काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादी (५४) लाई अहिले मोबाइल फोन रिसिभ गर्न भ्याइनभ्याइ छ। एउटा मोबाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टी बजिसक्छ। फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन्, आँखाबाट आँसुका धारा बग्छन्, धेरै बोल्नै सक्दिनन्। उनको मुखबाट ‘धन्यवाद’ शब्दमात्र निस्किन्छ।
सामान्य कखरा मात्रै जानेकी उनलाई शुभचिन्तकले किन यसरी बधाई दिइरहेका छन् त ? धेरै कुरा त उनलाई थाहा छैन। उनलाई बिबिसीले आफूलाई छनोट गरेको भन्ने मात्रै थाहा छ। ‘वास्तविक कुरो मलाई अहिले पनि थाहा छैन’, उनले सञ्चारकर्मीसँग भनिन्, ‘जति तपाईंहरूले भन्नुभयो त्यत्ति मात्रै हो।’
उनी बेलायती सञ्चार संस्था बिबिसी विश्व सेवाले यस वर्ष छानेका संसारभरका प्रभावशाली र प्रेरणादायी एक सय महिलाभित्र पर्न सफल भएकी छन्। उनको नाम १० औं स्थानमा छ। यसै कारण उनी बधाईको पात्र बनेकी हुन्। उनलाई बधाई दिनेको घुइँचो लागेको हो। शुभचिन्तकमध्ये कतिले मोबाइलबाट त कतिले भेटेरै उनलाई बधाई दिइरहेका छन्।
उमादेवीका अनुसार झन्डै एक साताअघि उनलाई बिबिसी नेपाली सेवाबाट एक महिलाले फोन गरेर फोटो मागेकी थिइन्। त्यतिबेला उनी गाउँमै थिइन्। उनले भोलिपल्ट टीकापुर बजार पुगेर फोटो खिचेर पठाइन्। तर फोटो किन मागेको भनेर उनले सोधिनन्। ‘न मैले सोधें न ती महिलाले नै केही बताइन्’, उनले भनिन्, ‘सोचें, कुनै कार्यक्रममा बोलाउन होला।’ फोटो माग्ने तिनै महिलाले सोमबार साँझ फेरि उनलाई फोन गरेर ‘तपाईं बिबिसीको छनोटमा परेको’ भनेर बधाई दिइन्। उनले के छनोट, कस्तो छनोट त्यो पनि सोधिनन्। त्यसको केही समयपछि छिनछिनमा उनको मोबाइलको घन्टी बज्न सुरु भयो। फोन गर्ने सबैले ‘बधाई’ भन्न थाले तर त्यतिबेला उनी स्वयंलाई बधाईको वास्तविकता थाहा थिएन। पछि बल्ल उनले थाहा पाइन्– आफूले महिला र बालबालिकाका पक्षमा गरेको संघर्षबाट प्रभावित भएर बिबिसीले प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा राखेको रहेछ। नागरिक दैनिकमा खबर छ।
प्रतिक्रिया