम्रो भविष्य रहँदैन अहिले जसरी हुन्छ पार्टी सिध्याएरै भए पनि सभापतिको चाकडी नै गर्नुपर्छ भन्ने मानसिकता धेरै केन्द्रीय सदस्यहरूमा भएको मैले पाएको छु ।”
नेपाली कांग्रेसलाई आमूल परिवर्तन गर्नुपर्छ भनेर सबै नेता लागि रहनुभएको छ । तर, तपाईं भने निष्क्रिय देखिनु भएको छ । यसको कारण के हो ?
पहिलो कुरा त म निष्क्रिय भएको होइन । मलाई पार्टीले आवश्यक ठानेको अवस्था र पार्टीले चाहेको समयमा म पार्टीको काममा गइरहेको छु । तर, मलाई पार्टीले मलाई कुनै पनि जिम्मेवारी नदिएको हुनाले निष्क्रिय जस्तो भएको हँु ।
पार्टीले जिम्मेवारी नदिए पनि मैले पार्टीका लागि सक्रिय सदस्यका हिसाबले काम गरिरहेको छु । म कार्यकर्ताले भनेको ठाउँमा गइरहेको छु । कार्यकर्ताले यो काममा सहयोग गर्नुप¥यो भनेको ठाउँमा म गइरहेको छु । त्यसकारण पार्टी मुख्य भूमिकामा म नपरेका कारण यस्तो देखिएको हो । म व्यक्तिगत रूपमा निष्क्रिय भएको छैन । मेरो ठाउँबाट काम गरिरहेको छु ।
तपाईं अझै पनि सभापतिसँग निकै असन्तुष्ट देखिनुभएको छ । सुरुमा तपाईंले पार्टी फुटाउँदा देउवालाई साथ दिनुभएको थियो अहिले सभापतिको पार्टीमा बहुमत हुनु दुर्भाग्य भयो भनेर बोलिरहनु भएको छ, किन ?
शेरबहादुर देउवासँग मेरो कुनै व्यक्तिगत दुश्मनी छैन । मैले उहाँलार्ई धेरै सहयोग गरेको हो । उहाँलाई सभापति बनाउन पनि मैले ठूलो भूमिका खेलेको हो । उहाँले जतिबेला कांग्रेस पार्टीलाई विभाजन गर्नुभयो, त्योे समयमा पनि मैले उहाँलाई साथ दिएको हो । तर, जब संस्थापन पक्ष र प्रजातान्त्रिक पार्टी एक भयो । त्यो समय उहाँले जे जे कमिटमेन्ट गर्नुभएको थियो त्यो पूरा हुन सकेन र म पुनः संस्थापन पक्षमा फर्किएको हो ।
योभन्दा अगाडि उहाँले जसरी कांग्रेसलाई अघि बढाउँछु भन्नु भएको थियो त्यो हुन सकेन । पार्टी एकीकरण भइसकेपछि उहाँ पार्टीको सभापति बन्नुे तर समग्र पार्टीको सभापति हुन सक्नु भएन । सिंगो कांग्रेस हाक्नुपर्नेमा एउटा गुटलाई मात्र चलाउन केन्द्रित हुनुभयो । उहाँले आफूलाई जिताउने र निकटका व्यक्तिहरूलाई मात्र लिएर हिँड्नु भयो । उहाँ एउटा सानो गुटको मात्रै सभापति हुनुभयो र पार्टीलाई बर्बाद बनाउनुभयो । त्यसकारण उहाँ सिंगो पार्टीको सभापति नभएर गुटको प्राविधिक सभापति मात्रै हुनुभयो ।
उहाँले पार्टीलाई यति विवादित बनाउनु भयो र यति अन्याय गर्नुभयो यसले गर्दा देउवालाई सिंगो पार्टीको सभापति भन्न सकिने आवस्था नै रहेन । त्यसकारण सभातिका यस्ता नराम्रा पक्ष विरुद्धमा स्वतन्त्र विचार राखेर र उहाँको आलोचना गरेर हिँड्ने मान्छे म हुँ । अर्को, उहाँले कांग्रेसभित्र लोभ र आशक्ति अवस्था सिर्जना गराउनुभयो । एकपक्ष लोभमा र अर्को पक्ष त्रासमा भएकाले भोलि राजनीति बचाउन पनि सभापतिको शरणमा नगई उपाय छैन भन्ने भ्रम सिर्जना भएको छ ।
अर्को अर्थमा भन्ने हो भने अहिले कांग्रेस लोभ र त्रासको दोधारमा रहेको छ । उहाँले यो सेन्टिमेण्टललाई क्यास गर्न सभापति लाग्नु भएको छ, यो कांग्रेसका लागि दुर्भाग्यपूर्ण विषय हो । सभापतिसँग मेरो यहिनेर असहमती हो ।
सभापतिले गलत गरेको हो भने त्यसलाई रोकेर सच्याउन बाध्य पार्ने काम तपाईहरूकै होइन र ?
