देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसले तयार गर्नुपर्ने राजनीतिक प्रस्तावको आधारपत्र

देशान्तर

नेपाली कांग्रेस अहिले एउटा ऐतिहासिक जिम्मेवारीको संघारमा छ । तेह्रौ महाधिवेशनपछि हुन लागेको योे पहिलो महासमितिले वास्तवमा नै एउटा मार्गदर्शन तय गरेर आम तहमा उठेका प्रश्नहरूको उत्तर दिँदै आवधिक निर्वाचनको अबको चार वर्षमा पार्टीलाई पहिलेकै स्थानमा पु¥याउने रेखा कोर्न सक्नुपर्छ । नेतृत्वबाट भन्न त थालिएको छ यो पार्टी अबको निर्वाचनमा त्यहीँ ठाउँमा पुग्ने छ जुन ठाउँमा पहिले थियो ।

यो भनाइलाई विश्वासिलो बनाउने र संगठनको तल्लो तहसम्म यसको सन्देश प्रवाह गर्ने काम भएका छैनन् । बरु उल्टो भएको पाइन्छ । जस्तो गुटबन्दी समाप्त गर्ने भनियो तर व्यवहारमा बढाइयो । अर्कोतर्फ यतिखेर त वास्तवमा नै एजेन्डा नै नभएको हो कि जस्तो देखिँदैछ व्यवहारमा । जस्तो एउटा भातृसंस्था नेविसंघको उमेर हद र यसको महाधिवेशन सन्दर्भमा केन्द्रीय समिति जति अलमलमा प¥यो र पनि त्यो समाधानयुक्त हुन सकेन त्यो आफै एउटा उदाहरण हुनुपर्छ ।

कांग्रेसका शुभचिन्तकले भनिरहेका छन, माने पनि नमाने पनि वस्तुस्थिति हो कार्यकर्ता निराश र हतास छन् यतिबेला । चुनाव त कांग्रेसले पहिले पनि हारेको हो, तर पार्टी पंक्तिमा अहिलेजस्तो निराशा व्याप्त थिएन । ११ वर्षअघि पहिलो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ दुई सय ४० मध्ये ३७ सिट मात्रै जितेर कांग्रेस भारी अन्तरसहित दोस्रो हैसियतमा खुम्चेको थियो । हिंसा अन्त्य गर्ने आफ्नो मिसनले जितेको भन्दै त्यसबेलाको नेतृत्वले कार्यकर्तामाझ अपिल ग¥यो ।

राजनीतिक दलका लागि आवधिक जितहारभन्दा महत्वको प्रश्न उसका एजेन्डाको सहीपना हो । त्यसबेला चुनाव सकिएलगत्तै नेतृत्वको पहिलो पंक्ति जिल्ला–जिल्ला निस्कियो । नेतृत्वले कार्यकर्ताको आत्मविश्वास डगमगाउन दिएन । त्यसको एक दशकपछि चुनावी पराजयको उस्तै नियति प्रकट भयोे गएको वर्ष । एकातिर एमाले–माओवादीको जित र त्यसपछिको एकता, अर्कातिर आम चासोका मुद्दाहरूलाई आमतहमा नै पु¥याउन नसक्दा कांग्रेस रक्षात्मक बन्न पुग्यो नै ।

अहिले पनि कांग्रेस प्रमुख प्रतिपक्षी पार्टी त हो, तर जनतामा उसको उपस्थितिको उस्तो आभास छैन । नेताहरू दौडिइरहनु भएको छ तर यता पार्टी सक्रिय नभएको आरोप लागिरहेको छ । नेताहरू व्यक्तिगत जिल्ला दौडाहा गर्दै हुनुहुन्छ तर, कांग्रेसको संस्थागत ध्वनि प्रवाहित छैन भन्ने भनाइ नै जताततै प्रकट भइरहेको पाइन्छ ।

