काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दावी गर्नुभएको हो ।
दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिए पनि त्यसको महसुस नागरिकले गर्न नसकेको भन्दै उहाँले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
अधिनायकवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उहाँले २००७ साल देखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्ठभूमिमा फेरि एकपटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई बिर्सेर एकढिक्का भई अघि बढ्न पनि उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पार्टीको महासमिति बैठकको सन्र्दभमा राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरुको भेला बोलाएको हो ।
प्रतिक्रिया