हो सभापतिलाई गलत गर्नुभयो भनेर सच्चाउने काम केन्द्रीय समितिको हो । तर, म जस्ता निस्वार्थ काम गर्ने र आट गरेर कुरा गर्ने केन्द्रीय सदस्यहरूको सख्या थोरै छ । तपाइले भने जस्तो पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दा पनि आफ्नो भविष्यलाई केन्द्रबिन्दुमा राखेर नेताहरूले सोच बनाएको अवस्था छ । उहाँहरूमा सभापतिलाई कुनै खालको असहयोग गरियो भने पछि हाम्रो भविष्य रहँदैन अहिले जसरी हुन्छ पार्टी सिध्याएरै भए पनि सभापतिको चाकडी नै गर्नुपर्छ भन्ने मानसिकता धेरै केन्द्रीय सदस्यहरूमा भएको मैले पाएको छु ।
यसको अर्थ नेपाली कांग्रेसमा सबै नेता त्यता छन् भन्ने होइन केही नेताहरू पार्टी सुधारका लागि निकै चिन्तित पनि भएको अवस्था छ । मैले पार्र्टी सञ्चालनका लागि नेतृत्वको भूमिकाका विषयमा सानो दुखेसो मात्रै राखेको हो । अहिले हामी कांग्रेसमा आमूल परिवर्तनको विषय उठाइरहेको छौं तर हामीले भनेको र सोचेको आमूल परिवर्तन त्यो बेलामा मात्र आउन सक्छ, जतिखेर पार्टी नेतृत्व तहबाट भएका गल्तीहरूलाई हामीले खुलेर विरोध गर्न सक्छौं ।
जहाँसम्म तपाईंले यो पुस्ताको कुरा गर्नुभयो त्यो पनि यस्तै हो । अहिले यो पुस्ताको नाउँमा, जनजातिका नाउँमा, आदिवासीका नाउँमा जे जे विकृति भएका छन् यसलाई सच्याउन आवश्यक छ । धर्म, जनजाति र वर्गका नाममा राजनीति गर्ने होइन, उनीहरूको समस्या पहिचान गरे समाधान गर्न सहयोग गर्ने हो, हामीले ।
यस्ता विषयले नेपाली कांग्रेस कमजोर बन्दै गइरहेको छ । नेतृत्वले पार्टीलाई एक गराएर लान नसकेमा भोलिका दिनमा कांग्रेसमा समस्या आउन सक्छ । अहिले हामी पार्टीलाई सखाप गर्नतिर लाग्ने र नेपाली कांग्रेस भनेको इतिहास बोकेको पार्टी हो भन्दै सुधारको प्रक्रिया नथाल्ने हो भने भोलि कांग्रेसमा ठूलो संकट आउने मैले देखेको छु ।
पार्टी चुनावमा नराम्रोसँग पराजित बन्यो, गुटबन्दी झांगिएको छ अब कांग्रेसलाई सुधार्ने उपाय के छ ?