यही महासमितिका सन्दर्भमा यतिखेर देशभरि पुगेको कुरा हुनुपर्छ– सभापतिलाई कति शक्ति दिने या नदिने, कार्यकर्ता कति तहका बनाउने, भ्रातृसंस्थाको अधिवेशन गर्ने कि नगनजस्ता झिनामसिना सवाल आज कांग्रेसका लागि पेचिला बन्न पुगेका अवस्थाले वास्तवमा नै राम्रो सन्देश दिएको छैन दिँदैन पनि ।

सबैले सबैतिर भन्दै आएका छन्– कांग्रेसलाई हिजोका दिनमा जनताले अनुमोदन गरेको यसको उदार राजनीतिक संस्कार र राष्ट्रिय जीवनमा महत्व राख्ने एजेन्डाहरूका लागि हो । यस्तो एजेन्डा यतिबेला हराएको त होइन तर ओझेलमा परेको महसुस हुँदैछ । महासमितिको ध्यान जानुपर्ने एउटा ठाउँ यो पनि हो ।

कांग्रेसबारे गरिएको पछिल्लो अध्ययनले के देखायोे भने कांग्रेस कार्यकर्तातिर फर्केको पार्टी बनाउन आवश्यक छ । अहिले कार्यकर्ता नेतातिर फर्किएको जस्तो अवस्था छ । यस्तो बेला एजेन्डा भएर पनि त्यो ओझेलमा पर्ने खतरा हुन्छ । सरकारको नौ महिना धेरैतिरबट आलोच्य रह्यो । यस बेला वाम सरकारलाई केन्द्र र प्रदेशका सदनमा खबरदारी गर्ने प्रभावशाली प्रतिपक्षको अभाव खट्किएको कुरा सबैतिर महसुस भएको छ ।

यस्तो खबरदारी गर्नकै लागि भनेर छायाँ सरकार बनाउने भनिएको थियो सबैतिर तर यो नौ महिनाको कार्याकालमा तीन तहका सरकारमा कुनै एउटा तहमा पनि यस्ता सरकार बनेनन् भएनन् । पछिल्लो समय केन्द्रभन्दा बलियो विपक्षको आवश्यकता गाउँमा परेको थियो र त्यो स्थिति छनै ।

यस्तो बेला कांग्रेस त्यहाँ प्रकट हुने थियो भने, उदाहरणकै लागि भनौं स्थानीय तहमा जनताले मनपर्दी करको कहर व्यहोर्नु पर्ने थिएन । राष्ट्रिय राजनीतिमा अर्थपूर्ण हस्तक्षेप गर्ने सुविधाको उपभोग भयो भने त्यसले पनि कांग्रेसको उपस्थिति प्रकट गर्छ भन्ने सुझाव छन नेतृत्वले आत्मसात् गरेमा । महासमितिले यो ठाउँमा पनि केन्द्रित हुनुपर्ने देखियोे ।

कांग्रेसको राजनीतिक र आर्थिक नीति देशको सर्वमान्य नीति बेनेको छ यतिखेर । कांग्रेसको यस्तो नीतिको विरोध गर्नेहरू आर्थिक र राजनीतिक दुवै रूपमा यसको कार्यान्वयन गर्ने क्रममा पुगेका छन् ।

यतिबेला वामपन्थीको दुई तिहाइको सरकारले जस्तो आर्थिक नीति अपनाएको छ त्यो कांग्रेसले २०४८ सालमै सुरु गरेको हो । उदार आर्थिक नीतिमार्फत उद्योग, व्यापार, बैंकिङ, शिक्षा, स्वास्थ्यमा निजी क्षेत्रको भूमिका बढाउँदै ल्याएको कांग्रेसले नै हो ।

आर्थिक उदारीकरणको यो नीति ठीक थियो र नै यसले परिणाम पनि दियो तथा सबैले अवलम्बन गर्नेमा प¥यो । उद्यमशील नागरिकको सामथ्र्यको अकुण्ठित प्रयोगबिना मुलुकको आर्थिक अवस्था उक्सिँदैन । बैंकिङ, हवाई, टेलिकम, उद्योग र व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहभागिता नभएको भए यी क्षेत्र आज धेरै पछाडि हुने थिए । नेपाल धेरै पछि पर्ने थियो ।

