देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बीपीको विद्रोह’ सार्वजनिक

देशान्तर

काठमाडौं । पत्रकार जगत नेपालको खोजमूलक तथा अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’ सार्वजनिक भएको छ । आज (शुक्रबार) काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो । प्रकाशन गृहको पहिलो पुस्तकसमेत रहेको कृतिमा प्रथम जननिर्वा्चित प्रधानमन्त्री बीपी कोइरालाबारे सूक्ष्म अध्ययन र स्थूल वर्णन गरिएको छ ।

प्रजातान्त्रिक समाजवादका प्रवत्र्तक एवम् राजनेताको छवि बनाएका बीपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेका छन् । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटको मिहीन ढंगले विवेचना गरिएको छ ।

नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवत्र्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल) पनि प्रकाशित छन् । ‘बीपीको विद्रोह’ पुस्तकमा बीपी स्वयम्ले उजागर नगरेका वा उजागर गर्न बाँकी रहेका तथ्यहरुलाई एकत्रित गरेर चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले बताएका छन् । पुस्तकमा बीपीको विद्रोही चेतबारे उनका समकालीन तथा अनुज पुस्ताका नेताको विचारसमेत अटाएको छ ।