अहिले कांग्रेस जुन ठाउँमा आइपुगेको छ, यहाँबाट सुधार गर्नका लागि आमूल परिवर्तनको खाँचो छ । पार्टी सुधारका लागि आमूल परिवर्तनमा नेताहरू जान आवश्यक छ भने अहिलेसम्म देखिएको नेताहरूका बीचको वैमनश्यता अन्त्यका लागि पार्टीमा मेलमिलापको नीति अंगीकार गर्न आवश्यक छ ।
यसका लागि नेतृत्वमा सद्बुद्धि आएन भन्ने कुराबाट सुरु हुन्छ । नेतामा सद्बुद्धि आएन र फेरि पुरानै बानीव्यहोरा दोहोरिने हो भने पार्टीमा परिवर्तनको सम्भावना छैन । हिजोका दिनमा ठूलाठूला परिवर्तनको नेतृत्व गरेको कांग्रेस कसरी यो ठाउँमा आयो ? कांग्रेस आफैं यहाँसम्म आएको हो कि नेताहरूका कारण आयो भन्ने कुरा नेताहरूले बुझेर त्योअनुसार काम गर्ने हो भने कांग्रेसमा परिवर्तन आउन समय लाग्दैन । यसका लागि शून्यबाट कांगे्रसलाई सुधार्न नेताहरू लाग्न सक्नुपर्छ ।
के कारणले र कुन बिन्दुबाट कांग्रेस खराब भएको हो भन्ने कुरा अब नेतृत्वले सोच्ने बेला आएको छ । मुहानै धमिलो भएपछि तलको पानी कसरी संग्लो हुन्छ ? यसकारण कांग्रेस नेताहरूका कारण बिग्रिएको हो र नेताहरूले नै यसलाई सुधार गर्नुपर्छ ।
कांग्रेसमा त नेताहरूको आआफ्नै जमात छन् । ती जमातकै बीचमा झगडा भइरहेको छ । उहाँहरूले पार्टीमा सुधार ल्याउने आफ्नो जमातमा ?
यो जमात बोकेर हिड्नेकाम अब बन्द गरिनुपर्छ । पार्टीको हितमा भन्दा पनि जमातको हितमा नेताहरू लागेका कारण नै कांग्रेसमा सुधार आउन नसकेको हो । अहिले सभापति शेरबहादुर देउवाले बोकेको जमात, वरिष्ठ नेता रामचन्द्र पौडेलले बोकेको जमात र अरु नेताहरूले बोकेको जमात अब पार्टीको हितमा काम गर्न एक हुने समय आएको छ भनेर नेताहरूले बुझ्न ढिला भइसकेको छ । यदि नेतृृृत्व तहदेखि तल्लो तहसम्मका नेताहरूले कांग्रेसको अवस्था र देशलाई हेरेर पार्टीको हितमा काम गर्न सकेमात्रै पार्टीको साख बच्ने हो ।
नत्र पार्टीको साख जोगाउन सकिने अवस्था म देख्दिनँ । नेताहरूले विचार पु¥याउन आवश्यक छ । किनभने अहिलेसम्म भएका सबै परिवर्तनमा कांग्रेसले नेतृत्व लिएको हो । हामी संघीयतामा गयौं, नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान आयो । तर, देश संघीयतमा गएको तीन वर्षसम्म कांग्रेसको विधान परिवर्तन हुन सकेन । देशको संविधान परिवर्तन भएपछि तत्कालै नेपाली कांग्रेसको विधानलाई परिवर्तन गर्न सक्नुपर्ने थियो । तीन तहका निर्वाचन सम्पन्न भएर देश संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसार चल्न थालिसक्यो तर, अहिले पनि नेपाली कांग्रेसले देश र पार्टीको आवश्यकतालाई विचार गरेर विधान बनाउन सकेको छैन । अहिले आएको विधान पनि सर्वसम्मत हुन सकेको छैन । कांग्रेस भएर सोचेको भए विधानका विषयमा विवाद हुन्नथ्यो ।
महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको विधान मस्यौदा समितिमा सहमति नभए पनि केन्द्रीय समितिमा फरक मतसहित पेस भएको छ । यसका पछाडि के कारण छ ?