अर्थतन्त्र उदारीकरण गरेकोमा कांग्रेसले रक्षात्मक हुनु पर्दैन, हीनताबोधको त ठाउँ नै छैन । बरु ढुक्कसँग त्यसको जस दाबी गरे हुन्छ । भ्रष्टाचार र अनियमितताका कारण नचलेका उद्योगलाई अर्बौं रुपैयाँ अनुदान दिनुको साटो निजीकरण गरेकोमा पनि कांग्रेसले रक्षात्मक बन्नु पर्दैन । कतिले निजीकरण गरेका उद्योगको हालत अहिले के छ भनेर प्रश्न गर्छन् । तीमध्ये बहुसंख्यक उद्योग सरकारले चलाउँदा पनि चलेका थिएनन् ।

निजी क्षेत्रमा गएर पनि चलेनन् । अर्थात् बजारसँग प्रतिस्पर्धा गर्ने तिनको क्षमतै थिएन, टाट उल्टिए । नागरिकको करको पैसा हालेर तिनलाई अप्राकृतिक रूपमा बचाउनुपर्ने आवश्यकता थिएन ।

कांग्रेसको आर्थिक नीति ठीक भएकै कारण देशको क्षमतामा वृद्धि भएको छ । दुई–तीन सय अर्बका आयोजना आफैं निर्माण गर्ने क्षमता त्यसै आएको होइन । द्रूतमार्ग, बूढीगण्डकी त्यसका उदाहरण हुन् । यी भनेका तीन तीन सय अर्बका आयोजना हुन् । अहिले वैदेशिक सहायताको उपभोग एक तिहाइमात्र छ । यस्ता थुप्रै उदाहरण छन् जसका कारणले पनि कांग्रेको आर्थिक नीति फेर्नु पर्ने देखिँदैन । हो, परिमार्जन भने होला योभन्दा झन् उदार र सशक्त हुनका लागि ।

पछिल्लो निर्वाचनमा हारेपछि कांग्रेसमा नेतृत्वको शैली र पार्टी सुधारको बहस सुरु भएको छ । यो एउटा सकारात्मक पक्ष हो । यसलाई महासिमितिले पनि आफ्नो मूल विषय बनाउन आवश्यक छ । संगठनमा त्यसै आमूल परिवर्तन आउँदैन । यसका लागि परिस्थितिको उचित मूल्यांकन र नयाँ शैली तथा ढंगको खोजी हुन्छ नै । कांग्रेसमा खोजिएको आफू सञ्चालन हुने नयाँ शैलीको नै हो ।

सिद्धान्तमा त प्रश्न गर्नुपर्ने ठाउँ छँदै छैन । नेपाली कांग्रेसले ७० वर्षअघि प्रस्ताव गरेको बहुलवादमा आधारित संसदीय पद्धति वामपन्थीहरूको पनि उत्कृष्ट सिद्धान्त भएको छ । यो महासमिति होस् वा महाधिवेशन यही हो कांग्रेसको राजनीतिक प्रस्तावको आधार भूमि । देशमा कुनै एउटा दलको स्थापनाकालदेखिको सिद्धान्त सर्वमान्य भएको छ भने त्यो कांग्रेसकै मात्र हो ।

नत्र देशमा निर्दलीय र एकदलीय राजनीतिक सिद्धान्तवाला पनि थिए । ती सबै कांग्रेसको बहुलवादमा रूपान्तरण भइसकेका अवस्था यो दलका लागि एउटा गौरवकै विषय हो । त्यसकारण राजनीतिक प्रस्तावको यो एउटा आधारपत्र मानिएको हुनुपर्छ र यसलाई यही रूपमा स्थान दिनुपर्ने हुन्छ ।

राणाकाल अन्त्य र प्रजातन्त्र स्थापना, ३० वर्षे पञ्चायतविरूद्ध संघर्ष र त्यसको अन्त्य, राजा ज्ञानेन्द्रको शासनविरूद्ध प्रतिरोध, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन निर्णायक पहलकदमी, गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान जारी र संविधानकै बहिष्कार गरेका मधेसवादी दललाई पनि सहभागी गराउँदै तीनै तहका चुनाव र संंक्रमणकालको सकारात्मक पटाक्षेप– पछिल्लो ७० वर्षका यी सबै महत्वपूर्ण राजनीतिक घटनामा कांग्रेसको स्थान हो ।