विधानमा नेताहरूबीच सहमति नहुनु राम्रो भएन । कमसेकम विधानलाई सहमतिका साथ केन्द्रीय समितिमा लानुपर्ने थियो । एक भएर आउन नसक्ने बित्तिकै नेताहरूको कहीँ न कहीँ विधानमा खराब नियत छ भन्ने देखाएको छ । किनभने नेताहरूले विधानमा आ–आफ्नो दबाब कायम राखेका करण सहमति नभएको हो ।
सभापति शेरबहादुर देउवाको छायाँ आयो, वरिष्ठ नेता पौडेलको विधानमा छायाँ आयो र अन्य शक्ति भएका नेताहरूको पनि विधानमा छायाँ परेका कारण सहमति जुट्न सकेन । तर, विधानमा सिंगो कांग्रेसको छायाँ परेन । यस कारणले विधानमा सहमति नजुटेको हो । पार्टी रूपान्तरण गर्नुपर्ने अवस्थामा विधानलाई यस्तो गर्न मिल्छ ? पहिले क्रियाशिल नभएका मान्छे पनि केन्द्रीय सदस्य भएका छन् । क्रियाशील नभएका मान्छेहरू सभासद् भएका छन् ।
यो जात्रा पनि विधानमा हुन्छ । पार्टीको विधानलाई परिमार्जन गर्दा आफू सुरक्षित भइन्छ भनेर पार्टी सभापतिले जे गर्न पनि मिल्दैन । शेरबहादुर देउवाले पार्टी हिजो जसरी एकलौटी ढंगमा चलाएर यो हालतमा ल्याइपु¥याउनु भयो, यसबाट कांग्रेसलाई छुटकारा गराउनै पर्छ । विधान नै नमान्ने हो भने यसलाई च्यातेर फाले भइहाल्यो नि किन राख्नुप¥यो ? किन शीर्ष नेता र हामी केन्द्रीय सदस्यहरू हुनुप¥यो । सभापतिले जसरी चाह्यो त्यसरी नै पार्टीलाई चलाए हुँदैन ? नेपाली कांग्रेस पार्टी सञ्चालन गर्नका लागि दुईवटा पाटा छन् ।
पहिलो सहमतिको आधारमा जाने र सहमति भएन भने विधानलाई टेकेर विधानअनुसार अगाडि बढ्ने । योभन्दा अर्को विकल्पै छैन । हिजो बीपीको समयमा, गणेशमानको समयमा र गिरिजाप्रसादको पालासम्म पनि आम कार्यकर्ताले विधान खोजेको अवस्था थिएन । उहाँहरूले विवाद भएको विषयहरूलाई जसरी पनि सहमति गराउने वा केही लागेन भने मात्र विधानलाई टेकेर निर्णय गर्ने चलन थियो । आज शेरबहादुरको पालामा यो चलन छैन । यसले गर्दा पनि उहाँ समग्र कांग्रेसको सभापतिभन्दा पनि गुटको सभापति बन्नु भएको हो ।
भनेपछि विधानमा हुँदाहँुदै पनि पार्टी नेतृत्व बहुमत र अल्पमतमा गएकाले पार्टीमा अहिलेको समस्या आएको भन्ने तपाईंको भनाइ हो ?
पक्कै पनि । बहुमत र अल्पमतले गर्दा आज कांग्रेसमा नराम्रो विभाजन देखिएको छ । दुई तिहाइले अनुमोदन गर्नुपर्ने विधानलाई सुरुमै बहुमत र अल्पमतमा लगेर हँुदैन । मस्यौदा समितिले पनि राम्रो काम गरेको छ भन्ने मलाई लाग्दैन । जसरी पनि विधानलाई सहमतिका आधारमा केन्द्रीय समितिमा पेस गर्नुपर्ने थियो ।
यी सबै विषय जसरी विधि र प्रक्रियाबाट चल्नुपर्ने थियो त्यो नगरेर सभापतिले एकलौटी रूपमा कांग्रेसलाई चलाउनु भयो । आज उहाँकै कारण कांग्रेस यो हालतमा पुगेको हो । अहिले यो विधान सबै केन्द्रीय समितिका सदस्यहरूको हातमा परेको छ । यसलाई हामीले छलफल गरेर सच्याउनुपर्छ । यसलाई समयसापेक्ष बनाएर अगाडि ल्याउनुपर्छ धेरै साथीहरूले पनि यसमा आ–आफ्नो विचारहरू राख्दै आउनुभएको छ ।
हामी केन्द्रीय समितिका सदस्यहरू लागेर यसलाई सच्याएर उपयुक्त विधान बनाउने प्रयासमा लाग्नुभन्दा अर्को उपाय अब छैन । र हामी त्यो गर्न तयार पनि छौं । केन्द्रीय समितिको आकार बढाउने, पदाधिकारीको सख्या थप्ने विषयमा विधान मस्यौदा बोलेको छैन ।
सभापति, पदाधिकारी र केन्द्रीय सदस्य तीन कार्यकालभन्दा बढी हुन नपाउने विषयमा विधान मौन छ, अब के गर्नुहुन्छ ?