इतिहासले पार्टीहरूलाई लामो दूरी तय गर्ने धैर्य र ऊर्जा दिन्छ । तर, भविष्य सिञ्चित गर्ने र मार्गदर्शन गर्ने हदसम्म मात्र इतिहास सम्झना गर्नुपर्छ । विगत जे थियो तयो एउटा जग हो । त्यसमा उीभएर गर्नु पर्ने त भोलिका लागि नै हो । ७० वर्षअघि कांग्रेससँग आफ्नो इतिहासका कुरा थिएनन् । भविष्यका कुरा गर्ने प्रचुर कल्पनाशक्ति भने यो पार्टीसँग थियो । नेपाल अब फरक कालखण्डमा प्रवेश गर्दैछ ।

कांग्रेस पनि हिजोभन्दा फरक हुनैपर्छ । २००४ सालमा स्थापित नेपाली कांग्रेसको प्रजातन्त्र स्थापनाको अभिभारा भर्खर पूरा भएको छ । दुईपटक प्रजातन्त्र खोसेको राजतन्त्र आफैं फालिएको छ । संसदीय व्यवस्था फालेर एकदलीय जनगणतन्त्र ल्याउन हतियार उठाएको पार्टी संसदीय राजनीतिको मूलधारमा आएको छ । मुलुकमा गणतान्त्रिक संविधान जारी भएको छ ।

संघीयता र स्थानीय शासन कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छन् । अब प्रजातन्त्र परिस्कृत वा बद्नाम हुन सक्छ, कसैले फाल्न सक्दैन । एकदलीय र निर्दलीय भन्ने कुरा शव्दकोशबाट नै हटेको छ । यी सबै कांग्रेसका उपलब्धि हुन ।

शुभचिन्तकहरूले कांग्रेसलाई सम्झाइरहेका छन्– ७० वर्षअघि दुई पार्टी मिलेर नेपाली कांग्रेस बन्दा पनि आकारमा सानो पार्टी थियो । त्यसको संगठन, स्रोत र जनसमर्थनको घेरा साँघुरो थियो । महत्वाकांक्षा ठूलो थियो । उद्देश्य ठूलो थियो– एक सय चारवर्षे राणाशासन फाल्ने र जनताको शासन स्थापना गर्ने ।

त्यही सपना र ऊर्जाले कांग्रेसलाई अघि बढायो । आज कांग्रेस आकारमा ठूलो छ । संगठन छ । कार्यकर्ताको ठूलो पंक्ति छ । खुम्चिँदो, तर अझै विशाल जनसमर्थन छ । यति हुँदाहुँदै कांग्रेस आज कमजोर छ । किन ? महासमितिले खोज्नुपर्ने उत्तर पनि यहीबाट सुरु हुन्छ । कांग्रेस पार्टी त छ, तर के का लागि छ भन्ने प्रश्नलाई आधार बनाएर उपचार खोज्न थालियो भने निश्चय नै नयाँ अध्याय सुरु हुन्छ ।

माथिका कुराले के बुझाउँछन् भने नीति ठीक छ तर त्यसलाई हाक्ने रणनीति चाहिँ असफल भयो । सबै ऐतिहासिक काम सम्पन्न गरेको पार्टी त्यसपछिको निर्वाचनमा चाहिँ किन यो रूपमा पराजित भयो भन्नेले नै रणनीतिमा व्यापक सुधारको अपेक्षा राख्छ । कांग्रेस स्थापना हुँदा जस्तो सपना थियो र त्यसले यति ठूलो परिवर्तन ल्यायो आजका अवस्थाले फेरि त्यही सपनालाई जागृत गराउन माग गरेको छ । यसका लागि कांग्रेसका नेता तथा कार्यकर्तामा कठोर संकल्पको आवश्यकता पर्छ । महासमितिले यस्तो प्रस्ताव ल्याओस् ।