केन्द्रीय सदस्यहरूको संख्या बढाउने कुरा मस्यौदामा छ । पदाधिकारीहरूमा पनि कामको प्रकृति हेरर, अनुशासन समिति, परीक्षण समिति र अफिस हेर्नका लागि सभापतिको मातहतमा रहने गरी एउटा समिति बनाउनुपर्छ भन्ने रायहरू आएका छन् । संसंदीय बोर्डको पनि तीनै तहमा परिकल्पना गरिएको छ । तर, सभापतिलाई अधिकार थप्ने विषयमा चाहिँ विवाद आएको छ । भोलि सभापति निरंकुश भयो भने के गर्ने, सभापतिले केन्द्रीय समितिलाई माइनस गरेर अघि बढ्न चाह्यो भने के गर्ने भन्ने विषयहरू आएका छन् ।
त्यसकारण हामीले विधानलाई अगाडि लिएर जाँदा सभापतिलाई अगाडि बढाउने कि केन्द्रीय कार्यसमितिलाई अधिकार दिने भन्ने विषय चाहिँ जटिल छ । यो हिसाबले विधानको मस्यौदा भएको छ । सभापतिले भोलि विवेकशील भएन, उसले विधानलाई मानेन र सभापति भोलि सबैको सभापति भएन भने समस्या आउन सक्छ । अहिलेको नयाँ परिवर्तनअनुसार संरचना बनाउने विषयमा धेरै सोच्नै पर्ने आवश्यकता देखिएको छ ।
पार्टीमा अहिले पनि क्रियाशिललाई खरिद गर्ने प्रचलन छ । यसले विगतमा पनि भयावह अवस्था देखाएकै हो । कांग्रेसले कांग्रेसका कार्यकर्ता किन्नुपर्ने भन्दा अर्को दुःखद पक्ष केही हुन सक्दैन । त्यसकारण अहिले त विधानको ड्राफ्टमात्र आएको हो । यसलाई मूर्तरूप दिन बाँकी नै छ । हामी अन्तिम समयमा कस्तो विधान बनाउन सक्छांै, कस्को कति स्वामित्व विधानमा रहन्छ, यो भोलिका दिनमा मात्रै भन्न सकिन्छ ।
पार्टीको विधान मस्यौदामा पार्टी सदस्यताको विषय पनि उठाइएको छ । अब दुई खालका सदस्य नराख्ने भन्ने मस्यौदामा उल्लेख भएको होला, यसलाई कसरी मिलाउनुहुन्छ ?
हो, मस्यौदामा सिंगो कांग्रेसको मात्रै सदस्यता राख्ने गरी विधान मस्यौदा प्रस्तुत भएको र यो पनि एउटा छलफलको महत्वपूर्ण विषय हो । यो प्रस्तवित विधान हो अब छलफल गरिसकेपछि के हुन्छ त्यो विषय अहिले भन्ने कुरा भएन । नाउँ जे सुकै दिए पनि नेपाली कांग्रेसको सदस्यता भनेको कस्तालाई बनाउने भन्ने महत्वपूर्ण विषय हो । यसका लागि मापदण्ड बनाउनु आवश्यक छ । मापदण्डको किटान हुन आवश्यक छ । जसलाई आवश्यकता पर्छ उसले अधिवेशनको दिनसम्म पनि सदस्यता बनाउँदै जानुपर्छ ।
मतदानमा भाग लिन लगाउने गर्दा तीन सय ६४ दिन कांग्रेस हुने तर, मतदानका दिन कांग्रेस नहुनेलाई कांग्रेसको सदस्यता दिन सकिँदैन । यसमा लामो छलफलको आवश्यकता छ । कांग्रेस सदस्यताका विषयमा केन्द्रीय समितिमा लामो छलफल चल्ने र यसले एउटा निष्कर्ष तयार गर्नेछ भन्ने कुरामा विश्वस्त छु ।
त्यसकारण नेपाली कांग्रेस बन्नका लागि कति वर्ष काम गरेको हुनुपर्ने ? कांग्रेसको सिद्धान्तमा प्रतिबद्ध हुनुपर्ने कि नपर्ने ? कतिलाई क्रियाशिल दिनुपर्ने, कतिलाई साधारण सदस्यता दिनु पर्ने ? एउटै बनाउने हो भने त्यसको मापदण्ड के हुने जस्ता धेरै विषयमा छलफल गर्न आवश्यक छ । यो विषयमा पार्टीलाई बलियो बनाउने हिसाबले केन्द्रीय समितिमा सहमति भयो भने विवाद आउँदैन । तर, नेतालाई बलियो बनाउने गरी केन्द्रीय समितिले यसलाई अनुमोदन ग¥यो भने अब बस्ने महासमितिको बैठकमा यो विषयमा फरक मतका साथ प्रस्तुत हुन्छु ।
तपाईंले अहिलेसम्मको अवस्थालाई हेर्दा महासमितिको बैठकपछि कांग्रेस रूपान्तरित हुने अवस्था देख्नुहुन्छ हुन्न ?
रूपान्तरण गर्नुको विकल्पै छैन । यो त अहिलेसम्म भएका छलफलका आधारमा मैले राखेको हो । रूपान्तरित नभइकन किन सुख छैन भने अबको नेपाली कांग्रेसलाई मजबुत नगराए इतिहासको पानामा मात्रै नेपाली कांग्रेस सीमित हुन्छ ।
विगतमा हामीले के के गल्ती ग¥यौं ती गल्ती आज दोहो¥याउने छैनौं भनेर जनताका बीच र कार्यकर्ताका बीचमा हामीले माफी माग्नैपर्छ । कुनै नेतालाई अझै पनि मसँग पेलेरै जाने शक्ति छ भन्ने छ भने यस्ता नेताहरू अब जनताबाट तिरस्कृत हुनेछन् । कांग्रेसलाई चुस्त र दुरुस्त बनाउनका लागि नेताहरू नमिलेर सुखै छैन, मिल्नुपर्छ । त्यसकारण कांग्रेसमा पहिले नेताहरूमा रूपान्तरण हुन आवश्यक छ । नेताहरूलाई कांग्रेस चाहिएको छ भने रूपान्तरित हुनै प¥यो ।
हैन भने अब त्यस्ता नेताहरूले राजनीति छाडेर अन्यत्रै गए हुन्छ । अब पार्टी सभापति हो वा हामीजस्ता नेताहरू सबैले आफ्नो गल्तीलाई सुधार गरेर अघि बढिएन भने खैरियत छैन । अब कांग्रेसमा दुईचार कार्यकर्ता छन् भनेर राजनीति नगर्नुस् भन्ने मेरो सुझाव छ । अहिले नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका पनि निभाउन सकेको छैन । यसका लागि पनि पार्टीलाई मजबुद बनाएर कांग्रेस प्रतिपक्षको भूमिकाका देखिन आवश्यक छ ।
विधानमा उमेर हद तोक्ने विषय पहिले पनि उठेको थियो तर, तोकिएन किन ?
उमेरको हद अहिले प्रस्तावमा आएको छैन । राजनीतिमा उमेर हद तोक्ने विषय अझै छलफलकै विषय बन्न सक्छ । जहाँसम्म नेतृत्व परिवर्तनको कुरा छ त्यो महाधिवेशनले गर्ने विषय भयो । हामीले महाधिवेशन समयमै गर्नुपर्छ भन्ने हो । समयमै महाधिवेशन भएपछि कस्लाई नेतृत्वमा ल्याउने भन्ने कुरा त्यसको विधि बन्ला, त्यसले निर्धारण गर्ने हो । नेपाली कांग्रेसलाई विधान र सामूहिक निर्णयबाट अगाडि बढाउन कस्ले सक्छ उसको विषयमा भोलि नै सोच्ने हो ।
एउटा कुरा के चाहिँ पक्का हो भने अब गुटलाई बोकेर, विधान नमानेर हिँड्ने नेताहरूलाई कांग्रेसले फेरि नेतृत्वमा पु¥याउँछ जस्तो मलाई लाग्दैन । सिंगो पार्टीले कस्तो नेतृत्व चाहन्छ त्यसैमा निर्भर हुन्छ भन्ने मलाई लाग्छ । पार्टीलाई जस्तो नेतृत्वको आवश्यकता छ त्योअनुसारको नेतृत्व चयन हुन्छ । गुटमा भन्दा पनि सामूहिक निर्णयबाट पार्टीलाई अघि बढाउन सक्षम व्यक्ति नै नेतृत्वमा आउन भन्ने कुरामा आशा गरौं।
प्रतिक्रिया